(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160712

किन चाहियो यस्तो मान्छे देशलाई ? मर्न देऊ त्यो डा. गोविन्द केसीलाई !

- शिव प्रकाश 
 एक पटक हैन, दुई पटक होइन, छ–छ पटक अनसन बस्ने, त्यो पनि सधैं एउटै कुराका लागि! के काम यस्तो मान्छेको त्यो राज्य र समाजमा जहाँ विधि–विधान, नीति–नियम, निष्ठा–नैतिकता, इमान–धर्म र कर्तव्यपरायणताको अर्थ छैन?
अपवादलाई छोडेर जुन देशका अदालत भित्रभित्र कुहिएका फर्सी जस्ता हुन्छन्। उच्च आसनमा बसेका, सेतै दाह्री फुलेका सन्त–महन्त जस्ता देखिने न्यायमूर्तिहरू पैसाका बिटाको ओछ्यानमा सुत्छन्। जुन देशका नेता तथा मन्त्रीहरु भ्रष्टाचारलाई आफ्नो अधिकार ठान्छन्। जुन देशका राष्ट्रसेवकहरू देशलाई दिनरात लुट्छन्। जुन देशका डाक्टरहरू पैसा कमाउ विरामीका नाउँमा जनताको जीवन रेट्छन्। जुन देशका जनता  ‘गणेशमानका भेडा’ जस्ता हुन्छन् र करोडौ खर्च गरेर आफ्ना छोराछोरीलाई जनताको जीवन रेट्ने ‘कसाई डाक्टर’ जस्तै
डाक्टर बनाउन चाहन्छन्। त्यो राक्षसी राज्यमा निष्ठाका पुजारी डा. केसी जस्ता मान्छेको के काम? 
त्यो राज्यलाई त चोर, डाका, फटाहा, लुटेरा, हत्यारा, अपराधी, बलत्कारी, भ्रष्टाचारी, व्यभिचारी, डन, माफिया र दलालहरु चाहिएको छ। जसले राज्य संचालनलाई सधै सुगम बनाइदिएका छन्। यस्तो राज्यलाई डा. केसी जस्तो स्वच्छ, इमान्दार र कर्तव्यनिष्ट मान्छे किन चाहियो?
इमान्दारिता भनेको बेइमानीहरुका लागि तगारो हो,  डा. केसी सधैं तगारो बनेका छन्।
अब देशमा कसलाई विश्वास गर्ने? कसको आस गर्ने? न्यायको अन्तिम आशाको ज्योति जस्तो देखिने देशको सर्वोच्च अदालतसम्म सजिलै पुग्न सक्ने माफियाहरुको बाटो छेक्ने धर्मयोद्धा डा. केसी बाँचे अरु धेरै पापीहरु मर्नुपर्ने हुनसक्छ
 ।
देशको सम्पूर्ण प्रणलीलाई पापाचारमा डुबाउने दुष्टहरुको कल्याणका लागि डा. केसी जस्ता मान्छेलाई राज्य र दलहरुले उपेक्षा गर्नु स्वयंमा कति लज्जास्पद छ ?  
अहिले सामाजिक सञ्जालमा नेताप्रति घृणाका शब्दको बाढी त्यतिकै आएको होइन। जनताले नेतालाई विकृति, विसंगति र दुराचारीको प्रतिमानका रुपमा स्थापित गरिसकेका छन् । हिजो प्रिय कहिलिएका आफ्ना नेता आज फटाहा, र भ्रष्टाचारी जस्ता असामाजिक र अभद्र शब्दका पर्याय बनेका छन्।
देशमा बढेको वेथितिसँगै जनतामा आक्रोशको आगो पनि बढ्दै छ । यो आगो नेताको सामुहिक पतनको कारण नबनोस्।
पाठकवृन्द, यही सेतोपाटीमा ‘मैले आफैं लगेर पैसा बुझाएको छु...न्यायाधीश पनि लाईनमा छन्,’ भन्ने शीर्षकको खोजपूर्ण समाचार पढेपछि मन भत्भती पोल्यो। देशमा माफियाको जालो कसरी फैलिएको छ भन्ने कुरा त्यो समाचार र अडियोले खुलस्त पारेको छ। पैसाको खेल कति डरलाग्दो र घिनलाग्दो हुँदो रहेछ, छर्लङ्ग पारिएको छ।  
दलाल, माफिया र डनहरु जसले प्रया सबै दलभित्र आफ्नै दल बनाएर देशमा शासन चलाएका छन्। सरकार र राजनीतिक दल नाउँका दलदलले डा.केसीको होइन तिनैको रक्षा र सुरक्षा गर्नु स्वाभाविक हो। डा.केसी शुद्धता चाहन्छन् तर निष्ठाको सपथ खाएर विष्ठारुपी पैसा खाई, सुकिला लुगा लगाई रछानमा सुत्नेहरुलाई शुद्धताको के अर्थ?
सेतापाटीको यो समाचारबाट झन् स्पष्ट भयो, देश कसले चलाएको रहेछ ? सरकार र राजनीतिक दल कसको स्वार्थ र सुरक्षाका लागि मरिमेट्दा रहेछन्? डा. केसीप्रति राज्य र दलहरु किन उदासिन छन् र केले रोकेको रहेछ? हुन पनि हो त्यस्तो देशमा डा. गोविन्द केसी जस्ता देश र जनताका लागि निस्वार्थ लड्ने एउटा असल मान्छेको के काम?
समाचार पढ्दापढ्दै धेरै अघि हेरेका केही हिन्दी सिनेमाका दृष्य आँखामा आए। जसमा हिरोले भट्ट्ट् गोली हानेर नेता र नेताका ‘ज्ञानीभेडा’(हनुमान) र भ्रष्ट कर्मचारी तथा दलालहरुलाई मारिदिन्छन्। मलाई लाग्थ्यो यी वाहियता दृष्य सिनेमा हिट बनाउँन मसलाका रुपमा प्रयोग गरिएका हुन्। तर आज लागेको छ, आफ्नै देशले त्यस्ता धेरै नेता जन्माइसकेको रहेछ। माकुराको जालोमा माखो फसे जस्तै दलालहरुको जालोमा देशका शासक–प्रशासक र न्यायमूर्तिहरू फसेका रहेछन्। सबै विकेका छन्। कसको भरोसा गर्ने?
ठूलो जोखिम मोलेर सेतोपाटीले तयार गरेको यो समाचार नेपाली पत्रकारिताको इतिहासमा एउटा ठूलो उपलब्धीका रुपमा पनि रहेने छ। यो जोखिमपूर्ण कामका लागि पत्रकार रामु सापकोट र सेतापाटी टीम विशेष धन्यवादका पात्र भएका छन्। 
राजनीतिको सुकिलो जामा गलाएर देशको शासन–सत्ताबाट भत्ता खाएर मेडिकल कलेजका नाउँमा धन्धा चलाउने एक नेताले डा. केसीलाई पागलको संज्ञा दिएका थिए। यदि डा. केसी पागन हुन् भने लगेर पागलखाना कोच र प्रमाणित गर– डा. केसी पागल हो भनेर! हैन भने एउटा निष्ठाको पुजारीलाई पागलको संज्ञा दिएर किन पटकपटक मरणासन्न अवस्थामा पुर्‍याउँछौं? पटकपटक सम्पूर्ण माग पूरा गर्ने बाचा गर्छौ र पटकपटक किन धोका दिन्छौं ? कति देखाउँछौं नग्न नाटक? दुष्टताको पराकाष्टा योभन्दा अर्को के हुन्छ? 
उनका माग नाजायज छन्, देश र जनता विरोधी छन् भने अपराधी घोषित गर। कारबाही गर। जेल हाल। अपराधीलाई सरकारले गोली पनि ठोक्न सक्छ। ठोक गोली! हैन भने अझै किन शासको अन्तिम घिडघिडोलाई पर्खन्छौं? आफ्नो नग्न अमानवीयता र संवेदनाहिनतालाई राज्यले किन पटकपटक प्रदर्शन गरिरहेको छ?
संसारकै अनशनको इतिहासमा एक डा.गोविन्द केसी मात्र होलान् जो तिनै माग र तिनै सम्झौताको कार्यान्वयका लागि छ पटक मराणासन्न हुने गरि एक्लै अनशन बसिसके। के राज्यलाई अलिकति पनि लज्जा छैन? इमान, धर्म, नैतिकता र निष्ठासँगै लज्जाहिनता पनि मरिसकेको हो?
सेतोपाटीमा प्रकाशित उक्त समाचारले देशको शासन–प्रशासन र न्याय क्षेत्रमा रहेका व्यक्ति–व्यक्तिदेखि लिएर सम्पूर्ण निकायको चरित्र उदाङ्गो बनाइदिएको छ। पढ्दै जाँदा झन्झन् घृणित हुदै गएका यी पात्रसँगै मैले सिंगापुरको लि क्वान कालका एक मन्त्री ति चियेन वान् सम्झिएँ। भ्रष्टाचारको पोल खुलेपछि आफूले पाप गरेको स्वीकार्दै  सुसाइड नोट लेखर ती मन्त्रीले आत्महत्या गरेका थिए। नोटमा लेखिएको थियो– ‘मेरो गल्तीको लागि मैले चुकाउने उच्चतम मूल्य यही हो, यो नै मेरोलागि न्यायोचित हुन्छ।’
तर नेपालमा सेतादारी र कपालभित्र परेका पापका जुम्राले पटक्कै टोक्दैन । ती दाह्री र कपालमा टलक्क टल्किएका कुकर्मका काला लिखा देखाउँदै हिड्न कसैलाई कुनै संकोच छैन । तीन करोड नेपाली सामू नाङ्गिदा पनि कसैलाई लज्जा र अपराधबोध हुदैन । राज्य अझै यिनैको संरक्षणमा लम्पट छ ।
कति लज्जास्पद, घृणास्पद र फोहरी छ सत्तामा बस्नेहरुको कार्यशैली ? सधैं गृहमन्त्री हुने र प्रहरी प्रशासनलाई तहसनहस बनाएर शिर निहु¥याउँन वाध्य बनाउने वामदेव गौतमको हातमा परेपछि माथेमा प्रतिवेदनको मुटु–कलेजो झिकिएको कुरा प्रतिवेदन समितिका संयोजक डा. केदारभक्त माथेमाले बताउनु भएको छ । सरकार ! निर्जज्जता र निर्घिणताको योभन्दा अर्को रुप के हुन्छ ?
उपवासमा बसेका एउटा सत्याग्रहीलाई भोकै–प्यासै मार्नु क्रुरता हो । न्याय माग्दामाग्दै ३३२ दिनपछि २०७१ असोज ६ गते भोकभोकै मारिएका नन्दप्रसादको लास राज्यले अझै उठाउन सकेको छैन । चिसो बाकसमा थुनिएको लास नन्दप्रसादको हैन, न्यायको हो भन्ने कुरा राज्यले बिर्सिनु हुदैन । न्याय मरेपछि निष्ठा, नैतिकता, इमान्दारिता र कर्तव्यपरायणता पनि मर्छन् भन्ने कुरा राज्यले देखाइसकेको छ, अझै नदेखाओस् ।
हिंसात्मक बाटो त्यागेर शान्तिपूर्ण सत्याग्रहबाट परिवर्तन ल्याउने शस्त्र हो निशस्त्र आन्दोलन ! देश हिंसा र हत्यामा जलिरहेको बेला डा. केसीको अभिषेश आन्दोलनले शान्तिको सन्देश पनि दिएको छ। आधुनिक समाजमा न्याय प्राप्तिका लागि लडिने युद्व भनेको उपवास आन्दोलन हो भन्ने पाठ सिकाएको छ। यो आन्दोलनको मर्मलाई बुझ्न जति ढिलो गर्‍यो समस्या उति पेचिलो बन्दै जानेछ।
डा. केसीको उपवासलाई बेमौसमी बाजा ठानियो भने उपवासको अर्थ स्वर्गवास हुन सक्छ । दूर्भाग्यवस् यदि त्यो भयो भने भोलि झन् ठूलो आगो दन्किन सक्छ।
पैसाका चास्नीमा डुबेका फोहरी झिँगाहरुको संरक्षण र सुरक्षाका लागि राज्यले डा. केसीलाई मर्न दियो भने त्यसको जिम्मेवार सम्पूर्ण दलहरु हुनु पर्ने छ । कामना गरौं, त्यो दिन नआओस् । कंथकदाचित आयो भने भोलि डा. केसीको चिताबाट सल्किने लाखौं राँकाका ज्वालाले कसकसलाई खरानी बनाउँछ थाह छैन!
                                                                        लेखक शिव प्रकाश

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक