20210528

स्वास्थ्यकर्मीमाथि हातपातको सर्बत्र निन्दा, तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । गए राति दाङको तुलसीपुर ११ उरहरीका ५२ वर्षीय कोरोना संक्रमित बिरामी डिल्ली बहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई हातपात गरेका थिए । घटना लगत्तै बाँके प्रहरीले राति नै तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जना मृतकका भाइहरू मानबहादुर बस्नेत, भरत रावत र छोरा लोकराज रावत विरुद्ध आज ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले बताउनुभयो ।

घटना लगत्तै राति नै सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउने गरी काम थालेको छ । आरोपीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि स्वास्थ्यकर्मीहरुले आन्दोलन स्थगित गरेका छन् ।

बिरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरू सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विनी गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । मृतकका आफन्तले भने चिकित्सक र नर्सको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी छिन् । 


यता राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबारु नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । त्यस्तै महामारीको संकटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न आग्रह गरिएको छ । 

नेपाल चिकित्सक संघले पनि नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ । ‘भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कामबाट बिमुख हुने बाध्यात्मक परिस्थितिको सिर्जना नगर्न समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं’ महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको दिनलाई कालो दिन घोषणा गर्दै शुक्रबार कालोपट्टी बाँधेर काम गर्ने चिकित्सक संघले जनाएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमणजस्तो आपराधिक घटनामा संलग्नलाई कडा कारबाही गर्ने कानुन ल्याउन पनि चिकित्सक संघले माग गरेको छ ।

यसै बिच स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो ।

डाक्टर नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत मर्यादा नभूली काम गरिरहेका स्वास्थ्यकर्मीहरु माथि कार्यस्थलमै सांघातिक हमला हुने खालको क्रियाकलाप दिनानुदिन हुँदै जानु निकै लज्जास्पद भएको बताउनुभएको छ । नेपाल सरकारले तोकेको उपचार निर्देशिका अनुसार उपचार गरिरहेका भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीहरु माथि भए राति भएको दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै स्वास्थ्य मन्त्रालयले यसरी कही कतै कसैले कुनै पनि बहनामा स्वास्थ्यकर्मी माथि गर्ने उच्छिंखल तथा गैह्रकानुनी अमानविय गतिविधिहरुमा शून्य सहनशीलत राखी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फैजदारी कार्यविधि ९संहितां ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धि ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारबाही हुने जनाएको छ । ‘यो महामारीको समयमा सङ्क्रमणको रोकथाम, नियन्त्रण, उपचारका सबै भन्दा भरपर्दा सारथी भनेकै स्वास्थ्यकर्मीहरु भएकाले सबै सरोकारवाला निकार्यहरु मिलेर उहाँहरुलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाइ दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ । कोरोना सङ्क्रमणका कारण बिहीबार राति एक जनाले ज्यान गुमाएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गर्ने लगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक