20201202

निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरिएका रामचन्द्र पौडेल ३ घन्टा पछि रिहा !


Updated..... नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनु भएको छ । निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ पर्नुभएको नेता पौडेललाई ३ घन्टा पछि साँझ रिहा गरिएको हो ।  पौडेलसँगै पक्राउ पर्नुभएको काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गर्नु भएको थियो । देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गर्नु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्नसमेत माग गर्नु भएको थियो । व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुग्नुभएको पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाउनु भयो । आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ थियो । यस अघि पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन भएको थियो । काङ्ग्रेसले सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो ।

***

 तनहुँको दमौलीमा  प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो ।

बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत काङ्ग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई उक्त ठाउँबाट सुरक्षित रुपमा प्रहरी कार्यालयभित्र ल्याएर राखेको छ । 

पूर्वाधार निर्माण कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै आजै बिहान राष्ट्रिय युवा सङ्घले विरोधको कार्यक्रम गरेको थियो । लगत्तै झडप हुन सक्ने स्थितिलाई ध्यानमा राखी  जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक