(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20160711

नेता थुप्रै भए तर कुनै नेतामा दुरदर्शिता देखिएन !

- राजन कार्की
१९४९ मा सांस्कृतिक क्रान्ति सुरु गर्दै उभ्रेका माओत्से तुङले ६० को दशकमा गल्ती कमजोरी अनुभूति गरेर जनताका सामु घुँडा टेकेर क्षमा मात्र मागेनन्, चीनलाई एकतावद्ध पारेर अघि बढाउने संकल्प पनि गरे। राष्ट्रपिता सनयात सेनलाई आदर गर्दै तिनै माओका अनुयायी देङ सियाओ पिङ कम्युनिष्टतन्त्रमा खुलापन मिसाएर प्रगतिको यस्तो रसायनशास्त्र विकास गरे, विश्व कम्युनिष्ट चीनमा लगानी गर्न हौसिएर पसेका मात्र होइनन्, विश्वका कुनै पनि मुलुकमा भन्दा बढी बहुराष्ट्रिय कम्पनीहरु चीनभरि फैलिएका छन्। कम्युनिष्ट राष्ट्रभित्र पुँजीको लगानी र उत्पादनको ओइरोले आज विश्वका गल्ली गल्लीमा मेड इन चाइनाका सामानहरु पुगेका छन् र चीन विश्व आर्थिक शक्तिको पहिलो पंक्तिमा उक्लन उक्लन लागेको छ। वर्तमान राष्ट्रपति सी जिन पिङले सिल्करोड, वान बेल्ट वान रोड र दक्षिण दक्षिण सहयोग नीतिको मार्गचित्रका साथ अघि बढेपछि चीन चमत्कारिक शक्ति आर्जनतिर अग्रसर भइसकेको देखिन्छ। एउता राष्ट्रिय नीतिकार र त्यो नीतिलाई राजनीतिक राजमार्ग बनाइयो भने के गर्न नसकिने रहेछ भन्ने प्रेरणाको स्रोत हो चीनको विकास।
१९५० मा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले ध्वस्त पार्‍यो कोरियालाई। एक कोरिया उत्रर र दक्षिण कोरिया बन्यो। रछ्यानमा फालेको भातको सिता टिपेर खाने स्थितिमा थियो कोरिया। दक्षिणतिर पार्कचुङ हीको उदय भएपछि कोरियामा आर्थिक क्रान्ति भयो, कोरिया आज सम्पन्न मुुलुकमध्येमा पर्छ। बैदेशिक रोजगारीमा बाँचेको अर्थतन्त्रलाई पार्कचुङले आफ्नै सोच र प्रतिवद्धताले प्रगतिको शिखरमा पुर्‍याइदिए। उत्तरतिर किम इल सुङ र उनका पारिवारिक शासन चल्दै आएको छ। यद्यपि कडा कम्युनिष्ट शासन भएकाले उत्तर कोरियाबारे केही भन्न सकिन्न र आज उत्तर कोरिया राष्ट्रसंघको कडा नाकावन्दीमा परेको अवस्था छ। 
लि क्वान युले १९५९ देखि १९९० को ३२ वर्षमा सिगानपुरलाई सिंगापुर बनाइदिए। अस्थिर र अराजक, भ्रष्ट र भताभुङ्ग, लथालिङ् सिंगापुरलाई स्थिर, अनुशासित र बिधियुक्त र व्यवस्थित बनाइदिए। आज सिंगापुरलाई दक्षिण एसियाको युरोप भनिन्छ। एउटा नेतृत्वमा केही गर्ने इच्छाशक्ति भयो र उसले मुलुकको मुहार फेर्ने सपना देख्यो र कटवद्ध भएर लाग्यो भने मुलुकले सम्मान र मुलुकवासी समृद्धशाली हुनेरहेछन्।
टाढा किन, इन्डोनेसियाका सुकार्नो, मलेसियाका महाथिर मोहम्मदको जीवनी कुनै पनि विकासशील अथवा अलपविकसित मुलुकका लागि अनुकरणीय देखिन्छ। उनीहरुले आफ्ना मुलुकको दयनीय अर्थव्यवस्थालाई एउटा भरपर्दो मुकाममा पुर्‍याए। अर्थात मुलुक बनाउने वा बिगार्ने राजनीतिले हो, राजनीतिक नेतृत्व विकास भयो भने मुलुक बन्छ। आधार यही रहेछ।
बंगलादेशका राष्ट्रपिता हुन् मुजिवर रहमान। उनी मर्दा उनको जिउमा लगाएको पेटीगन्जी च्यातिएको पाइयो भने उनको बेंक खातामा न्यूनतमभन्दा बढी पैसा भेटिएन। कस्तो आश्चर्य?
हो, यी शासकहरुमा प्रजातन्त्र प्रतिको पूर्ण लगाव थिएन। निरंकूशतन्त्र नै यिनको कार्यशैली थियो तर देशभक्तिका कारण, जनताप्रति जिम्मेवार भएका कारण यिनीहरु स्तूत्य नेताका रुपमा अजरअमर छन्। लि क्वान यू मर्दा अमेरिकाका राष्ट्रपति बाराक ओवामाले समेत सह्राहना र सलाम गरे। किन? किनकि देशभक्ति र देश निर्माण अमर हुनेरहेछ।
सन्दर्भ नेपालको
हाम्रा राष्ट्रपिता को? जनता पृथ्वीनारायण शाह भन्छन्, राजनीतिक दलहरु राष्ट्रनिर्मातालाई बिस्तारवादी, निरंकूश ठान्छन्। उनका सालिकको टाउको र हात काटेर क्रान्तिकारी हुँ भन्ने आत्मरती गर्छन्। ०४६ साल र ०६३ सालमा राजनीतिक परिवर्तन भयो। यी दुबै राजनीतिक परिवर्तनपछि नेपाललाई मायाँ गरेर विदेशीले उपहारमा बनाइदिएका ठूला ठूला उद्योगहरु निजीकरण गरेर बेचिए। घरेलु महिला र युवाहरुले रोजगारी पाएका सरकारी र विदेशी लगानीका उद्योगहरु कि बन्द गरिए, कि  लखेटिए। नयाँ उद्योग खोलिएन। खोल्ने प्रयास नै हुनसकेन। प्रजातन्त्र र लोकतन्त्रले उद्योग स्थापना गरेको, उत्पादन बढाएको, निकासी गरेर राष्ट्रिय अर्थतन्त्रमा मजबुती ल्याएको एउटा पनि उदाहरण छैन। किन?
किनकि नेता थुप्रै भए, कुनै नेतामा दूरदृष्टि देखिएन। देश बनाउनुपर्छ भन्ने इच्छाशक्तियुक्त नेतृत्वको विकास नै भएन। अझ भनों राजनीति बढी भयो, राजनीतिमा नेतृत्व विकास नै भएन। राजनीति व्यापार बन्यो, कमिशन र भ्रष्टाचार भयो, अनैतिक र सिद्धान्तहीन बाटोमा लाग्यो। देश हाँक्ने राजनीतिले हो, राजनीति र बागमतीमा तात्वीक भिन्नता हुनछाड्यो। बागमतीमा नाली बग्छ, अक्जिन छैन, कुनै प्राणी बागमतीमा बाँच्नै सक्दैनन्। राजनीतिमा नीति नै छैन, कसरी जिवन्तता रहन्छ र?
यसको दुस्प्रभावले राष्ट्रिय अर्थतन्त्रमा मात्र होइन, जीवनमै दुस्प्रभाव परिरहेको छ। यही कारण हो, राजस्वले सामान्य प्रशासन चलिरहेको छ, दानदातव्य र रेमिटान्सले राष्ट्रलाई धौ धौ रुपमा चलाइरहेको छ।
 हामी सधैं स्वतन्त्र रहेकाको यस्तो बेहाल, हिजो जन्मेका मुलुकहरु आर्थिक उन्नतिको शिखरमा पुगिसके। हामी भिखारी छौं, मागेको भीख बाटैमा ठिक हुन्छ। उनीहरु स्वावलम्बी छन्, सुखी बनिसके। हामी भाषण र सपना देखेर सुत्छौंं, उनीहरु कुरा कम, काम गर्छन् र सपना देखेर साकार पार्न लागिपर्छन्। हामी कागजको घोडा दौडाएर प्रगतिको रेखा कोर्छों, उनीहरु दश नङ्ग्रा खियाएर फूल फुलाउँछन्। हामी भ्रष्टाचारी, तस्कर, असामाजिक तत्वलाई छुट दिएर लुट गर्ने अवसर दिन्छौं? उनीहरु विधिभन्दा माथि कसैलाई ढिम्किन दिदैनन्। हामी नेताहरुको सिण्डिकेट र थरिथरिका समानान्तर सरकार चलाउने छुट दिन्छों, उनीहरु बिधि र नियमलाई सर्वोपरि ठान्छन्। हामीहरु आफ्नालाई उचाल्ने गर्छौ, उनीहरु ल्याकतलाई ताकत बनाउँछन्। अनि राजनीतिक खियाले राष्ट्रिय अर्थतन्त्र खिया नलागे के हुन्छ? इस्पती धार बन्नुपर्ने युवाहरु यो देशमा गरिखान पाइएन भनेर विदेशीन्छ। जहाज चढेर ज्यूँदो जान्छ, सोला चढ्न बाकसमा बन्द भएर शबका रुपमा फर्कन्छ। युवालाई रोक्ने वा विदेशीएकालाई स्वदेश फर्काएर पसिना बगाउने आकर्षण दिने कुनै योजना नै बन्दैन। भूकम्प गएको १४ महिना भयो। जनताले अझै बास बनाउन पाएनन्। किन? किनकि राज्यले तिनलाई हेर्दै हेरेन, राहत दिनुभन्दा भूकम्पपीडितमाथि राजनीतिक भइरह्यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनेको छ। यो प्राधिकरणमा प्रधानमन्त्री केपी अेाली नै अध्यक्ष छन् र सदस्यहरुमा– अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत, योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली, मुख्यसचिव सोमलाल सुवेदी, डा.तारानिधि भट्टराई, ई. किशोर थापा र सदस्यसचिव मधुसुदन अधिकारीछन्। प्राधिकरणको सञ्चालकहरुमा सुशील ज्ञवाली अध्यक्ष र उनलाई सहयोग दिने सदस्यहरुमा धवप्रसाद शर्मा, डा.हरिराम पराजुली, डा.विष्णुबहादुर भण्डारी, डा.चन्द्रबहादुर श्रेष्ठ र मधुसुदन अधिकारी रहेका छन्। यत्रा दिग्गदहरु रहेको प्राधिकरणले वर्षामा रुझेर रोइरहेका जनतालाई टुलुटुलु हेरिरहेको छ। प्राधिकरणका बजेट एमालेका निकट एनजिओकरण गरेर तिनीहरुमार्फत सहयोग दिने भनेर आश्वासनमा जनतालाई मारिरहेको छ। कति विवेकशून्यता छ बुद्धिजीवीहरुमा। यथार्थमा नागरिक समाज, बुद्धिजीवी बर्ग सबैलाई पार्टीकरण गरिएको र पार्टीका झोला बोक्नेहरुमात्र काविल भनेर जागीर दिने प्रवृत्ति बढेर गएको छ। अनि न सुशासन हुन्छ, न विधि लागू हुन्छ? संविधान जारी भएको ११ महिना भयो, कार्यान्वयन नै हुनसकेन। यति जानेपछि राष्ट्रिय अर्थतन्त्रलाई राजनीतिक भयंकर भूलले दलदलमा फसाइसकेको बुझन् कठिन पर्दैन।
नेपालमा सबैभन्दा डरलाग्दो रोग भनेको पार्टीहरुले खोल्ने टे्रड युनियन हो। पाटीहरुले प्रत्येक बैंक, संस्थान, सरकारी कार्यालय, उद्योग कतै पनि पार्टी टे्रड युनियन खोल्न बाँकी राखेका छैनन्। चन्दा माग्ने, आफूले भनेको काम भएन कि तालाबन्दी गराइहाल्ने पार्टीहरुको राजनीतिले सबैभन्दा बढी प्रभाव प्रशासन र उद्योगमा परिरहेको छ। सूर्य गार्मेन्टजस्तो विदेशी लगानी भागेर गयो। त्यस्तो हुँदैन, कुनै पनि उद्योग, जलविद्युत लगायतका आयोजना, बैंक, संस्थान, सरकारी कार्यालयहरुमा राजनीतिक हस्तक्षेप हुन्न भनेर सर्वदलीय प्रतिवद्धता आएको छैन। त्यसमाथि भूमिगत, अर्धभूमिगत क्रान्तिकारीहरुले पछार्ने, लछार्ने, बिस्फोट गराउने अनेक वितण्डा भइनै रहेका छन्। पछिल्लो उदाहरण डिस होम र एनसेलका टावरहरुमा बम हानिए। आयोजनाका प्रमुखहरुलाई मार्नेसम्मका धम्की दिइए। बैंकहरु त्रसित पारिएका छन्। कानुनी राज्य छैन, राजनीति उत्ताउलो भएको छ। शान्तिका आवरणमा भित्रभित्रै आतंक फैलिरहेकै छन्। यसकारण लगानी र उत्पादन उत्साहित छँदैछैन।
तथापि राम्रो खबर छ– चीनले पाकिस्तान, श्रीलंका, बर्मामाभन्दा बढी लगानी नेपालमा गर्ने उद्देश्यसहित अगाडि सरेको छ। चीनका कारणले भारत, नाइजेरिया पनि नेपालमा लगानी गर्न भित्रिसकेका छन्। चीनले जलविद्यूत र सिमेन्ट उत्पादनमा, नाइजेरियाको डाङ्गोटे सिमेन्ट कम्पनी, चीनको होन्सी र नेपालको शिभमु सिमेन्टको ज्वाइन्ट भेन्चर, चीनकै ह्वाजिन सिमेन्ट कम्पनी र भारतको रिलाइन्स सिमेन्टले सिमेन्ट उत्पादनमा डेढ खर्ब र जलविद्युतमा २ चीनले थप २ खर्ब लगानी गर्ने योजनासाथ आएका छन्। नेपालकै सिजी सिमेन्ट उद्योगमा पार्टी टे्रड युनियनले बाधा खडा गरिसकेका छन्, वैदेशिक लगानीलाई पनि यसैगरी युनियनको तगारो हाले भने वैदेशिक लगानी निरुत्साहित पनि हुनसक्छ। राजनीतिले बुद्धि पुर्‍याउने र देशभक्ति देखाउने हो भने वैदेशिक लगानी नीतिमा समर्थन जनाएर पार्टीगत टे्रड युनियन समस्या खडा नगर्ने सामुहिक आश्वासनपत्र जारी गर्नु जरुरी छ।
सत्तालोलुपता, शक्तिको दुरुपयोग र शान्तिको बलात्कार रोकिनै पर्छ। नयाँ नेपाल, लोकतन्त्रको संस्थागत विकास गर्ने हो भने धमिलो राजनीति संग्लिनैपर्छ, अमिलो अनुभूति मिठासमा बदलिनैपर्छ। 
लोकतन्त्रको जतिसुकै झ्याली पिटे पनि भ्लादिमिर पुटिनले राष्ट्रवाद उच्छृंखल हुनसक्दैन भनेर उभिन सफल भएका छन्। चीनका राष्ट्रपति सी जिनपिङ चिनियाँ राष्ट्रनीति लागू गराउने शक्तिशाली व्यक्तिका रुपमा खडा भएका छन्। अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रवाद बलियो पार्न मुसोलिन बन्न तैयार भएका तर्कहरु अगाडि आइसकेका छन्। भीमनिधि तिवारीले लेखेका थिए– शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउँछ। त्यस्तै भ्रष्टहरुको देश बनेको छ नेपाल। भ्रष्टहरुको न राष्ट्रियता हुन्छ, न लोकतन्त्र। हाम्रा नेताहरुमा लोकमैत्री भाव, राम्रो गर्ने चाहना भन्दा नैतिक, अनैतिक जसरी पनि प्रभावशाली हुनखोज्ने प्रवृत्तिमात्र छ। जुन राष्ट्र सखाप पार्ने भाइरस प्रवृत्ति भन्दा हुन्छ।
देश निर्माण गर्न नैतिक शक्तिको आवश्यकता छ। हाम्रा नेताहरुमा अनैतिक शक्ति बढी भयो, जसका कारण राष्ट्रिय जीवनका नसाहरुमा प्रदूषण सञ्चार भइरहेको छ। यो चालाले राष्ट्रिय पुनतार्जगी, पुनर्निर्माण र पुनर्जागरण सम्भव नै छैन। आमजनतालाई साथ लिएर हिड्नुपर्ने, चल्नुपर्ने राजनीति अन्धा समर्थक बोकेर दौडेको छ। यस्तो सत्ताको मदहोसी, मनमौजी दौडले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्छ। चिन्ता आर्थिक विकासको हुनुपर्थ्यो, सत्तामा रम्ने मात्र हुनपुग्यो। नेतालाई कति शक्ति चाहिन्छ, यसको सिमांकन नै भएन। अन्तिम निर्णायक जनता नै हो भन्ने यथार्थ पनि कायम रहेन।
 हाम्रा पार्टीहरु, नेताहरु विश्वकै धनाध्ये र निरंकूशहरुमा दरिन्छन्। र, एमनेष्टी, ट्रान्सपरेन्सी इन्टरनेशनल र विश्व बैंकले समेत भ्रष्टाचारी र अमानवीय शासन चलिरहेको किटान गरिसकेका छन्। यस्ता नेता कसरी नेलशन मण्डेला अथवा लि क्वान यु बनेर राष्ट्रको मुहार फेर्न सक्छन् र?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक