20211031

प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनमा व्यस्त


प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त हुनुभयो । उहाँसँग आइतबार बिहान संयुक्त अधिराज्य बेलायत सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्ड्रीजका मन्त्री पल सोलीले शिष्टाचार भेटवार्ता गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले नयाँ प्रविधि भित्र्याउनका लागि सहयोग गर्न आग्रह गर्दै ग्रिन र क्लिन उर्जामा लगानी गर्न जोड दिनुभयो ।

मन्त्री सोलीले आफ्नो सरकार र सम्बन्धीत निकायसँग थप छलफल गरेर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलका क्रममा भएका विभिन्न विषयका सन्दर्भमा दुवै पक्षबीच आगामी दिनमा निरन्तरता दिई परिणाममुखी बनाउने सन्दर्भमा कुरा भएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।   

आइतबार नै यहाँस्थित भूतपूर्व गोर्खा सैनिक सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले बेलायती कानूनअनुसारको माग राख्न आग्रह गर्दै उहाँहरूका समस्या समाधानमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो । साथै उहाँले नागरिकताका सम्बन्धमा संविधान संशोधन गर्नुपर्ने भएकाले सबै पार्टीको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो । नेपालमा सहज आवतजावतका लागि हाल अनएराइभल भिसाको व्यवस्था गरिएको उहाँको भनाई थियो । भेटमा भूतपूर्व गोर्खा सङ्गठनका पदाधिकारीहरूले सरकारसँग विभिन्न माग गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री देउवासँग वर्ल्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर तानिया बौम्यानले पनि भेटवार्ता गर्नुभएको थियो । यसै गरी यहाँस्थित नेपाली दूतावासले उहाँको सम्मानमा गरेको दिवाभोजको कार्यक्रममा उहाँले नेपालमा जलवायु परिवर्तनका असरले पारेको प्रभावका सन्दर्भमा नेपालले उठाउने विषयका बारेमा अवगत गराउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा पछिल्लो समयमा जलवायुजन्य विपद्ले पारेको प्रभाव, जलवायुजन्य हानी नोक्सानी, अनुकूलन र न्यूनीकरणलगायत विषय नेपालले धारणा राख्ने बताउनुभएको थियो । सो अवसरमा यहाँस्थित कार्यवाहक नेपाली राजदूत रोशन खनालले उहाँलाई स्वागत गर्नुभएको थियो ।

उहाँ नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार राति यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री देउवा आइतबार उहाँको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको थियो । उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आजै स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछ । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री देउवा शनिबार पनि विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त रहनुभएको थियो । शनिबार उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि र गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, जनसम्पर्क समितिका प्रतिनिधिलगायतले भेट्नुका साथै विभिन्न कार्यक्रम गरेका थिए । शनिबार साँझ उहाँले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृह सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना रहेका छन् । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक