20190305

पहाडका भित्तामा र तराईका खेतमा ‘सिंहदरबार’ बनाउँदा नयाँ श्री ३ हरू मात्र धनी होलान्, तर राष्ट्र दरिद्र बन्दै जान्छ

युवराज गौतमन्युयोर्क टाइम्सको अभिलेखालयमा नेपालबारे कैँयन् दस्तावेज पाइन्छन्। सन् १९६० डिसेम्बर १६ (२०१७ पुस २ गते शुक्रबार) प्रकाशित अंकमा बिपी कोइरालाको सरकार भंग भएको प्रसंग पहिलो पृष्ठमै छापिएको छ। नेपालमा सञ्चार माध्यम व्यापक नभएको त्यो कालखण्डमा ब्रिटेन, अमेरिका र भारतका सञ्चार माध्यमबाट नेपालबारे थाहा पाउनुपर्ने बाध्यता थियो। अमेरिका र ब्रिटेनका पुराना पत्रपत्रिकामा नेपालबारे प्रकाशित सामग्रीहरू सुरक्षित छन्। ऊ बेलाका कतिपय घटनाक्रम ‘रिठ्ठो नबिराई’ छापिएका छन्।

‘गाउँगाउँमा सिंहदरबार’ भनेपछि ती दरबारमा ‘चन्द्रशमशेरहरू’ हुने नै भए। त्यसको अर्थ हो, “समृद्धि नेपाल, सुखी नेपाली’। श्रुतिमाधुर्यका दृष्टिले मनमोहक छ नारा र मनमोहन लाग्छन्, नारा भट्याउने सारा। पीडा, विषाद्, आँसु, भय, तिरस्कार, अभाव, कष्ट र दुःख सबै हरण गर्ने अचुक ओखती गणतन्त्र नै हो भन्दै गरिएको प्रचार प्रचास वर्षपछि विश्वका धेरै अभिलेखालय (अर्काइभ) भित्र सुरक्षित भेटिनेछन्। राष्ट्र स्वाधीन रहला, नरहला तर अभिलेख रहिरहनेछ। 
 
पहाडका भित्तामा र तराईका खेतमा ‘सिंहदरबार’ बनाउँदा नयाँ श्री ३ हरू मात्र धनी होलान्, तर राष्ट्र दरिद्र बन्दै जान्छ। 
बढाईचढाई कुरा गर्ने स्वभाव (बानी) राजनेता (स्टेटस्म्यान) र सुसंस्कृत व्यक्तिमा हुँदैन। राजनीति, जागिर, व्यापार आदिमा संलग्न ढोँगी वा पाखण्डीमा मात्र त्यो मानसिक रोग देखिन्छ। अंग्रेजीमा ‘ब्लफ’ भनिने अतिवक्ता (अधिवक्ता होइन) प्रवृत्ति आज नेपालमा नियमित आकस्मिकता बनेको छ। हिन्दीका एकजना कविले “बडी बडी बातेँ करके भुलावा देना” एउटा कला हो भन्ने व्यंग्य गरेका छन्। सिंहदरबार आज त्यस्ता ब्लफ मास्टरको केन्द्र बनेको छ। जनतालाई मूर्ख बनाउन गाउँगाउँका नयाँ दरबारहरू पनि अभ्यास गर्र्दैछन्। हनुमानले पर्वत उचालेझैँ पुलहरू उचालेर पानीजहाज छिराउने भन्छन् ब्लफ मास्टरहरू। यस्तै गफले चाल्र्स टेलर, इदी अमिन, बोकासा, सबै बदनाम भए। मोबुतू सेको हुन् वा फर्डिनान्ड मार्कोस, सबै गफाडी ठहरिए। चोरतन्त्र (क्लिप्टोक्रेसी) चलाउने खलनायक भए। सत्तामा छँदा जनताले उनीहरूलाई सुरुसुरुमा धेरै विश्वास पनि गरे। परिवर्तन र सुखानुभूति गराउने महानायक ठाने। जब जनता निद्राबाट ब्युँझिए, तब देश लुटिएको पाए। “नोस्टाजिक फर किङ महेन्द्र” शीर्षकको अंग्रेजी लेखमा आदित्यमान श्रेष्ठ र द्वारिकानाथ ढुंगेलले नेपालीले राजा महेन्द्रलाई धेरै सम्झिने गरेको उल्लेख गरेका छन्। (अक्टोबर ११, २०१७, रिपब्लिका दैनिक)। चीनका राष्ट्रपति सी चिनपिङ आज हिमालयबाट दक्षिणतिर चीनले सडक बनाउने कुरा गरिरहेका छन्। महेन्द्रले पचास वर्ष पहिले नै नेपाललाई चीनले सडकले स्पर्श गर्नुपर्छ भनेका थिए। दक्षिण एसियामा फैलिन्छौ भने सडक बनाऊ भनेका थिए माओलाई। महेन्द्रको कुरा मन पर्‍यो, माओलाई। त्यसपछि धमाधम बन्यो, कोदारी (अरनिको) राजमार्ग।
 
गाउँगाउँमा हजार दरबार पुर्‍याएर राष्ट्र सभ्य, सुसंस्कृत, सुदृढ र स्वावलम्बी हुँदैन। जनतामा राष्ट्रवादको अदम्य भाव, स्वावलम्बन, आत्मसम्मान र विधिको शासनप्रति विश्वास जागृत भएमा राष्ट्र जुरुक्क उठ्छ, इजरायल जस्तै।
महेन्द्र ब्लफ मास्टर थिएनन्। त्यसैले महेन्द्र राजमार्ग (मेची–महाकाली मार्ग), राष्ट्र बैंक, सुशासन र जनकल्याण, भूमिसुधार, विकेन्द्रीकरणलगायत कैँयन् काम समयमै गरेर देखाए। २०१७ सालपछि नेपालमा विदेशीले घरजग्गा किन्न पाएनन्। नत्र आज फिजी बन्थ्यो नेपाल। हामीलाई थाहा छ, फिजीको पचासी प्रतिशत अचल सम्पत्ति (घर, जग्गा) भारतीयका नाममा छ। लोकतन्त्र सिक्किममा पनि छ तर सर्वाधिकार दिल्लीमा छ। विसं १९२४ पछि डिल्लीसिंह बस्नेतको जग्गामा डिल्लीबजार बसेझँै दिल्लीका साहुमहाजनले नेपालका धेरै सहरमा ‘दिल्लीबजार’ बनाउने थिए, महेन्द्रले नागरिकताको व्यवस्था नगरेको भए। पेटीकोटमा पेटी र कोट दुवै हुँदैन। त्यस्तै, आजको लोकतन्त्रमा लोक (जनता) र तन्त्र (पद्धति) छैन। जनताका नाममा ठग्ने काम मात्र भइरहेको छ। बहुमतको निरंकुशता लाद्न खोजिएको छ। सात प्रदेशका मुख्यमन्त्रीले त्यस्तै आरोप लगाइरहेका छन्। जनताका समस्याका बारेमा प्रायः मौन बस्ने तर दलभित्र आआफ्ना मोमो पसल चलाइरहेका ‘प्रमुख प्रतिपक्षी’ नेताहरूले पनि जनतालाई निराश बनाइरहेका छन्। घ्यू बेच्ने र तरबार बेच्नेको कथा बन्दैछ नेपाली राजनीति। यो प्रवञ्चक चरित्र गाउँसम्म फैलिँदै छ। स्याल हुइयाँ बनेको छ, राजनीति। 
सरकारले ‘गर्नैपर्ने’ काम आजको राजनीति भन्दा माक्र्स, गान्धी, हब्स, रुसो, भोल्तेयर, लिङ्कन वा चर्चिलका युगमा फरक थिएन। बहुमत भनेको अल्पमतलाई बुल्डोजरले पेल्ने लाइसेन्स पनि होइन। संसद्मा ५१ प्रतिशत मत पाउनेहरूले ४९ प्रतिशतलाई निरीह बनाउने पद्धति होइन, प्रजातन्त्र। तसर्थ, परम्परावादी शक्तिलाई अपमान गरेर सरकार युरो, डलर, भारु आदिले ‘स्मार्ट’ बन्न सक्दैन। तीन प्रतिशतभन्दा न्यून जनसंख्याले अँगालेको ‘रिलिजन’ (धर्म होइन) कसरी ‘धार्मिक अल्पसंख्यक’ आवरणमा संरक्षित गरियो भन्ने जनताले बुझेका छन्। ओमकार (ॐकार) परिवारमा समेटिएका झन्डै पन्चानब्बे प्रतिशत जनताको आवाज किन दबाइँदै छ, त्यो पनि बुझेका छन्। धर्मनिरपेक्षता भनेको क्रिश्चियनिटी हुर्काउने ‘ह्याचरी’ रहेछ, त्यो पनि बुझेका छन्। त्यस्तै राष्ट्रियता र राष्ट्रिय एकता मास्न ल्याइएको झड्केलो बाबु (संघीयता) स्वीकार गर्न बहुसंख्यक जनता तयार छैनन्। भीडले त आज ‘हाईहाई’ भन्छ, भोलि ‘बाई–बाई’ भन्न सक्छ। राजनीतिज्ञहरू भीडबाट निर्देशित हुने कि नीति र विवेकबाट ? प्रश्न गम्भीर छ।
“गाउँगाउँमा सिंहदरबार” बनाएर घरैपिच्छे श्री ३ महाराज पैदा गर्ने प्रयास भए पनि अराजकता, अनास्था, अव्यवस्था र असुरक्षा बढेको कुरा काठमाडाँैको सिंहदरबारले नै स्वीकार गरेको छ। सुरक्षाको इतिहास हेर्दा हालको २ नं. प्रदेश (लफडा प्रदेश) राणा शासनकालमा पनि बन्दुक, भाला, बर्छा, धनुष, तरबार र बन्चरोको भाषा बोल्थ्यो भन्ने देखिन्छ। विसं १९५० मा सप्तरीमा प्रहरी राखेको, विसं १९७१ सालमा वीरगञ्जमा प्रहरी गोश्वारा बनाइएको र विसं १९५१ मा रौतहटमा जिल्ला पुलिसको व्यवस्था गरिएको देखिन्छ। (राष्ट्रिय अभिलेखालय, निजामती किताबखाना, कमान्डरी किताबखानाको अभिलेख)। सयौँ वर्षपछि पनि कोशी–नारायणी नदीबीचको तराई क्षेत्र अशान्त हुनु र अहिले झन् सुरक्षा चुनौती थपिनु ठट्टाको विषय होइन। खुला सिमाना, नक्कली नागरिकता, रैथाने भन्दा बढी सिमापारिबाट आएर चुनाव लड्ने ‘टुरिस्ट लिडर’, दलहरूको गैरजिम्मेवार प्रवृत्ति जस्ता कारणले त्यहाँ ‘लफडा’ अरु बढ्ने खतरा छ। गणतन्त्र घोषणापछि एकसय नौवटा ‘हतियारधारी समूह’ भएको त्यो क्षेत्रमा ‘राष्ट्र किन चाहियो ?” भन्ने कपुतहरू पैदा भए। सरकारले अराजकतावादीलाई राजनीतिज्ञको बिल्ला लगाइदियो। कतिपय मानव अधिकारवादी (?) ती अपराधीलाई उकास्दै हिँडे। यसरी उकास्नेहरू झन् ठूला राष्ट्रघाती हुन्।
काठमाडौँको प्राचीन इतिहाससँग गाँसिएको इन्द्रजात्रासँग कैँयन् रोचक प्रसंग गाँसिएका छन्। इन्द्रजात्रामा धर्म–संस्कृतिप्रेमी सम्पूर्ण नेवार समुदाय शुभकामना आदान–प्रदान गर्दै रमाउँछन्। रथ तान्ने क्रममा बालकदेखि वृद्धसम्म रमाइरहेका हुन्छन्। जात्राको साँझ एउटा कुकुरले अरु कुकुरसँग भनेछ “आज खुबै थाकियो, रथ तानेर।” भीडको अघिअघि हिँड्ने कुकुरलाई रथ आफँैले तानिरहेको छु भन्ने भ्रम परेछ। नेपालमा पनि राम्रा कामको जस आफूले लिने र असफलताको दोष सुरक्षा क्षेत्रलाई थोपर्ने प्रवृत्ति बढ्दै गएको छ। भनिन्छ, रुख जराबाट कुहिन्छ, राज्यव्यवस्था टाउकोबाट कुहिन थाल्छ। त्यसैले, राजनीति मात्र होइन, अर्थव्यवस्था, कूटनीति, गृहप्रशासन, निजामती लगायतका क्षेत्र माथिबाटै बिग्रँदै गएको देखिन्छ। अर्बाैं रुपियाँको आर्थिक क्षति, सत्र हजार आठ सय जनाभन्दा धेरैको हत्या (शान्ति मन्त्रालयको तथ्यांक) र लाखौँ जनताको बिजोक बनाउने पीडक दल आज सत्तामा छ। उनीहरूको आदेश शान्तिसुरक्षा र राष्ट्रिय सुरक्षाका कोटवाल, उमराव, फौजदार, माइन्या, द्वारे आदिले मान्नुपर्ने बाध्यता छ। प्रहरीले जघन्य अपराधी ठहर्‍याएर अदालतमा मुद्दा चलिरहेका व्यक्तिलाई संसद्मै अभिनन्दन गरिन्छ। ‘असल चरित्र’ भएको कैदी भन्दै अपराधीहरूलाई क्षमादान दिइन्छ। ६४ वटा बैंक लुट्ने सरदारहरूले विधिको शासनबारे दिएको प्रवचन जनताले सुन्नुपरेको छ। राष्ट्रिय सुरक्षा नीति बनाउँदा सेनालाई किनाराका साक्षी बनाउने र फौजदारी– देवानी संहिताको नाममा मौलिक हकमाथि हमला गर्नेहरूबाट राष्ट्र र जनताको सुरक्षा हुन्छ ?
राष्ट्रनिर्माता पृथ्वीनाराण शाहले राष्ट्रको सुदूर भविष्यबारे चिन्ता व्यक्त गर्दै नुवाकोट दरबारको राजसभामा सारगर्भित प्रवचन दिएका थिए। त्यसलाई हामी दिव्य–उपदेश भन्छौँ। त्यसमा उनले भनेका छन्– “राजा राम शाहले बाँध्याको थिति पनि हेरी सक्या, राजा जयस्थिति मल्लले बाँध्याका थिति पनि हेरी सक्या, म पनि यस्ता बन्देजको बाह्र हजारको थिति बाँधि जाला भन्या अभिलाषा थियो।” आज पुराना कुरा मास्ने र शत्रुसँग कुम जोडेर हाँस्ने प्रवृत्ति बढ्दै छ। थिति बाँध्नु त कता हो कता ? 
भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनकै अंगरक्षकहरूले घरमै मारे। कोही पनि सुरक्षित छैनन् भन्ने सन्देश दियो, त्यो घटनाले। ३१ अक्टोबर १९८४ (२०४१ कात्तिक १५ गते बुधबार) बिहान दश बजेतिर भएको सो हत्याकाण्डपछि दिल्लीलगायत कैँयन् सहरमा हजारौँ सिख धर्मावलम्बी मारिए। ‘सिख अंगरक्षकले गान्धीको हत्या गरे’ भन्ने खबर बिबिसी रेडियोको हिन्दी सेवाबाट फैलिएपछि गाउँसम्म हत्याको लहर फैलियो। त्यसबेला काठमाडौँको एउटा साप्ताहिक पत्रिकामा कार्यरत यो पंक्तिकारलाई सम्झना छ, सिमानाका सहरबाट सुरक्षित ठाउँ खोज्दै हजारौँ पंजाबी (सिख) नेपाल पसेका थिए। कैँयन् महिनापछि मात्र उनीहरू भारत फर्किए। वीरगञ्जमा केही सिखले पंक्तिकारलाई भनेका थिए, “नेपालमा राजा छन्। शान्तिसुरक्षा राम्रो छ। त्यसैले ज्यान बचाउन हामी यहाँ आएका हौँ।”
भारतमा मात्र होइन, बंगलादेशमा गृहयुद्ध हुँदा पनि हजारौँ हिन्दु बंगाली झापामा शरणार्थी भएर आए। मेघालय, नागाल्यान्ड, मणिपुर आदि राज्यका नेपाली भाषीहरू नेपालमा सुरक्षा छ भन्दै फर्किएका थिए, उता अशान्ति भएपछि। बर्मामा बस्न नसकेपछि नेपाल आए त्यहाँका हजाराँै नेपाली भाषी। राष्ट्रमा सुशासन, सुरक्षा, शान्ति र सुव्यवस्था छ भने सबैले पत्याउँछन्। विश्वास गर्छन्। आज हामीले सबैतिरबाट विश्वास गुमाइरहेका छौँ।
कन्फ्युसियसले राजकुमार शिष्यहरूलाई दीक्षान्त समारोहमा भनेका थिए, “भविष्यमा तिमीहरू नै राजा बन्छौ। कथंकदाचित देशमा अनिकाल भएमा जनताले कन्दमुल खाएर पनि देश बचाउन सहयोग गर्नेछन्। राम्रा हतियार भएनन् भने बाँसका भाला, ढुंगा आदि प्रयोग गरेर पनि शत्रुलाई धपाउन सकिन्छ। तर जब शासकले जनताको विश्वास गुमाउँछ, त्यो देश कमजोर, पराजित र धराशयी बन्छ।” नेपालमा राजनीतिज्ञ, राजनीति र राजनीतिक प्रणालीले नै विश्वास गुमाइरहेको अवस्थाले राष्ट्रकै भविष्यप्रति प्रश्नहरू उब्जिएका छन्। गाउँगाउँमा हजार दरबार पुर्‍याएर राष्ट्र सभ्य, सुसंस्कृत, सुदृढ र स्वावलम्बी हुँदैन। जनतामा राष्ट्रवादको अदम्य भाव, स्वावलम्बन, आत्मसम्मान र विधिको शासनप्रति विश्वास जागृत भएमा राष्ट्र जुरुक्क उठ्छ, इजरायल जस्तै। पहाडका भित्तामा र तराईका खेतमा ‘सिंहदरबार’ बनाउँदा नयाँ श्री ३ हरू मात्र धनी होलान्, तर राष्ट्र दरिद्र बन्दै जान्छ।  - श्रोत: नागरिक 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक