20210528

चौबीस घण्टामा ९६ जना सङ्क्रमितको मृत्यु हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७०४७

नेपालमा एकैदिन नौ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो । हालसम्म चार लाख २८ हाजर ६७० जना सङ्क्रमित निको भएका छन् ।

सङ्क्रमित निको हुने दर ७८.१ प्रतिशत पुुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ । मन्त्रालयले हाल एक लाख १३ हजार ३९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।

यसै बिच कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अन्य खोपको विकल्प दिन आग्रह गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप विकल्पका रूपमा दिन पत्राचार गरिएको जानकारी दिनुभयो ।

कोभ्याक्सको सूचीमा रहेकामध्ये एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सनको खोप मात्र नेपाललाई उपयुक्त हुने उहाँले बताउनुभयो । यी दुई खोप दुईदेखि आठ डिग्री सेल्सियससम्ममा लगाउन सकिन्छ । खोप सल्लाहकार समितिको मङ्गलबारको बैठकले पहिलो विकल्पमा एस्ट्राजेनेका र अर्कोमा जोन्सन एन्ड जोन्सनलाई सिफारिस गरेको बताउँदै गौतमले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनिकाको फर्मुला प्रयोग गरेर उत्पादन गरेको खोप कोभिसिल्ड खोप लगाएका व्यक्तिलाई समेत लगाउन सकिने बताउनुभयो ।

। नेपालमा ६५ वर्षमाथिका करिब १५ लाखले पहिलो डोज कोभिसिल्ड लगाएका छन् । उनीहरूलाई दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।

कोभिसिल्ड खोप भारतले नदिने भएपछि एस्ट्राजेनिकाको फर्मुलामा बनाइएका अन्य खोप पनि उपयुक्त हुने सुझाव छ । एस्ट्राजेनिका फर्मुलामा भारतबाहेक बेलायत, कोरियामा उक्त खोप उत्पादन हुने गर्दछ । कम विकसित, विकासशील, विकासोन्मुख देशहरूमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप तीन लाख ४८ हजार डोज उपलब्ध गराइसकेको छ ।

कोभ्याक्सले नेपाललाई कुल जनसङ्ख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्सले ९२ देशलाई जनसङ्ख्या हेरेर समानुपातिक रूपमा खोप दिने छ । कोभ्याक्स सुविधाअन्तर्गत कोभिसिल्ड, जोन्सन एन्ड जोन्सन र भाइजरको खोप मात्र सूचीकृत रहेको छ । अन्य स्पुतनिक, भेरोसेललगायतका खोप कोभ्याक्सले आफ्नो सूचीमा राखेको छैन ।

डा. गौतमले भाइजरको खोप माइनस ७० डिग्रीमा राख्नुपर्ने भएकोले नेपालका लागि उक्त खोप सम्भव नहुने धारणा राख्नुभयो । नेपालको खोप अभियानमा फाइजर खोप अनुकूल नहुने सुझाव छ । उहाँका अनुसार अमेरिकी कम्पनी जोन्सनले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन दुईदेखि आठ डिग्री सेल्सियसमा हुने भएकोले उक्त कम्पनीको खोप मात्र नेपालका लागि अनुकूल हुन्छ ।

कोभ्याक्सको सूचीमा रहेको अस्ट्राजेनिकाको कोभिसिल्ड, जोन्सन र फाइजरले उत्पादन गरेको रोज्नुपर्ने भन्दै कोभिसिल्डले खोप नदिने भनेपछि फाइजर कम्पनीको नेपालमा काम नलाग्ने भएकोले जोन्सन एन्ड जोन्सन कम्पनीको खोप सुविधा लिन सकिन्छ । नेपालमा १४ लाख ७५ हजार जनाले कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका छन् । ती व्यक्तिहरू अहिले कोभिसिल्डको दोस्रो मात्राको लागि बसिरहेका छन् ।

कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा १९ लाख २० हजार मात्रा खोप कुल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने खोप पठाउने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धताअनुसार गत फागुन २३ गते पहिलो चरणमा तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो । कोभिसिल्ड उत्पादन गरेको कम्पनी सेरमले कोभ्याक्स कार्यक्रमलाई पनि कोभिसिल्ड दिन नसक्ने जनाएपछि कोभ्याक्सले नेपाललाई अर्को खोप रोज्न

आग्रह गरेको हो । स्वास्थ्य सेवा विभागले कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोर्डना, जोन्सन एन्ड जोन्सन कम्पनीलाई पत्राचार गरेको थियो ।

उता भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ८६ हजार ३६४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ७५ लाख ५५ हजार ४५७ पुगेको छ । शुक्रबार २० लाख ७० हजार ५०८ नमूना परीक्षण गरिएको थियो । हालसम्म ३३ करोड ९० लाख ३९ हजार ८६१ नमूना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा २९ लाख १९ हजार ६९९ जनाले कोरोनाबिरुद्धको खोप लगाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार चौबीस घण्टामा थपिएका सङ्क्रमित गत् अप्रिल १४ यताकै सबैभन्दा कम हो । यस साता दोस्रो पटक भारतमा चौबीस घण्टामा दुई लाखभन्दा कम सङ्क्रमित पुष्टि भएको छ । यसअघि मंगलबार एक लाख ९६ हजार ४२७ सङ्क्रमितको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणबाट हुने मृत्युको संख्या भने अझै स्थिर रहेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ६६० सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म तीन लाख १८ हजार ८९५ जना सङ्क्रमितको मृत्यु भएको हो । भारतमा गत मई चारमा कोरोना सङ्क्रमितको संख्या दुई करोडभन्दा माथि पुगेको थियो । 

यता उपत्यकामा आजबाट प्रहरीले सडकमा चेकजाँच कडा बनाएको छ । कोरोनाको दोस्रो लहरको चेन ब्रेकका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले एक हप्ताका लागि किरान पसल तथा डिपार्टमेन्ट स्टोर बन्ददेखि सवारी आवतजावतमा पनि थप कडाइ गर्ने निर्णय गरेपछि प्रहरीले सडकमा चेक जाँचलाई कडा बनाएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक