20211020

नेपाल जहाँ अनेपेक्षित बर्षा, बाढी पहिरोले जनजिबन अस्तब्यस्त छ, हेरौं पछिल्लो अपडेट :

 
बेमौसमी बर्षा, बाढी, पहिरो, करिब १०० को मृत्‍यु, कैयौं बेपत्ता र घाइते, धान बाली नस्ट, किसानको रुवाबासी

सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने तथा घाइतेहरुको नि:शुल्क उपचार गर्ने लगायत निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति

दिने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले  बैठकले ५ जनासम्म सदस्य भएको परिवारलाई प्रतिपरिवार १५ हजार र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ राहत दिने निर्णय गरेको बताउनुभयो। मन्त्री कार्कीका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले अवरुद्ध सडक, विद्युत् र सञ्चारलाई सुचारु गर्ने निर्णय गरेको छ । मन्त्री कार्कीले भन्नुभयो । सरकारले बाढीका कारण बालीनालीमा भएको क्षतिको विवरण संकलन गरी त्यसका आधारमा राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने तयारी समेत गरेको छ ।

पछिल्लो चार दिनमा परेको बेमौसमी बर्षापछि आएको बाढी पहिरोका कारण १५ वटा जिल्लामा मानवीय क्षति भएको छ । पछिल्लो पटक इलाम, पाँचथर, हुम्ला, धनकुटा, कपिलवस्तुमा मानवीय क्षति भएको हाम्रा सहकर्मीहरुले जनाएका छन् । लगातारको वर्षापछि आएको बाढी र पहिरोमा पुरिएर इलाममा १३ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको छ । फाकफोकथुम–३ आम्चोकको सल्लेरीमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको प्रहरीले जनाएको छ । फाकफोक गाउँपालिका–१ ठिङ्गेपुरमा पहिरोले पुरिंदा २ जनाको मृत्यु भएको हो । माङसेवुङ गाउँपालिका–६ को पञ्चमी बजार नजिक पहिरोमा पुरिएका मध्ये २ जनाको शव भेटिएको छ । सूर्योदय नगरपालिका–३ मा घरमा पहिरो खस्दा २ जनाको ज्यान गएको छ । यस्तै, देउमाई नगरपालिका–२ स्थित लुटिया खोलाले बगाउँदा एक जनाको ज्यान गएको हाम्रा सहकर्मी विप्लव भट्टराईले जनाएका छन् ।

पाँचथरको मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढी पहिरो परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । त्यस्तै, हिजो रातिदेखि आज बिहानसम्म जिल्लामा बाढी र पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरोमा पुरिएर ३ जना हराईरहेको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्लाजुङ कुरुम्वामा–५ मा १५ जनाको मृत्यु भएको छ २ जना बेपत्ता छन् । वडा नम्बर १ र २ का ४ जनाको ज्यान गएको छ भने वडा नम्बर ४ रबिमा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् । यसैगरी वडा नम्वर ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । गएराति पहिरोमा पुरिएर फिदिम नगरपालिका–४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्माय गाउँपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


यसैवीच, हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा पहिरोमा परेर हराईरहेका ६ जनाको शव फेला परेको छ । घरमाथिबाट खसेको पहिरोमा पुरिएर बेपत्ता भएका धनविरे शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका १४, ५ र ३ वर्षीय छोराहरु अलेन्द्र, हुमेश र जसबहादुर शाही मृत अवस्थामा भेटिएका हुन् ।

धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर पुरिँदा घाइते भएका मध्ये एक बालकको मृत्यु भएको छ । घाइते बालक ११ वर्षीय सञ्जाल श्रेष्ठको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै धनकुटामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका—१० धर्मपुरमा घोरही नालाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । अर्का एक महिला बेपत्ता भएकी छन् ।

यसैबीच बझाङको थलारा गाउँपालिका–४ डिक्लामा सम्पर्कविहिन भएका २३ मध्ये २ जना बालकको शव फेला परेको छ । अन्यको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी तथा उद्धारका लागि सेना, प्रहरी, र सशस्त्र प्रहरी खटिएका छन् । पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका १ सय ४८ घरपरिवारका ७ सय जना विस्थापित भएका छन् । ७ घर पुरिएका छन् ।

यस्तै बझाङकै खप्तड छान्ना गाउपालिका ४ र ६ मा २ /२ जनाको मृत्यु भएको छ । त्यहाँ फसेका अन्यको खोजी तथा उद्धारका लागि सेनाको टोली त्यसतर्फ गएको हाम्रा सहकर्मीले जनाएका छन् ।

यसै बिच लगातारको वर्षाले धनुषा–सिरहा जोड्ने कमला नदीको पुल फेरि भाँसिएको छ । हुलाकी सडकको मेरुदण्डको मानिने सो पुलको पश्चिम तर्फबाट तेस्रो नम्बरको पिलर भाँसिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुई फिट जति पिलर भाँसिएको जानकारी प्राप्त भएको छ । यसअघि गत असारमा आएको बाढीले पूर्व तर्फबाट सो पुलको दोस्रो नम्बरको स्पान भाँसिएको थियो । 

९९ प्रतिशत काम सकेर उद्धघाटनको तयारीमा रहेको सो पुल भासिएपछि ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभीलेले केही दिनभित्रै मर्मत गर्ने जनाएको थियो । ४ सय ७० मिटर लामो सो पुल निर्माणका लागि २०६८ सालमा २५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

११ मिटर चौडाइ रहेको कमला पुलमा १२ वटा स्पान छ । लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारण तथा किसानले डुंगा चढेर आवातजावत गर्नुपर्ने बाध्यता छ । 

यता अविरल वर्षा पछि आएको बाढीले मोरङका विभिन्न क्षेत्र डुबानमा परेका छन् । केसलीया, धुधुवा, बस्ता र सिंघीया खोलाको बाढी र सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमा आएको पानीले एक हजार भन्दा बढी घर डुबानमा परेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताउनुभयो । विराटनगर महानगरसहित सीमावर्ति जहदा, धनपालथान गाउँपालिका, रंगेली, सुनबर्षी र रतुवामाई नगरपालिका पनि डुबानमा परेका छन् ।

 यसैबिच स्थानिय खोलाको पानी पसेपछि विराटनगर विमानस्थल समेत बन्द भएको छ । विमानस्थल छिर्ने गेटदेखि, जहाज पार्किङ क्षेत्र, धावनमार्ग सबै क्षेत्र जलमग्न भएपछि आजका लागि तय भएका सबै ११ उडान रोकिएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

 विमानस्थलभित्र सबै स्थानमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था नरहेको खरेलले जानकारी दिनुभयो ।

बैतडीमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–६ मा पहिराले पुरिएर १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की ३ वर्षीय सोम पार्कीको मृत्यु भएको हो । 

वडा नम्बर–६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिएर उनकी २ बुहारी र १ नातीको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

अविरल वर्षाका कारण देशरभका आठ सडक अवरुद्ध भएका छन् । पुष्पलाल राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, राप्ती राजमार्गलगायतका राजमार्गमा बाढी र पहिराका कारण यातायात ठप्प भएको हो ।

पुष्पलाल राजमार्गअन्तर्गत ओखलढुङ्गाको हिलेपानी–जयरामघाट हलेसीखण्ड र सिन्धुली जिल्लाको खुर्कोट–घुर्मी खण्डको अक्करे भिर तथा सोखुखोलामा सडक अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडक मनाङ जिल्लाको विभिन्न खण्डमा अवरुद्ध छ । सो सडक अहिले निगालाघारी, खोत्रो र दानाक्युमा अवरुद्ध रहेको छ ।

बझाङमा खोड्पे–चैनपुर सडक जालिबगर र नारुघाटमा र धनगढी–सहजपुर–वुडर सडक र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक पनि मङ्गलबारदेखि नै अवरुद्ध छ । कालिकोट जिल्लामा सुर्खेत तल्लो डुङगेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक विभिन्न चेनेजमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

यो महिनाको सुरुदेखि भइरहेको वर्षाका कारण जम्मा १२ सडक अवरुद्ध भएकामा अहिले चार सडक खुलाइसकिएको विभागले जनाएको छ । कोसी राजमार्गअन्तर्गत धनुकटामा लेती खोलामा ४० मिटर सडक कटान भएकामा एकातर्फबाट खुलाइएको छ । राप्ती राजमार्गअन्र्तगत सल्यानमा अरिङ्गालेफेदीमा अवरुद्ध भएकामा एकातर्फबाट चालु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकाले पहिरो सफा गरेपछि एकातर्फबाट चल्न थालेको हो । विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमेरे फाँटमा पनि मङगलबार सडक अवरुद्ध भएको थियो । सडक थप खुलाउने काम भइरहेको छ ।

वर्षाकै कारण अवरुद्ध भएको भालुवाङ–लिवाङ रोल्पा माडीचौर दारबोट सडक प्युठानको गनाहा चकचके खण्डमा अवरुद्ध भएकामा अहिले चालु भइसकेको छ ।

यो वर्ष जेठबाट नै वर्षा सुरु भएर राष्ट्रिय राजमार्ग विभिन्न खण्डमा अवरुद्ध भइरहेका छन् । वर्षा सुरु भएपछि २३८ सडक अवरुद्ध भएकामा आठ हाल अवरुद्ध छन् भने बाँकी सञ्चालनमा छन् । आजसम्ममा १३४ आशिंक रूपमा र ९६ दुवैतर्फ चालु रहेको विभागले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक