20170517

चुनावी तालमेललाई मतदाताले रुचाएनन् !

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रमुख नगरहरूमा गरेको चुनावी तालमेललाई मतदाताले रुचाएनन्। डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस र माओवादी, हुम्लाको ताजाकोट गाउँपालिकामा एमाले र कांग्रेस तथा जुम्लाको तातोपानीमा एमाले र कांग्रेसबीच भएका तालमेलले दलहरूलाई कुनै लाभ मिलेन। जहाँ चुनावी तालमेल गरियो, त्यहाँ दलहरूले पराजय बेहोर्नुपर्‍यो। डोल्पाको ठूलीभेरी नगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारबीच तालमेल भयो। तर दुवै दलबीच तालमेल भए पनि मतदाताले नगरप्रमुखका कांग्रेस उम्मेदवार सुवर्ण बुढा र उपप्रमुखका माओवादी उम्मेदवार लक्ष्मीचन्द्रा कार्कीलाई भोट दिएनन्। एमालेका नगर प्रमुखका उम्मेदवार गणेशबहादुर शाहीले त्यहाँ विजय हात पारे। हुम्लाको ताजाकोट गाउँपालिकामा एमालेले प्रमुख लिने र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिने सहमति भयो। कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रलाई चुनौति दिए पनि। तर ताजाकोटमा माओवादी केन्द्रका उम्मेदवार बागदल मल्ल विजयी भए। प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच भरतपुुर र पोखरा लेखनाथ महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, थाहा, नीलकण्ठलगायतका नगरपालिकामा चुनावी तालमेल भएको छ। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच काठमाडौँ, ललितपुरलगायतका महानगरपालिकामा तालमेल गरिएको छ। भरतपुर महानगरमा कांग्रेसका उम्मेदवार छैनन्, तर मतदाताले कांग्रेसको चुनाव चिह्न रूखमा मत दिएका छन्। काठमाडौँ महानगरमा एमालेका उम्मेदवारलाई नगर प्रमुख र राप्रपाका उम्मेदवारलाई नगर उपप्रमुखमा सहयोग गर्ने दुवै दलको सहमतिलाई मतदाताले लत्याएका छन्। महानगर उपप्रमुखको पदमा राप्रपाका चुनाव चिह्न गाई र उम्मेदवारी नै नदिएको एमालेको चुनाव चिह्नमा मत
खासाएर सयौँ मत बदर भएका छन्। एमाले र राप्रपाको चुनावी तालमेललाई ललितपुर महानगरका मतादाताले महानगर उपप्रमुखमा मत दिएर असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेसको संगठन तुलनात्मक रूपमा कमजोर रहेको दोलखा, धादिङ र मकवानपुरमा कांग्रेस–माओवादीको गठबन्धनले समेत आशातीत सफलता पाएको देखिएन। ‘दलहरूले आआफ्नो एजेण्डा बोकेर मतदाताको विश्वास जित्न सक्नुपर्दथ्यो तर भएन’, कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा भन्छन्, ‘म व्यक्तिगत रूपमा चुनावी तामेलको पक्षमा छैन। मतदाताले पनि चुनावी तालमेललाई रुचाएको पाइएन।’ राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल दलहरूबीच भएको चुनावी तालमेलले चुनावी परिणामलाई कुनै फरक नपार्ने बताउँछन। ‘राजनीतिक दलको दर्शन, क्रियाकलाप र उनीहरूको विगतको योगदान र लोकप्रियताको आधारमा मतदाताले भोट दिने हुन्’, बराल भन्छन्, ‘चुनावी तालमेल गर्दैमा एउटा दलप्रति आस्था राख्नेले अर्को दललाई भोट दिँदैनन्।’ राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले चुनावी तालमेल एमालेसँग गरेर पार्टीलाई राजनीतिक लाभ नभएको बताए। ‘एमाले चुनावी समीकरण गर्न विश्वासिलो पार्टी रहेनछ', श्रेष्ठ भन्छन्, 'ललितपुर महानगरमा उपप्रमुख पदमा खसेको मत हेर्ने हो भने यही पुष्टि हुन्छ, हामी यसको समीक्षा गर्छौं।’ जनताले स्पष्ट, मौलिक सिद्धान्त र लक्ष्य बोकेको राप्रपालाई एक्लै लडोस् भन्ने सन्देश दिएको श्रेष्ठले बताए। उनी भन्छन्, ‘चुनावी समीकरण र तालमेललाई जनताले सम्झौताको रूपमा बुझे।’ कांग्रेसको नेतृत्वले माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर जीत हासिल गर्ने उद्देश्य राखे पनि कांग्रेसका शुभेच्छुकले माओवादीलाई भोट हाल्दैनौँ भन्ने सन्देश स्थानीय तहको पहिलो निर्वाचनले दिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन। उनले चुनावी समीकरणप्रति नेतृत्वको वफादारीलाई कांग्रेसका स्थानीय कार्यकर्ता, शुभेच्छुक र समर्थकले अस्वाभाविक भन्दै अस्वीकार गरेको निष्कर्ष निकाले। ‘भरतपुरको हकमा पार्टी नेतृत्वले माओवादी केन्द्रसँग तालमेल गर्ने निर्णय गरे पनि स्थानीय कार्यकर्ता र शुभेच्छुकले ठाडै अस्वीकार गरे’, केन्द्रीय सदस्य पौडेलले भने, ‘कांग्रेसको संगठन एकदमै राम्रो भएको भरतपुर महानगरमा माओवादीलाई प्रमुख दिएर नेतृत्वले गम्भीर भूल गर्‍यो।’ ‘विगतमा माओवादीका कार्यकर्ताबाट सबैभन्दा धेरै याताना र दु:ख कांग्रेसकै कार्यकर्ता र शुभेच्छुकले भोगेका रहेछन्। माओवादीले जनयुद्धको बेला कुँडेको दुध र खोरको भाले लैजाने, चन्दा माग्ने र यातना दिने गरेका रहेछन्', पौडेल भन्छन्, 'त्यसैले कांग्रेसका शुभचिन्तकले माओवादीलाई भोट हाल्न सकेनन्।’ थाहा खबरका लिलाराज खनाल अगाडि लेख्छन - उनले सत्तासँग आफूहरूलाई साट्न खोजेको भन्दै मतदाताले असन्तुष्टि मतदानमार्फत व्यक्त गरेको बताए। पौडेलले नेतृत्वले राष्ट्रिय राजनीतिमा गरेको सहमति र समीकरण स्थानीय तहका शुभचिन्तकले पनि मान्छन् भनेर बनाएको सोचाइ नै गलत भएको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक