20210401

प्रचण्डलाई सर्वोच्च अदालतको अर्को झापड, नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकन नहुने फैसला

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासले आज पहिलाकै फैसला सही भएको ठहर गर्दै नेकपा विवादको मुद्दाका पुनरावलोकन अनुमति नदिने आदेश गरेको हो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको पार्टीको भएको र तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) कानूनीरूपमा अलग–अलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरावलोकन गर्न यही फागुन १७ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ सर्वोच्च अदालतमा पुगी पुनरावलोकन निवेदन दर्ता गराउनुभएको थियो ।

पुनरावलोकन निवेदनमा गत फागुन २३ गतेको फैसला सर्वोच्च अदालतको यसअघि प्रतिपादित नजिर र सिद्धान्तको प्रतिकूल गम्भीर त्रुटिपूर्ण रहेको हुँदा पुनरावलोकन हेरी त्रुटिपूर्ण आदेश बदर गरी संविधानअनुसार इन्साफ दिलाइपाऊँ भनिएको थियो ।

उक्त पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्नका लागि अदालतले अनुमति दिनुपर्ने हुन्छ । अदालतले पहिलाको फैसला सही भएको ठहर गर्दै आज पुनरावलोकनका लागि अनुमति नदिने आदेश जारी गरेको हो ।

*******

कविता : "कमरेड"
के छ कमरेड तिम्रो खबर ?
मैले यत्ति के भनेको थिएँ,
उ झनक्क रिसायो
बाक्लै भेटघाट हुन्थ्यो हाम्रो
तँ तँ र म म गर्ने मेरो जिग्री
कोरोनाले गर्दा भेट्न नपाएको जिग्री
फोनमै झोँक्कियो बा !
नराम्रो सँग पड्कियो
पटेका पड्के जसरी !
मलाई बोल्न दिए पो !
उ बोल्दै गयो
पड्किँदै गयो !
कहिल्यै अप्रिय भाषा नबोल्ने उ
आज त पड्किँदै भन्यो -
ए साला !
तँ मेरो शत्रु होस कि साथी ?
साथी होस भने बन्द गर यो कमरेड भन्न
के लुटेरा हुँ म ??
के काम काज केही नभएको,
ठ्याउके, बेरोजगार, जौवा हुँ म ??
किन मलाई कमरेड भनिस् ??
कुनै नेताको फेरो समाएर हिँडेको देखेको छस् ?
कुनै भ्रष्ट नेता, ज्यानमाराको,
आरती उतारेको देखेको छस् ?
किन भनिस् मलाई कमरेड ??
मैले कसको के लुटें ?
कसलाई अपहरण गरें ?
को सँग चन्दा मागें ?
कसलाई मारें ?
के कुरामा ढाँटें ?
कहिले के सपना बाँडें ?
कसको घरबार बिगारें ?
किन भनिस कमरेड ??
ख्याल गर अब देखी,
सबै मान्छे बराबर
सबकुरामा समानता
बर्ग हुँदैन
जात हुँदैन
धर्म हुँदैन
देशको सिमा हुँदैन
संसार एउटै हुन्छ
संसार स्वर्ग हुन्छ
तिमी हामी सब बराबर
देख्यौ फलानाको घर ?
देख्यौ उसको सम्पत्ती ?
त्यो सब खोसेर बाडिन्छ
तिमीलाई पनि भाग लगाइन्छ !
यि र यस्ता बकवास कुरा मैले गरेको छु ??
कहिलै कहीं भनेको छु ??
अनि किन भनिस मलाई कमरेड ??
साथी होस भने नभन कमरेड !
म आफ्नो गरिखाने मान्छे हुँ
खुन र पसिना सिँचेर खान्छु
आफ्नै स्वाभिमानमा बाँच्छु
खबरदार, मलाई कमरेड नभन !
माफ देन यार गल्ती भएछ
लौ मैले माफी मागेँ भन्दै थेँ म
आज तँ सँग म कुरै गर्दिन भन्यो
अनि ढ्याक्क राख्यो फोन उसले ।
आज बिहान बिहानै नराम्रो झड्को आइलाग्यो
कमरेड भनेर जिस्क्याउँदा खड्को आइलाग्यो !
मन मनै कन्दै छु - कति बदनाम भएछ यो कमरेड !!
भो अब भन्दिन कसैलाई कमरेड
मैले गल्ती महसुस गरिसकेको छु ।
- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक