20220218

एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने : अमेरिका, ‘अमेरिकाले जबर्जस्ती कूटनीति गरिरहेकोछ, चीन त्यसको प्रतिरोध गर्छ’ : चीन

 अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो । अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिंसा

भड्काउने विचार स्वीकार्य रहेको बताएको हो ।‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

यसै बिच एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले उक्त कुरा बताएका हुन् । झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेव्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ गरिरहेको आरोप चीनले लगाएको हो । ‘चीन त्यसको प्रतिरोध गर्छ’ प्रवक्ता पिनको भनाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । पिनले भने, ‘नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीन स्वागत गर्छ तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्छ ।’


नेपालको मित्रवत छिमेकी र विकास साझेदारको नाताले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतालाई निरन्तरता दिने बताउँदै प्रवक्ता पिनले आफ्नो देशको हित र जनताको चाहनालाई देखाउने निर्णय गर्न नेपाललाई साथ दिने समेत बताए । गतसाता मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी फेव्रुअरी २८ भित्र एमसीसी पारित नभए अमेरिकाले नेपाल नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको विवरण सार्वजनिक भएको थियो ।


साथै, सम्झौताको संसदीय अनुमोदन हुन नसके यसमा चिनियाँ हस्तक्षेपको अर्थको रुपमा आफूहरुले बुझ्ने बताएको पनि उल्लेख थियो । गतसाता वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एमसीसीलाई लिएर नेपालमा भैरहेका विवाद पछाडि चीनको हात रहेको हुनसक्ने टिप्पणी गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक