20210122

शान्ति प्रक्रिया भङ्ग हुने धम्की दिए लगत्तै प्रचण्ड र बाबुराम दुबै पुगे उपराष्ट्रपतिकोमा, ओलीले प्रचण्ड र माधव नेपाललाई मुंगेरीलालसँग तुलना गर्दै, काँग्रेस आफ्नो फाईदा मात्र हेर्दै, देश मुडभेड तर्फ उन्मुख हुँदै !

 
आज काठमाडौंँमा देखिएको दृश्य हो यो । आज काठमाडौँमा नेकपाको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्षीय समूहको आमसभा थियो । उनीहरुले ठाउँ ठाउँबाट बसमै बोकेर मानिसहरु काठमाडौँ ल्याएका थिए । उनीहरुले जनता काठमाडौँ ओसारेको तथ्य टेकूदेखि रत्नर्पाकसम्म सडकको देब्रे कर्नरमा पार्किङ गरिएका बसहरुबाट पनि थाहा हुन्थ्यो नै । आज बिहान ११ बजेदेखि काठमाडौं र विशेषगरी रत्नपार्क क्षेत्र वरपर चाहिँ अस्तव्यस्त नै थियो । सिंहदरबार छिर्ने कर्मचारी पनि दश बज्नु अगावै नछिरेका जति अलपत्र परेका थिए । अरु स्कुल, कलेज आदिको त कुरै भएन । 

तर यहाँ उठान गर्न खोजिएको प्रसंग चाहिँ यो होइन । यहाँको प्रसंग सोफाको हो । आज रत्नपार्कलाई केन्द्रबिन्दुमा राखेर भृकुटीमण्डप नजिक पारेर गरिएको आमसभामा नेताहरुले प्रयोग गरेको सोफाको हो । 

सभा सडकमै थियो । जनता पनि सडकै थिए । दशौँ हजारका संख्यामा उपस्थित नागरिक सडकमै बसेका थिए । उनीहरुले चिसो भूइँमा बसेरै नेताका कुरा सुनेका थिए । आखिर जनताको बस्ने ठाउँ सडक न हो । अघिपछि त नेताले जनतालाई सडक पुर्याएका छन् भने आन्दोलनका बेलामा झन् कुरै भएन । जनता सडकै हुने हुन् । 

अर्काे एक अमिल्दो दृश्य पनि यही आन्दोलनमा शुक्रबार देखिएको थियो– नेता सोफामा बसेको । त्यसो त नेताको जात सोफामै बस्ने हो । हाम्रोजस्तो गरिब देशमा यो झन् बढी लागू हुन्छ । किनभने हाम्रो देशका नेतालाई कुर्सी अर्थात् सोफा मोह अरुतिर भन्दा बढी नै छ । उनीहरु प्रायः कुर्सी नभई बस्न सक्दैनन् । 

तर शुक्रबार भने उनीहरु सोफामा बसेको सुहाएको थिएन, किनभने जनता सडकको चिसो भूइँमा बसेका थिए । जनता भूइँमा बसेका बेला यता नेता भने त्यही सडकमा बडो आकर्षक सोफा राखेर विराजमान भएका थिए । न्युज पोलार का अनुसार तस्विरमै यस्तो अमिल्दो देखिन्छ कि सुकिला मुकिला नेताहरु बडो भुँडी पल्टाएर खुट्टा खापेर सोफामा बसेका छन्, तिनैका तलपट्टी जनता भने चिसो भूइँमा टुसुक्क बसेका छन् । 

त्यति नै बेला जनताले भने एक आर्काेलाई कानेखुशी गर्दै भन्दै थिए– हेर त लोकतन्त्र, गणतन्त्रका नेताहरुलाई कत्ति पनि अप्ठेरो नलागेको ? जनता भूइँमा छन् नेता भने यस्तो सडक आन्दोलनमा पनि सोफामा । यीनको सोफा मोह पनि कति हो ?       

यहाँ मेरो पनि आसय नेता पनि भूइँमै बस्नुपर्छ भन्ने चाहिँ होइन । उनीहरु मञ्चमा बस्नुपर्छ, सबैले सुन्नेगरी बोल्नुपर्छ त्यसैले केहीमा त बस्नै पर्ने होला । तर यसरी अमिल्दोगरी सडकमै सोफा लगेर चाहिँ हड्डी नहँसाएको भए पनि हुन्थ्यो भन्ने चाहिँ मेरो चासो हो । 

 आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजधानीमा बृहत् शक्ति प्रदर्शन र सभालाई सम्बोधन गरेलगत्तै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेका छन् । प्रचण्डसँगै जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न गएको स्रोतले जनाएको छ । उपराष्ट्रपतिसँग प्रचण्ड र बाबुरामको संयुक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनीहरु तीनैजना माओवादी जनयुद्धकालका मुख्य नेता हुन् । यसअघि पनि उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल भएको सुरक्षा स्रोतले जनाएको छ । उपराष्ट्रपतिसँग करिव आधा घण्टा छलफल गरेर प्रचण्ड र बाबुराम लैनचौरबाट बाहिरिएको सुरक्षा स्रोतले जनाएको छ । ‘उहाँहरु २५ मिनेट जति बसेर बाहिरिनुभयो’ स्रोतले भन्यो । पछिल्लो समय बाबुराम भट्टराईले प्रचण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् । शान्ति प्रक्रिया डिरेल हुन सक्ने भनेर प्रचण्डले भाषण गरे लगत्तै दुवै नेता उपराष्ट्रपतिसँग भेट्न जानुले उनीहरु सहकार्यको दिशामा अघि बढेको अनुमान गर्न थालिएको छ ।

यस अघि विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधवपक्षीय फग्लेटोले आज राजधानीमा आफ्नो शक्तिजाँच गर्यो । एक लाख जनता उराल्ने दावी गरेका सो पार्टीका नेताहरुले यो प्रदर्शनलाई प्रतिष्ठाको विषय बनाएका थिए । साथै, नेताहरुले नयाँ सन्देश केही दिन्छन् कि भन्ने कौतुहल कार्यकर्ता पङ्ती र आम सर्वसधारणमा थियो ।

दावी गरिएजस्तो एक लाख जनता सडकमा नआए पनि आजको प्रदर्शनमा भएको सहभागीता प्रचण्ड–माधव समूहका लागि उत्साहजनक नै मान्नुपर्छ । सभाका लागि अघिल्लै दिनदेखि विभिन्न जिल्लाबाट कार्यकर्ता र शुभचिन्तकहरु ओसारिएका थिए ।

सभास्थल खचाखच नै थियो । तर, सबैभन्दा खट्केको कुरा चाहिँ नेताहरु आफ्नो भाषणमा केपी ओलीलाई गाली गर्नमै समय खर्चिए । पार्टीका कार्यकर्ता र जनतालाई नयाँ सन्देश केही दिन सकेनन् । गालीमा पनि नयाँपन केही थिएन । उही भष्मासुर, तानाशाह, भगौडा, गणतन्त्र–विरोधी जस्ता पुराना उपमाले नै उनीहरुले ओलीलाई सिंगारे, जुन शब्द सुन्दासुन्दा जनताका कान पाकिसकेका छन् ।

सभामा चार जनालाई मात्र बोल्न दिइएको थियो । उनीहरुबीच ओलीलाई कडा शब्दमा गाली गर्ने प्रतिस्पर्धाजस्तै चल्यो । सुरुमा बोलेका घनश्याम भुषालले ओलीलाई घुँडा टेकाइछाड्ने उद्घोष गरे । ओलीले बनाएको ‘साइबर सेना’ लाई साइबर स्यालको संज्ञा दिँदै उनले भने, ‘ओलीसँग अब साइबर स्याल र सेटिङवाला मान्छे मात्र बाँकी छन् ।’

भुषालपछि पालो आयो झलनाथ खनालको । उनी आफ्नै शैलीमा पेश भए । केपी ओलीलाई भगौडाको संज्ञा दिँदै खनालले भने, ‘केपीओली यो पार्टीका भगौडा हुन् । उनी अध्यक्ष हुनै लायक रहेनछन् ।’ खनालले ओलीको प्रतिगमन नसच्चिएसम्म टाउकोमा कफन बाँधेर सडकमा बस्ने हुँकार गरे ।

पार्टीका दुई अध्यक्षमध्ये एक, जो अहिले पहिलो वरियताको भनिएको छ, माधव नेपालले प्रचण्डभन्दा अगाडि बोले । उनले केपी ओलीलाई जेल हाल्ने कुरा गरे । सच्चिएर आएदेखि माफी दिन सकिने पनि बताए ।

नेपालले भने, ‘हामीले ओलीलाई पार्टी सदस्यबाट हटाउन स्पष्टिकरण सोधेका छौं । म त सुर्खेतबाट भर्खरै आएको । स्पष्टिकरणको जवाफ आयो कि, गल्ति स्वीकार गरे कि, माफी नै पो मागे कि ? मैले बुझ्न पाएको छैन । यदि सच्चिएर आउँछन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी दिउँला ।’

अन्त्यमा बोलेका प्रचण्डमा सबैको ध्यान केन्द्रित थियो । उनले भाषण गर्ने पालो आउँदा लामो हुटिङ पनि भयो । प्रचण्डले एउटा नयाँ कुरा बोले । अदालतलाई घुमाउरो चेतावनी दिए उनले । यदि ओलीको कदमलाई अदालतले सही ठहर्याएमा शान्ति प्रक्रिया नै डिरेल हुन सक्ने प्रचण्डको चेतावनी थियो । नेपाल प्रेस लेख्छ - हुन त उनले अदालतमाथि स्पष्ट धम्कीपूर्ण भाषण प्रयोग गर्ने जस्तो संकेत देखाएका थिए, तर अलि सम्हालिए ।

प्रचण्डले भने, ‘यो देशमा फेरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिनँ । तर, केपी ओलीको स्वेच्छाचारी कदमलाई सतही ठहर्याउने काम भयो भने… शान्तिप्रक्रियामा डिरेल हुन सक्छ ।’

प्रचण्डले ओलीलाई बेलैमा तह लगाउन नसकेको भन्दै आत्मालोचना गरे । त्यसो त प्रचण्डका प्राय भाषण आत्मालोचनाबिना पूरा पनि हुँदैनन् । अनि, ओलीमाथि सारा आक्रमण गरिसकेपछि उनले यो पनि भने, ‘ नागरीक समाजका अगुवा,  पत्रकार र सम्पादहरुले ओलीलाई गालीमात्र नगरी आफ्नो कमजोरी पनि मुल्याङ्कन गर्न मलाई सुझाव दिनुभएको छ, त्यसैले म आज आत्मालोचित पनि हुन चाहन्छु ।’

समग्रमा नेताहरुको भाषण ओलीलाई अतिरिक्त शक्तिशाली देखाउने खालको थियो । ‘राजा महाराजाको श्रीपेच झिकेर लात्ताले हानेको तर ओलीलाई तह लगाउन नसकिएको’ प्रचण्डको अभिव्यक्ति कार्यकर्तालाई उत्साहित पार्नेभन्दा दिक्क पार्ने खालको थियो । प्रचण्डले अदालतबाट विघटनको विपक्षमा निर्णय नआए शान्ति प्रक्रिया ‘डिरेल’ हुने चिन्ता व्यक्त गर्दै जनतामा नयाँ आशंका जन्माइदिएका छन् ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललाई हिन्दी फिल्मको पात्र मुंगेरीलालसँग तुलना गर्दै दुई नेताले आफ्नो र परिवारको बाहेक अरुको बारेमा कहिल्यै नसोचेको आरोप लगाएका छन् ।

काठमाडौंमा शुक्रवार आयोजित पेशागत संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कार्यकर्तालाई ‘मुंगेरीलालके हँसिन सपने’ नामको पूरानो हिन्दी फिल्म युट्युवमा खोजेर हेर्न र प्रचण्ड माधवसँग तुलना गर्न सुझाव दिए ।

ओलीले भने- ‘मुंगेरीलालके हँसिन सपने’ भन्ने फिल्ममा एउटा पात्र थियो । यहाँ त एउटा होइन दुईटा मुंगेरीलाल छन् । मुंगेरीलालले आफ्नो लागिमात्र अनौठा अनौठा सपना देख्छ । हाम्रा मुंगेरीलालहरु पनि जनताको लागि कहिल्यै सपना देख्दैनन् । खाली म र मेरो परिवार, मेरा छोरी ज्वाइँ भन्नेमात्र सपना देख्छन् ।

ओलीले प्रतिनिसभा पुनःस्थापनाको प्रावधान संविधानमा नरहेको भन्दै प्रचण्ड माधवले चाहदैनमा नहुने बताए । उनले वकिलहरुले अदालतमा गफ फिट्ने काम गरे पनि त्यसको अर्थ नरहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्ष बाहिरिएपछि नेकपा अझ अनुकुल परिस्थितिमा पुगेको र मुंगेरीलालहरूको सपना पूरा नहुने बताए ।

यता नेकपाका दुबै गुटको वाक युद्ध चलिरहेका बेला काँग्रेस भने फाईदाको खेल तिर लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले वागमती प्रदेशमा जसले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ उसैलाई सहयोग गर्ने बताएका छन् । 

नेकपाको प्रचण्ड माधव पक्षले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेसको धारणा तय गर्न आफ्नै निवास बूढानीलकण्ठमा बसेको अनौपचारिक बैठकमा देउवाले जुन पक्षले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ उसैलाई साथ दिने बताएका हुन् ।

बैठकमा सहभागी एक नेताले नेपालप्रेससँग भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेल सहित वागमतीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको परामर्श बैठक हो । शुरुमै सभापतिले जसले मुख्यमन्त्री हामीलाई दिन्छ उसैलाई सघाउने हो भन्नुभयो तर यो निर्णय नै चाहिँ होइन ।’

उनका अनुसार पहिले अविश्वास प्रस्ताव टेबुल होस त्यसपछि थप छलफल गर्ने सहमति भएको छ । प्रदेशभित्रको अवस्था बुझ्न प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको नेपाल प्रेसले जनाएको छ । बैठकमा रामचन्द्र पौडेल,रामशरण महत,गगन थापा,नविन्द्रराज जोशी लगायतका नेता सहभागी थिए । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक