20211004

जुम्लाका भेडा पालक किसानको दशैं यसरी दशा भयो, चट्याङ लागेर ४० भेडा मरे, १५ भेडा घाइते

जुम्ला । दशैको मुखमै भेडा मरेपछि जुम्लाका भेडा पालक किसानको रोजीरोटी खोसिएको छ । सोमबार राती गुठिचौर गाउँपालिकाको पाटनमा चट्याङ लागेर ४० भेडा मरेपछि गुठिचौरका भेडा किसानको रोजीरोटी खोसिएको हो । चट्याङ लागेर गुठिचौर गाउँपालिकाका ४ जना भेडा पालक किसानका ४० भेडा मरेका छन् । भने १५ भेडा घाइते भएका छन् ।

 

गोठचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक वन अन्तर्गतको चिमारा लेक नजिकै डाब परेको चट्याङ लागेर दशै तिहारका लागि विक्री गर्न तयार गरिएका गुठिचौर ४ का किसान नानो भण्डारीका १० वटा, मुन बहादुर भण्डारीका ४ वटा, मुणि प्रसाद अधिकारीका १७ वटा र देवी प्रसाद अधिकारीको ९ वटा गरी ४० भेडा मरेको इलाका प्रहरी कार्यालय गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार चट्याङ लागेर भेडा बाख्रा परेपछि किसानले करिब ६ लाख ५० हजारको घाटा व्यवहोरेका छन् । भने घाइते भएका १५ भेडा पनि मर्ने अवस्थामा रहेको किसान मुणि प्रसाद अधिकारीकाले बताउनुभयो । उहाँले भन्नुभयो,‘भेडा पालेरै खर्च चल्थ्यो । दशै नजिकिएपछि भेडा विक्री गर्ने तयारी थियो । रोजीरोटी नै घुम्यो अब कसरी दशै मनाउने । लुगाफाटो नुन तेल गर्ने आयस्रोत नै गुम्यो ।’

त्यस्तै किसान मुन बहादुर भण्डारी, नानो भण्डारी, देवीप्रसाद अधिकारीले  चट्याङ लागेर भेडा मरेपछि आफ्नो पुर्ख्यौली पेशा नै ध्वस्त, रोजीरोटी नै गुमेपछि स्थानीय सरकारलाई राहतका लागि अपिल गरेका छन् । बिमा पनि नगरेका कारण तत्काल कतैबाट राहत पाउने अवस्था छैन । 

किसान नानो भण्डारीलाई आयआर्जनको स्रोत सबै भेडा मरेपछि कसरी दशै मनाउने भन्ने चिन्ता छ । उनी भन्छन्,‘प्राकृतिक प्रकोप पनि गरिब विपन्नलाई नै आउँछ । दशैकै बेला भेडा मर्नु भेडा पालक किसानका लागि ठुलो क्षति हो । बिमा नहुँदा राहत पाउने अवस्था छैन । कतैबाट सहयोग पाए व्यवसाय पुनर्स्थापना गर्ने सोच छ ।’

यता गुठिचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मरराज गिरीले चट्याङबाट भेडा पालक किसानको पुर्ख्यौली पेशालाई नै ध्वस्त भएकोले आवश्यक राहतका लागि पालिकामा छलफल गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘यस वर्ष जडीबुटी सङ्कलन नहुँदा अधिकांश नागरिकलाई खर्च चलाउन मुस्किल छ । त्यसैमाथि दर्जनौँ भेडा मर्दा किसानको रोजीरोटी गुमेको छ । छलफल गरेर सकिने जति तत्काल राहत दिइने छ ।’

यसका साथै चट्याङ लागेर २०७० सालमा करिब ७ सय, ०७६ मा ३ सय र ०७७ करिब सात सय भेडा बाख्रा मरेका थिए ।  जसबाट पातारासी र गुठिचौर क्षेत्रका भेडा पालक किसानले करोडौँको घाटा व्यवहोरेका थिए । - सागर परियार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक