20201011

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दलीबाट शनिबार साँझ सम्बोधन

 अमेरिका / संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दलीबाट शनिबार साँझ सम्बोधन गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उहाँबाट कोरोना भाइरस सङ्कमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोना भाइरस सङ्कमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोराना भाइरसका लक्षणहरु नदेखिएको र उहाँ पूर्ण स्वस्थ रहेको बताउनुभएको छ ।

अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोराना भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ । राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यंज्ञ गर्दै आउनु भएको छ ।

ह्वाइट हाउसको शनिबार आयोजित सार्वजनिक समारोहमा पनि राष्ट्रपति ट्रम्पले मास्क लगाउनु भएन । तर उहाँका वरिपरि अरु व्यक्ति थिएनन् । कोरोना उपचार पछि उहाँ गत सोमबार ह्वाइट हाउस फर्कनु भएको थियो ।

राष्ट्रिय मत सर्वेक्षणमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि देखिनु भएका राष्ट्रपति ट्रम्पले अब विभिन्न राज्यमा चुनावी सभाहरुमा सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतिका लागि चुनाव हुँदैछ ।

राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा सम्बोधन गरी मंगलबार र बुधबार क्रमशः पेन्सिलभेनिया र आयोवा राज्यमा चुनावी सभामा सम्बोधन गर्नु हुनेछ ।

ह्वाइट हाउसको सम्बोधनमा उहाँ निकै आत्मबलका साथ बोल्नु भएको थियो । उहाँले विगतमा झैं विपक्षी डेमोक्रेटमाथि “समाजवादी” र “वामपन्थी” एजेन्डा बोकेको आरोप लगाउनु भएको थियो । आफूले कानुनी शासन र अर्थतन्त्रलाई सही बाटोमा ल्याउन निरन्तर कार्य गरिरहेको दाबी गर्नु भएको थियो ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक