20161221

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाउँदै नेपाली बिचको सामाजिक सद्भाव मेटाउने प्रयास भएको भन्दै वर्तमान राजनीतिक स्थितिप्रति गम्भीर असहमति प्रकट गरे !

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाउँदै नेपाली बिचको सामाजिक सद्भाव मेटाउने प्रयास भएको भन्दै वर्तमान राजनीतिक स्थितिप्रति गम्भीर असहमति प्रकट गरेका छन्। संविधान संशोधन लगायत प्रमुख राजनीतिक मुद्दामा दलहरु विचाजित भएका बेला बुधबार विज्ञप्ती जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले 'तराई, पहाड र हिमालबीचको ऐक्यभाव तोड्दै क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी शब्द भावको दुरुपयोग गरी राष्ट्रलाई कमजोर पार्ने काम भएको' आरोप लगाएका छन्। शाहले विज्ञप्तिमा भनेका छन्- ‘राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य भएको छ।' 'बाह्य शक्तिको अनुचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको र स्थाथी सत्ता र लौकिक सत्ता क्रमश धूमिल पारिएको छ’, विज्ञप्तिमा उल्लेख छ। 

पूर्व राजा ज्ञानेन्द्रद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ :

आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको बलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो। हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल
दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्धि, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एवं कर्तव्य हो। तर वर्तमान अवस्थामा मूल्यमान्यतामा आधारित राजनीति नहुनु, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको छ। दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ। नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ। आज नेपाली बिचको सामाजिक सद्‍भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ। ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनिरहेको छ। निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुन सक्दैनन्। इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हुन सक्दैनन्। माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन। नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रबासी नै हुन्। त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो। त्यो नै सार्वभौम सत्ताको मुल आधार हो। नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्थित्व र पद्धतिसँग जोडिएको यावत विषय नै लौकिक सत्ता हो। दूर्भाग्यवश आजको सन्दर्भमा बाह्य शक्तिको अनुचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ। अझै पनि जनताका आस्थाहरु ढलेका छैनन्। नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन। सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ। राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पण बाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौँ। समय भट्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल। २०७३ साल पौष ६ गते।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक