(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160714

भ्रष्ट्राचार गरेको देखियो भने म छोड्नेवाला छैन - प्रधानन्यायाधीश सुशीला कार्की

नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी सुशीला कार्कीले सोमबार पदभार ग्रहण गरेकी छन्। करिब तीन दशक पूर्वी नेपालमा कानुन व्यवसाय गरेकी उनी सात वर्षअघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। उनी करिब १ वर्ष प्रधानन्यायाधीश रहने छिन। संसदीय सुनुवाईका क्रममा कार्कीले सर्वोच्चको न्यायाधीशमा सिफारिस एमालेकी पूर्व सभासद् सपना मल्ल प्रधानको जमेर बचाउ गरेकी थिइन्। नवनियुक्त
प्रधानन्यायाधीश कार्कीसँग BBC संवाददाता शरद केसीले विशेष कुराकानी गरेका थिए।

प्रश्नः कैयौंले सर्वोच्चको न्यायाधीशमा एमालेकी पूर्व सभासद् सपना मल्ल प्रधानलाई सिफारिस गर्ने निर्णयपछि राजनीतिककर्मी पनि न्यायाधीश बन्ने बाटो खुल्यो पो भन्छन्?

उत्तरः त्यस्तो मलाई लाग्दैन। समग्रमा तपाईंहरु महिला र पुरुषबीच यति कुरा छुट्याउंनुस्। यो छुट्याउंनु त मैले मिल्दैन किनभने प्रधानन्यायाधीशको हैसियतले यो कुर्सीमा महिला बसेको होइन एउटा प्रधानन्यायाधीश बसेको हो।
त्यसैले महिला पुरुष छुट्याउंन मिल्दैन तर हाम्रा सबैकुरालाई हेर्नुस्। पुरुषको हैसियत कहाँ छ, महिलाको हैसियत कहाँ छ। महिला न्यायाधीश बनाउनलाई हामीलाई यतिखेर कठिनाई छ।

प्रश्नः भनेपछि सकारात्मक विभेदको नीति लिएर तपाईंले जोखिम उठाउनुभएको हो?

उत्तरः जोखिम भन्नाले अब यो कस्तो कुराको जोखिम हो? एक त कानुनले र संविधानले न्यायाधीशको योग्यताको कुरामा कहीं पनि राजनीतिमा लाग्नुहुँदैन भन्ने राखिदिएन। अब राजनीतिमा लागेका व्यक्तिहरुलाई न्यायपालिकामा आउनै हुँदैन भनिन्छ भने कानुन बनाउनुपर्यो। पहिलो कुरा, राजनीतिक गरेका मान्छे हुनु हुँदैन भन्नुपर्यो। दोस्रो कुरा, तपाईंहरुले गल्ती मान्नुस् या नमान्नुस् अहिलेको अवस्थामा म पछि एउटा राम्रो सक्षम महिलाको खोजी गरिएको मैले देखे। हामीभन्दा पहिला जो महिला न्यायाधीशहरु आउनुभयो उहाँहरुले चाहिँ सिधै फैसलामा सदर बदर लेख्ने काम गरेर जानुभयो। यहाँ अब सर्वोच्चलाई हाँक्न सक्ने मान्छेको जरुरी छ। त्यो पनि समाजको समग्र महिलालाई नेतृत्व गर्ने खालको। त्यो आवश्यकतालाई हेरेर उनी सभासद् हुन् कि के हुन् हामीलाई त्यो अर्थ छैन तर अत्यन्त पढेलेखेकी विद्वान र विज्ञ भएकी, सर्वोच्च अदालतमा शत प्रतिशत महिलासम्बन्धी नजिरहरु कायम गरेकी, अहिले पनि त्यही विषयमा लडेको देखेपछि र सारा रुझान चाहिँ न्यायपालिका र न्यायप्रति मात्र देखिएको हुनाले उनलाई ल्याइएको हो।

प्रश्नः जोखिम किन भनेको हो भने त्यो नजिरलाई टेकेर भोलिका दिनमा न्यायालयमा राजनीतिक प्रवेश गराउने प्रवृति हावी हुन्छ कि भन्ने मात्र हो?

उत्तरः त्यस्तो त हुँदैन। त्यो सम्भव छैन। सिधै राजनीति गर्ने व्यक्तिलाई यहाँ ल्याइंदैन। राजनीतिक पृष्ठभूमि भन्ने कुरा हरिकृष्णलाई पनि भनेका छन्। ऊ को हो? वकालत गरेको मान्छे हो। राजनीतिक पृष्ठभूमि भन्नाले त्यो अर्को प्रकाश राउतको पनि हो नि। शेरबहादुरको नजिक भएको मान्छे हो। त्यो भनेर हुन्छ र? त्यो कुरा आएन नि। उसको भोलिको निष्ठा के हो? आत्मसम्मान के हो?

प्रश्नः मैले त्यही भनेको। भनेपछि भीम रावल अथवा सुवास नेम्वाङ्गहरु, अर्जुननरसिंह केसीलाई ल्याएपनि हुने भयो?

उत्तरः किन? हामीले त्यस्तै मान्छे खोजेर ल्याउँथ्यौँ नि हाम्रो नियत भएको भए। तर उनी त महिला हुन्। खाली न्यायको क्षेत्रमा काम गरेको हो। तपाईंलाई एउटा कुरा बताउँछु यहाँ विभेद छ। भयंकर ठूलो विभेद छ महिला ल्याउने कुरामा। ६० जना ल्याउने बेलामा एउटा महिला ल्याउनुपर्छ भन्ने सोच हुँदैन त्यस्तो संस्था हो। बाहिर फैसला जति उदार र समावेशी र समानुपातिक भनेर के गर्नु? हामीले अरुलाई नसोधेको होइन। केही महिला राजनीति गर्ने परे र उनीहरुले हामी आउँदैनौँ भने। त्यो पो भएको हो त।

प्रश्नः नयाँ संविधान बनेको छ। नयाँ संविधानलाई लिएर राजनीतिक विवाद पनि जारी छ। धेरै सैद्धान्तिक व्याख्या र विश्लेषण पनि गर्नुपर्ने होला। तपाईंले सपना मल्ला प्रधानसँगै सिफारिस गरिएका अरु व्यक्तिहरुको समूहले संविधानको यो जटिल परिस्थितिमा त्यो चुनौती सामना गर्न सक्ला ठान्नुहुन्छ?

उत्तरः बिल्कुल गर्न सक्छन्। तीनजना त यस्ता राम्रा न्यायाधीशहरु छन्। तिनका आत्मसम्मानमा कुनै शंका गर्न सकिंदैन। आनन्द मोहनजी हुनुभयो, ईश्वरजी। अति अध्ययनशील छ त्यो मान्छे। विश्वम्भरजीहरु हुनुहुन्छ। बहुत सक्षम। त्यो हरिकृष्णले पनि सक्छ, प्रकाश राउत जस्ता पनि बहुतै गम्भीर छन्।

प्रश्नः तपाईंले भन्नुभयो नि एउटा नेपाली कांग्रेस र एउटा एमाले। भनेपछि पार्टीको अथवा कुनै नेताको दौराको फेर नसमातेका मान्छेहरु न्यायाधीश हुने दिन गएकै हो?

उत्तरः त्यसरी पार्टीको दौरा समातेर आउन् भन्ने हाम्रो सोचै छैन। हामीले ल्याएका मानिसहरु राजनीतिक पद लिएर बसेका होइनन्। एकजना सपना मल्ल सभासद् बन्नुभयो तर त्यो पनि के हो भने जितेर आएकी होइन।

प्रश्नः अनि अघोषित रुपमा पार्टीहरुबीच भागबण्डा हुन्छ र उनीहरुको सिफारिसमा हुन्छ भन्छन्। तपाईं यो कुरा स्वीकार्नुहुन्छ?

उत्तरः म स्वीकार्दिनँ। पार्टीका कार्यकर्ताहरु भर्ती गर्ने ठाउँ होइन। हिजो के थियो विचार? यहाँ आएर पार्टीका नीतिहरु सिद्धान्तहरु यहाँ आएर लागू हँदैन।

प्रश्नः तपाईंको नियुक्तिका बेला पनि बाहिर माओवादीको सिफारिसमा नियुक्त भएको भने टिप्पणीहरु भए नि?

उत्तरः ह्या। कहाँ त्यो माओवादी हो र म? नचाहिने कुरा हो यो। माओवादीले आफ्नो कार्यकर्ता ल्याउँछ। तपाईंलाई म माओवादी हुं जस्तो लाग्छ? म कुनै वादी पनि होइन। प्रजातन्त्रवादी चाहिँ हो है म। म वामपन्थी होइन। प्रजातन्त्रवादी हो तर म माओवादी पनि होइन, कांग्रेस पनि होइन। कांग्रेसहरु के भन्छन् थाहा छ तपाईंलाई? थुक्क त्यस्तो मान्छेलाई ल्याइए छ! अहिले कांग्रेसमाथि नै डकैती भयो भनिरहेका छन्। तपाईंले कुन चाहिँ कुरा सुन्नुहुन्छ? कहाँको हुनु? मलाई माओवादीले फोन गरेर ल्याएको हो र? कहाँको मेरो माओवादीसँग सल्लाह हुनु? माओवादीका एउटा नेतालाई म चिन्दिनँ। अहिले चिन्न थालेँ बरु। कसैसँग मेरो भेटघाट पनि छैन।

प्रश्नः संविधान मस्यौदा समितिमा सदस्य हुँदा त त्यसबेला नेपाली कांग्रेस प्रजातान्त्रिकले तपाईलाई सिफारिस गरेको थियो नि?

उत्तरः अब कसले सफारिस गर्यो थहा भएन? मलाई बोलाइयो। म विराटनगरको मान्छे यहाँ ल्याइयो। मलाई यो पार्टीले ल्यायो त्यो पार्टीले ल्यायो म जान्दिनँ तर यहाँ भन्ने बेलामा सबैले भन्छन्। राप्रपाले मात्र भन्न बाँकी छ अब। सबैले भन्छन्। मलाई कांग्रेसले पनि भन्यो। अब न्यायमा कांग्रेस कम्युनिष्ट हुन्छ? अर्को कुरा नि तपाईंलाई भन्छु म र अर्को न्यायाधीश छ भने मैले चाहेको कुरा अर्को न्यायाधीशले नमान्न सक्छ। यहाँ राय बाझिन्छ। त्यस्तोमा यहाँ एमालेको कुरा पूरा गर्छु। एमालेका सिद्धान्त लागू गर्छु भन्दा अर्को न्यायाधीशले मान्छ? त्यो सम्भव हुने कुरा होइन।

प्रश्नः तपाईंले समावेशीको कुरामा जोड दिइरहनुभएको छ। त्यसैगरी म महिला भएको कारण त्यो अवसर पाएको हुं भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन?

उत्तरः बिल्कुल त्यो होइन। मलाई न्यायाधीश पाऊँ भनेर कुनैपनि राजनीतिक दलका मान्छेले हामीकहाँ आएको थियो भनेर भन्नुन न। त्यो सोध्नुस् न। कुनैपनि पार्टीको दैलोमा गएको छैन यो माग्नलाई। यहाँका न्यायाधीशहरुले जसले मलाई नजिकबाट चिनेका थिए र बारका वकिलहरुले तपाईं आउनुपर्छ भन्या हो। तपाईं एउटा मुद्दामा एउटै न्यायाधीशसँग एउटै मुद्दा राखेर हेर्ने भनेर आलोचना पनि भयो। म पनि त्यहाँ थपिदिन्छु सुन्नुहोस, प्रधानन्यायाधीश भनेको को हो? यहाँको नेता हो। भोलि कुनै न्यायाधीशले गरेको गल्ती पनि मेरो टाउकोमा आउँछ। त्यो जिम्मेवारी लिएर कुन न्यायाधीशको बेञ्चमा पार्ने, को विज्ञ छ? कसले इन्साफ दिन सक्छ, या मैले आफैंले हेर्ने? त्यो निर्णय गर्नुपर्छ। कतिपय न्यायाधीशहरु पन्छिने गर्छन्। यो मलाई नदिए हुन्थ्यो। यसले मलाई जोखिम दिन्छ। त्यो प्रधानन्यायाधीशले आफैंले जिम्मा लिनुपर्छ। त्यस्ता कुरा प्रचार गरेर हुन्छ र? कुरो चाहिँ त्यो हो।

प्रश्नः तपाईंको निष्ठा, स्वाभिमान वा आर्थिक मामिलामा प्रश्न नउठाएपनि यही न्यायालयभित्र पनि एकैचोटि सर्वोच्चमा आउँदा खेरी मुद्दा बुझ्ने र फैसला लेख्ने मामिलामा प्रश्न उठाउँदा रहेछन्। तपाईं त्यसको मूल्यांकन गर्दा के भन्नुहुन्छ?

उत्तरः मैले त गरेको भन्छु। म के नगरेको भन्छु र? मैले त हिजो पनि प्रष्ट्याइदिएको थिएँ। फैसला लेख्नुभएन त के फैसला सबै लेख्न पाइन्छ र? वरिष्ठ न्यायाधीशसँग बस्यो भने त्यस्ता न्यायाधीशले आफैं लेख्छन्। कहिलेकाहीँ उसले दिएको मात्र आफूले गर्ने हो। म जहिले पनि वरिष्ठ न्यायाधीशसँग बसेँ, आफ्नो पालामा त मैले गरिरहेको छु।

प्रश्नः सर्वोच्चमा एकैचोटि आउँदा अभ्यासको कमी हुँदोरहेछ जस्तो तपाईंलाई लागेन?

उत्तरः ज्ञान चाहिँ रहेछ प्रशस्त। काहीं पनि अप्ठेरो भएन्। जस्तो आय कर, राजश्वमा गाह्रो पर्यो। म व्यवस्थापन संकायको पृष्ठभूमीबाट आएको होइन तर फौजदारी देवानीमा त म उस्तैलाई पनि पानी खुवाउँछु। यति छिट्टै आउँछ मलाई। त्यो अभ्यासले गर्दा हो। फैसला लेख्न चाहसँ गाह्रो पर्छ। त्यो पनि विस्तारै सिकिन्छ।

प्रश्नः सर्वोच्चमा आउनुअघि पुनरावेदनमा प्रवेश गरेको भए वा त्यस्तो गर्ने चलन भएको भए राम्रो हुन्थ्यो कि?

उत्तरः होइन। त्यो केही कुरो होइन। त्यो त एउटा कुरा संसारमा मैले के बुझेको छु भनेदेखि जसले पनि अलि हिम्मत गर्नुपर्छ जे पनि चलाउँछ। यहाँ तपाईंहरुले महाभारत देख्नुभयो होला त्यो होइन्। के छ भने वकिलले बहस गर्छ अंक आउँछ, अर्को प्रतिपक्षले बहस गर्छ बुँदा आउँछ। त्यसपछि लेख्ने हाम्राले ‘ड्राफ्ट’ गरेर ल्याइदिन्छन्। त्यसैलाई ठिक बेठिक हेर्यो, भिडायो, साथीभाइसँग सल्लाह गर्यो, एउटा नतिजा आउँछ। डराउनै पर्दैन के को डराउनुपर्छ त्यो?

प्रश्नः तपाईंको प्रधानन्यायाधीशमा नियुक्तिपछि को डराउनुपर्यो अब?

उत्तरः म त भन्दिनँ कोही डराउनुपर्यो। किन डराउनुपर्यो, के खानलाई डराउनु? त्यो भ्रष्ट्राचार गर्नेलाई भनेको होला, भ्रष्ट्राचार गरेको देखियो भने म छोड्नेवाला छैन।

प्रश्नः तपाईंले सुनवाई समितिमा लोकमान सिंह कार्कीको मुद्दाको बारेमा प्रसंग निकाल्नुभएको थियो।

उत्तरः अँ भन्नुस् त। त्यसको बारेमा लोकमान सिंहको बारेमा के हो? म भन्छु नि। आजै पनि उसलाई चाहिँ मैले भनेँ यो त दिदी भाईका यहाँ सम्बन्ध केही छैन। नचाहिने कुराको अफवाह फैलाउने भनेर, ङिच्च हाँस्यो। मैले आजै भेटेको कहिल्यै पनि भेटेको देखेको थिइनँ।

प्रश्नः तर नचिन्नु र नदेख्नु भनेको नाता नपर्नु त होइन नि, होइन्?

उत्तरः होइन। के फरक पर्छ र त्यसले? बाजेका सन्तानसम्म पो हेर्न पाइँदैन। अब त्यो को हो, को हो, कहाँको हो? कसरी मैले चिन्नु? त्यस्तो पनि हुन्छ काहीं? लोकमानको मुद्दा हो त्यो? व्यक्तिगत उसको घरभित्रको मुद्दा हो त्यो कि अख्तियारको मुद्दा हो? घरभित्रका मुद्दा त होइनन् नि? त्यो त अख्तियारको मुद्दा हो। अख्तियारले अन्याय गर्यो भने मैले हेर्दै नहेर्ने?

प्रश्नः भनेपछि लोकमान सिंह कार्कीको आसन चाहिँ डग्मगाउने भयो?

उत्तरः किन आसन डग्मगाउनु? उसले गरेका गल्ती पो कोट्याउने हो त। नगरेका गल्तीमा उसको आसन डग्मगाउने काम गरुँला त म? नचाहिने कुरा हो त्यो। मेरो रिसइबी, द्वन्द्व कसैसँग पनि छैन्।

प्रश्नः तपाईं नेपालको पहिलो महिला प्रधानन्यायाधीश अवकाश भइसकेपछि पनि कुनै अर्को पहिचान होस् भन्ने चाहनुहुन्छ?

उत्तरः मलाई केही चाहिएको छैन्। मैले एकदमै कमाउने समयमा छाडेर आएको हुँ। पैसाको लोभ भएदेखि म यहाँ आउने थिइनँ। तपाईंलाई छोटोमा भन्नुपर्दा कतिपय यहाँ वरिष्ठ वकिल साहबहरुलाई तपाईं आएर अदालतमा सेवा गरिदिनुस् न भन्दा मान्दैनन्। किनभने त्यहाँ उनीहरुको लाखौँ लाख करोडौँको आम्दानी हुन्छ। त्यो छाडेर यहाँ महिनाको तीस चालिस हजार कमाउन आउँछन्? तीस, चालिस हजारले काठमाण्डूमा के खान पुग्छ? धेरैको हामीले त्यो सुनेका छौँ। अनि फेरि उनीहरु के भन्छन् भने प्रधानन्यायाधीश बन्ने भए मात्रै आउँछु। त्यो कारण के हो भनेदेखि कि पैसा कि पद हो। त्यो आउँदैनन्। म त्यो आफ्नो सबै छाडेर यहाँ आएको हुँ। के को लागि? मुलुकको लागि। मेरो आफ्नो स्वार्थ केही पनि छैन। यही एक वर्ष बसुञ्जेल म आफ्नो काम देखाउँछु। पहिला जे काम देखाएको छु, देखाएको छु। मसँग निष्पक्षता हुन्छ, मसँग स्वच्छता हुन्छ। म भ्रष्टाचार गर्दिनँ।

प्रश्नः तपाईं सात आठ वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहनुभयो। यो अवधिको न्यायपालिकाको निम्ति सबैभन्दा दुर्भाग्यपूर्ण कुनै घटना सम्झिनुहुन्छ?

उत्तरः एकपल्ट हामी पाँच जनामात्र न्यायाधीश रह्यौ। यहाँ त कस्तो भने स्याल कुद्ने जस्तो बेला भएको थियो। त्यो पाँच जना न्यायाधीश पल्लो भवनमा हराउँथे। त्यतिखेर चाहिँ के खान आइएछ कि जस्तो हुन्थ्यो।

प्रश्नः ठूलो चर्चाको विषय भएको खिलराज रेग्मी कार्यपालिकाको समेत प्रमुख भएको घटनाको त तपाईंले उल्लेख नै गर्नुभएन?

उत्तरः खिलराज जी जानुभयो। अब के भन्नु? त्यो त गइसक्यो कुरा तर हामीले संवैधानिक इजलासबाट फैसला गर्यौँ नि। अब चाहिँ यस्तो घटना नहोस्, यसले न्यायालयलाई घाटा पुर्यायो। ठूलो घाटा पुर्यायो। एकै व्यक्ति प्रधान्यायाधीश र एकै व्यक्ति प्रधानमन्त्री हुनाले खिलराजजी बसिरहनुभएकाले अदालतको यो दुर्गति हुने थिएन। यो नियुक्तिमा यस्तो लफडाबाजी पनि हुने थिएन। उहाँ एकदमै निष्पक्ष न्यायाधीश हो। उहाँ सबैकुरा भएको ज्ञानी पनि हो। तर समय र परिस्थितिले उहाँ त्यहाँ पुग्नुभयो। त्यहाँ पुगेपछि सबैभन्दा घाटा यो अदालतलाई भयो।

प्रश्नः अन्तिममा प्रधान्यायाधीश कार्की, तपाईंले संसदीय सुनवाईका बेला यति पीडा मैले भोगेँ कि त्यो पैतालामुनि थिचेर बस्नुपर्यो समेत भन्नुभयो र प्रसंशा गर्ने क्रममा मिनबहादुर रायमाझी, रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मीको नाम लिनुभयो। तपाईं सात आठ वर्ष बस्दा बाँकी बसेका – दामोदर शर्मा र रामकुमारप्रसाद साह—उनीहरुका कारण पीडा बेहोरेको हो?

उत्तरः म कसैको नाम लिन्नँ। म कसैलाई दोष पनि लगाउँदिनँ। त्यो परिस्थिति र अवस्थाले त्यस्तो बनाएको हो। न म दामोदर श्रीमानलाई गाली गर्छु। उहाँले मेरा सुविधामा अत्यन्त, काही मलाई दुख पीडा पर्यो भने भने उहाँ मलाई सहयोग गर्न तत्पर भएर बस्नुहुन्थ्यो। उहाँका पनि केहि गुणहरु छन् तर त्यो बेलामा खासमा के भयो भनेदेखि रामकुमार साहकै पालामा पनि म उहाँसँग नजिक पनि भइनँ, टाढा पनि भइनँ।

प्रश्नः अलि बढी पीडा चाहिँ उनको पालामा भएको हो?

उत्तरः होइन। त्यस्तो केहि होइन्। त्यस्तो म भन्दिनँ। एउटा कुरा नेपालमा पुरुषै पुरुष, च्याम्बरमा बसे। उनीहरुका बीचमा म एक्लो हुने। उनीहरुका बिचमा यस्ता कुरा हुने कि त्यो कुराले नै मलाई पीडा हुन्थ्यो। त्यहाँनेर चाहिँ मलाई एउटा दुईजना अरु महिला न्यायाधीश भएको भए कस्तो हुन्थ्यो होला जस्तो हुन्थ्यो। त्यो महसुस हुन्छ नि उनीहरुले यहाँ पनि एउटा महिला छ भनेर नबोल्ने। यो खालको विभेद कहाँ चाहिँ छैन होला? सबैतिर नेपालमा हरेक कार्यलयमा छ।

प्रश्नः न्यायको मन्दिरमा समेत त्यस्तो विभेद सहेर बस्नुपर्दा चाहिँ तपाईंलाई कस्तो लाग्यो नि?

उत्तरः अब एउटा बेला आउला जहाँ म आफ्नो काम गरेर प्रस्तुत गर्न सकूँला भनेर प्रतीक्षा गरेर बस्नुपर्यो। पर्ख र हेर गरियो, त्यही हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक