20201206

नेकपा भित्रको बिबाद झनै बल्झिँदै, ओलीको अर्को लेटर बम यसरी भयो बिस्फोट

  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्ताव औपचारिक बैठकमा छलफल गर्न योग्य नभएको हुनाले स्थायी कमिटी बैठकमा आफु उपस्थित नहुने बताउनुभएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजदेखि काठमाडौँमा सुरू भएको स्थायी कमिटी बैठकलाई एक पत्र लेख्नुहुँदै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको प्रस्ताव माथि छलफल हुने बैठकमा आफु उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको हो ।

पार्टीको आन्तरिक समस्या सामाधान गर्ने एकल कार्यसूचीका साथ सुरू भएको बैठकको सुरूवातमा उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोख्रेलले प्रधानमन्त्री ओलीको पत्र वाचन गरी स्थायी कमिटी बैठकलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको पत्रमा स्थायी कमिटीको सर्वसम्मत निर्णय तथा पार्टीको स्थापित परम्परा विपरित अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावले पार्टी भित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर शत्रुतापूर्ण अन्तरविरोधमा रूपान्तरण गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीलाई सहज र स्वास्थ वातावरणमा फर्काउन अध्यक्ष प्रचण्डको प्रस्ताव निःशर्त फिर्ता हुनुपर्ने आफ्नो अडान यथावत रहेको बताउनुभएको छ ।

स्थायी कमिटीको बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्ने, महाधिवेशन तयारी गर्ने, कोरोना विरूद्धको लडाईलाई प्रभावकारी बनाउने जस्ता विषयलाई कार्यसूची बनाए आफ्नो सक्रिय सहभागिता रहने प्रधानमन्त्री ओलीले पत्र मार्फत स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पत्रमार्फत पार्टी नेतृत्व परिवर्तनका लागि आगामी महाधिवेशन र सरकारको नेतृत्व परिवर्तनका लागि आगामी निर्वाचन पर्खन आग्रह गर्नुहुँदै स्थायी कमिटीले विवेकपूर्ण र सकारात्मक हस्तक्षेपबाट पार्टीलाई निकास दिने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको पत्र पछि बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई केन्द्रमा राखेर समस्या समाधान गर्नेगरी छलफल अगाडि बढाउन आग्रह गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकपछि पत्रकारहरू संग कुरा गर्नुहुँदै नेकपा स्थायी कमिटी सदस्य भिम रावलले स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठकबाट नै पार्टीका सबै समस्याको समाधान खोज्न सकिने बताउनुभएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीको केपी शर्मा ओली उपस्थित नहुनुभए पनि पत्रमार्फत् आफ्ना भनाई राख्नुभएको हुनाले राजनैतिक रूपमा बैठकमा सहभागी हुनुभएको नेता रावलले बताउनुभयो ।

बैठकले दुई अध्यक्षका प्रस्ताव तथा पत्रहरूको अध्ययन गर्न र अनौपचारीक छलफलका लागि ७ दिनको समय दिने निर्णय गरेको छ । जस अनुसार स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने छ ।

यसैगरी आजको बैठकले केन्द्रीय कमिटीको मंसिर २५ गते बस्ने भनिएको बैठक पौष ५ गते सम्मका लागि स्थगित गर्ने पनि निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक