20210516

नेपालमा विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो, ७४ जिल्लामा निषेधाज्ञा जारी, चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर आइपुगे नेपाल

 नेपालमा विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन् । पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा विराज कर्माचार्यले बताउनुभयो । नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् ।

पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ जसका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ । आज मात्रै सङ्क्रमणदर सात हजार ३६८ हुँदा निको हुने दर

भने छ हजार ६४८ रहनाले सकारात्मक रुपमा लिन सकिने स्वास्थ्यविज्ञले बताएका छन् । अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ । आज मात्रै ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लाले भने यही जेठ १३ सम्मका लागि आदेश जारी गरिसकेका छन् । अब निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

यसै बिच चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल आइपुगेको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो ।

कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक