जे भए पनि स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन सिद्धान्तका आधारमा होइन सत्ता, स्वार्थ र शक्तिका आधारमा भइरहेको हुनाले तालमेल के-कस्तो भयो, किन भयो र कसरी भयो भनेर खोजी नीति गर्नुको कुनै अर्थवत्ता देखिँदैन । हिजोका दिनमा कसले कसका बारे के भनिरहेको थियो, को वर्ग शत्रु र को वर्ग मित्रु थियो त्यो पनि कुनै विमर्शको विषय भएन । संविधान नै सकेसम्म मिलाएर र बाँडीचुँडी खानका लागि बनाइएको दस्ताबेज भएपछि राजनीतिक रूपमा छोइछिटो गर्नु स्वाभाविक मानिँदैन ।
सत्ता र शक्तिको खेल :
सत्ता अन्तिम सत्य हो र बन्दुकको नालबाट शक्ति र सत्ता प्राप्त हुन्छ भन्ने साम्यवादी विचारका बाहकहरू, शक्ति र सत्ता दैवी वरदान हो भन्ने
परम्परागत राजावादीहरू, अनि सत्ता र शक्तिको स्रोत जनता हो र जनतालाई केन्द्रमा राख्नुपर्छ भन्ने लोकतन्त्रवादीहरूका बीच सत्ताका लागि तालमेलको धरापभित्र मतदातालाई नै बाबुबराजेको सम्पत्ति जस्तो मानेरभागबण्डा गरिएपछि आदर्श, सिद्धान्त र विचार निर्देशित शासनको अवशान भयो भनेर स्वीकार गर्नुपर्ने हुन्छ ।कार्यकर्ता वा पार्टीमा आबद्ध सदस्यहरू विधिअनुरूप अनुशासनमा रहनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक प्रणालीमा स्थापित दलीय अवधारणा हो । विकसित लोकतन्त्रमा गम्भीर प्रकृतिका मुद्दा वा विषयबाहेक सदस्य पनि पार्टी अनुशासनको बन्दी हुन छाडेको अवस्था छ । मतदातालाई आग्रह गर्न सकिन्छ तर उसको मताधिकारको स्वतन्त्रतालाई भागबण्डाको बन्दी बनाउन सकिँदैन र सम्भव हुँदैन । नेपालमा भइरहेको स्थानीय निर्वाचनको तालमेल वा गठबन्धनले आफ्ना कार्यकर्ता वा सदस्यहरूसँग मात्रै अनुशासनको आग्रह गर्न सक्छ । त्यसरी संगठनमा आबद्ध त्यो स्वीकार नगरेमा विचार लोकतान्त्रिक भए पनि संगठनको मर्यादाभित्र रहेको मानिँदैन ।
पार्टीको निर्णय मान्दिन भन्नेहरूलाई अनुशासनको कारबाही गर्न दलीय अभ्यासले छेक्दैन । तर पार्टी नेतृत्व कति आदर्शमा दृढ छ, कति सिद्धान्तवादी छ, कति विचार र नीति अनुरूप छ र विवेकपूर्णन्याय उसले सदस्यहरूलाई दिइरहेको छ/छैन त्यसको समेत उचित मूल्यांकन गर्ने अधिकार सदस्यहरूमा नै हुन्छ । यदि नेतृत्व निरंकुश, अहंकारी, गैरलोकतान्त्रिक, स्वार्थी, सिद्धान्तविहीन, अन्यायी, व्यभिचारी र विवेकहीन छ भने त्यस समयमा सदस्यहरूले आफ्नो स्वतन्त्रता आम नागरिक सरह प्रयोग गर्न पाउँछन् । कसैले पनि रोक्न र छेक्न सक्दैनन् ।
कुनै पनि सदस्य कसैको बन्दी होइनन् र कामदार पनि होइनन् । सदस्यलाई निर्देशित गर्नुभन्दा पहिले दलको नेतृत्व आफूले आफ्नो मूल्यांकन गर्नैपर्छ । चरित्रवान्, विवेकी, आदर्शवादी, सिद्धान्तनिष्ठ, न्यायी र उदार नेतृत्वले मात्रै निर्देशन दिने नैतिक सामथ्र्य राख्छ । अहिले त्यस्तो नैतिक धरातल भएको नेतृत्व देख्नु दुर्लभ छ ।
विवेक र न्यायको तिलाञ्जलि :
विगत वर्ष सबै राजनीतिक दलका महाधिवेशनहरू सम्पन्न भए तिनमा सबैभन्दा लोकतन्त्रको मियो नेपाली कांग्रेस र वर्तमानमा कांग्रेस समान आफूलाई लोकतन्त्रकाप्रति प्रतिबद्ध दाबी गर्ने नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन र चयन प्रक्रिया हेर्ने हो भने विवेक र न्यायलाई जँगारको बालुवा जस्तो बनाइएको थियो । आफ्नै साथीलाई पराजित गर्न, सकेसम्म नेतृत्वमा आउन नदिन गुट खडा गर्ने, यथास्थान पद, शक्तिको दुरूपयोग गर्ने, धन र डनको भरमार उपयोग गर्ने, अनेक कपटपूर्ण खेलको जालो बुन्दै समर्थ र योग्य सदस्यहरूलाई तलै कित्ताकाट गरी रोक्न गरिएको षड्यन्त्र सबैले अनुभव गरेको विषय थियो ।
अहिले पनि त्यो सूत्र यथावत् छ र सकेसम्म आफ्नो परिवार, नभए चाकरीदार, नभए धन र डनको मददगार त्यसपछि मात्रै आवश्यकता र योग्यताका आधारमा निर्वाचनमा उम्मेदवार तय गर्न लागिएको देखिन्छ । कतिपय स्थानमा राम्रो निर्णय भएको पनि देखिन्छ । त्यो अपवाद हो । न्यायपूर्ण र विवेकपूर्ण दलीय नेतृत्व हुने र आदर्श, सिद्धान्त र विचारका आधारमा दल र राज्य संयन्त्र सञ्चालन गर्ने हो भने स्थानीय निकायदेखि अन्य अवसरहरूमा समेत न्यायपूर्ण विवेकसम्मत मनोनयन हुनुपर्ने थियो । पार्टीको नेतृत्व लिनेहरूले आफू नेता जस्तो रहेर अरू सदस्यलाई अवसर प्रदान गर्ने उदारता देखाउनु जरुरी थियो । तर अधिकांश स्थानमा त्यसो भएको देखिएन । अर्थात् विवेक र न्यायको तिलाञ्जलि हुनपुग्यो ।
वर्तमानको राजनीतिक नेतृत्व आफैं सत्तालाई मात्रै केन्द्रमा राख्ने र शक्तिका लागि जे पनि गर्ने भएपछि विचार, नीति, आदर्श, सिद्धान्त र विचार अवसरवादका औजारमात्रै हुन् भन्ने बुझ्नुपर्ने भएको छ । यसलाई व्यावहारिक राजनीतिको अर्को चरण भन्ने कि अर्को आयाम मान्ने कि यो चौथो धार हो भनेर परिभाषित गर्ने समयमा विमर्श हुनुपर्ने छ ।
विचारवाद भन्दा विपरीतवाद :
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रले अर्को वैचारिक फड्को आफन्तवाद, परिवारवाद, धनवाद र डनवादको सञ्जालमा मारेको छ । सानो ठूलो नेतृत्व, केन्द्र जिल्ला वा पालिका हर क्षेत्रमा देखिएको यो परिवारवादी वृत्त राजारजौटाहरूको लिगेसी जस्तो हुनपुगेको छ । योगदानबाट आफैँ आफ्नो इतिहास निर्माण गर्दै आएकाहरूका विषयमा यस्तो समीक्षा हुनसक्दैन । पिता वा पुर्खा वा पतिका वा पत्नीको योगदानभन्दा आफ्नै योगदानबाट अरू जस्तै संघर्षबाट खारिएर राजनीतिक नेतृत्वमा पुगेका छन्, पुग्न चाहन्छन् तिनीहरूलाई लिगेसीको श्रेणीमा राख्न किमार्थ मिल्दैन । तर, योगदानका नाममा ‘मेरा बाउले मोई पारेका थिए मेरो हात सुँघ त’ भन्ने शैलीको नेतृत्व राजनीतिमा परिवारवादको ज्वलन्त उदाहरण हो ।
अहिले पुर्खा वा पति पत्नीको योगदानको सावा, व्याज र चक्रवृद्धि व्याज समेत जोडेर खानेहरू र खुवाउनेहरू हृवात्त बढेको अवस्था छ नेपाली राजनीतिमा । यो प्रवृत्तिले योगदान दिएका, समग्रमा लोकतान्त्रिक आन्दोलनमा योगदान दिएकाहरू कामदार जस्तो भएर भुइँफुट्टाहरूको अधीनस्थ हुने अवस्था सिर्जना भएको छ ।
भुइँफुट्टा वर्ग र सामन्ती प्रथा :
राजनीतिमा भुइँफुट्टा वर्गको प्रवेशको चर्चा २०३६ मा बीपी कोइरालाले निकै गर्नुभएको थियो । उहाँले बहुदलीय शासन व्यवस्था वा सुधारिएको निर्दलीय व्यवस्था रोज्ने जनमत संग्रहका क्रममा बहुदलका पक्षमा आकर्षित गर्न र सजिलो तरिकाले सम्झाउन यस्तो चर्चा गर्नुभएको थियो । निर्दलीय पञ्चायती सत्ताले देशमा जरोकिलो नभएका भुइँफुट्टा वर्गलाई जन्म दिएको, मलजल गरिरहेको हुनाले त्यसबाट देश र जनतालाई मुक्त गर्न र बँचाउन प्रजातन्त्र जरुरी भएको उहाँको कथन हुने गर्दथ्यो । अहिले बीपी कोइरालाको यो विचार पुनः दोहोरिन लागेको छ ।
भुइँफुट्टाहरू योगदानलाई तमासा बनाउन तल्लीन छन् भने अर्कातिर सामन्ती शैलीको शक्ति र सत्ताका लोभ व्याप्त हुन लागेको छ । आफूलाई परिवर्तनको नायक र स्वयंभू घोषित गर्ने परिवारवादीहरू सामन्ती जरोकिलोलाई घरेलु औषधिमार्फत ब्युँताइरहेका छन् । के परिवर्तनको अर्थ भुइँफुट्टा वर्ग र कसैको पारिवारिक विर्ताको बिछ्यौना हुनुपर्ने हो ? आज यो प्रश्न सान्दर्भिक भएको छ । समकालीन राजनीतिक परिवर्तनमा समान योगदान हुनेहरूको संख्या आज पनि ठूलो छ । तर त्यो संख्यामध्ये अत्यन्त थोरैले मात्रै नेतृत्वको अवसर पाएका छन् ।
निर्दलीय पञ्चायतकाल होस् वा माओवादी सशस्त्र हिंसाकाल अथवा पछिल्लो शाही शासनकाल विसं २०४७ यता बत्तीस वर्षका अवधिमा अनवरत शक्तिमा पुग्ने, समयक्रममा एक वा दुई दशकसम्म अवसरमा पुग्नेहरूको दास वा कमारा जस्तो भएका छन् कमसेकम नब्बे प्रतिशत योद्धाहरू । तिनको रगत पसीनामा यतिखेर हात चुर्लुम्म डुबाउँदै परिवारलाई मात्रै अवसरका आसनमा पुर्याउनेहरू नै सर्प, बिच्छी र भ्यागुतो तालमेल र गठबन्धनमा लागेका छन् ।
जनताका लागि यो तालमेल वा गठबन्धन किमार्थ होइन । आफन्तजनको सुरक्षार्थ यस्तो खेल भइरहेको छ । अन्यथा नेपाली कांग्रेस, माओवादी, माधव नेपालको समाजवादी र उपेन्द्र यादवको समाजवादीबीच जनताको टाउको भाग बण्डा गर्न सहमति हुने थिएन । त्यसैगरी एमालेसँग कमल थापा, परिवार दल वा राप्रपाको तालमेल र गठबन्धन हुने थिएन । केपी ओली र कमल थापाको टाउको जोड्ने रसायन शक्ति र राष्ट्रको स्रोत दोहनको तीव्र इच्छावाहेक अरू केही पनि होइन ।
गठबन्धन यथावत् रहला ?
तर, के यी दलहरू अर्को कुनै विशेष अवसर आयो वा अवसर गुम्ने खतरा देखियो भने यिनीहरूबीचको यो समझदारी, तालमेल वा गठबन्धन यथावत् रहन सक्ला ? एउटा पार्टीको नेतृत्वमा सरकारमा रहँदारहँदै अर्को पार्टीसँग चुनावी गठबन्धन र पार्टी एकता गरेको, आफ्नै पार्टी फुटाएर अर्को पार्टी गठन गरी सरकारमा सामेल भएको अनेक विचित्रका उदाहरण संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासभित्र परिसकेका छन् । एकले अर्कोलाई निमिट्यान्न पार्ने चरित्र दलभित्रको आचरण हुन पुगेको छ । लोकतान्त्रिक दलको नेताहरू अलोकतान्त्रिक संस्कृतिका वाहक भएको हामी हेरिरहेका छौं ।
यसरी निर्माण भएका तालमेल वा गठबन्धनविरुद्ध सशक्त आवाज सार्वजनिक भएको सुनिन्छ । ती आवाज सबैभन्दा चर्को रूपमा नेपाली कांग्रेसबाट प्रतिध्वनित भएका छन् । कांग्रेसका लागि अरू दलसँगको गठबन्धन वा तालमेलबाट प्राप्त हुने सिटसंख्याभन्दा निकै गरुंगो हुनेछ यो आवाज । कांग्रेसका धेरै सदस्यहरू माओवादी यन्त्रणाको सिकार भएका हुन् सशस्त्र हिंसाकालमा । उनीहरूका घाउमा मल्हम नलगाई माओवादीकै उम्मेदवारलाई मतदान गर्न अधिकांश स्थानका कांग्रेस मतदाता तयार देखिँदैनन् । कांग्रेसभित्र उत्पन्न ज्वारभाटा नेतृत्वले अन्याय गरेकोमा वा निरंकुश चरित्र देखाएको भन्नेमा भन्दा पनि माओवादीका पक्षमा मत माग्न पार्टी सदस्यलाई निर्देश दिएको र विपरीत जानेहरूलाई अनुशासनको कारबाही गर्न दिएको चेतावनी वा धम्कीका कारण हो ।
उपेन्द्र यादवसँग डा.बाबुराम भट्टराईको नेतृत्व रहेको र ओली सरकारका समय होली-वाइन प्रकरणका नायक माधवकुमार नेपालको समाजवादी नेतृत्व पनि कांग्रेसका लागि प्रिय छैन । स्थानीय निर्वाचनमा भएको तालमेल र गठबन्धनले माओवादी र नेपालको समाजवादी सबैभन्दा बढी वैचारिक र संगठनात्मक रूपले सवल हुनेछन् भने सबैभन्दा ठूलो क्षति नेपाली कांग्रेसले व्यहोर्नुपर्ने छ । केही स्थानमा पदसंख्या भने कांग्रेसको अवस्य बढ्ने छ तर आफ्नो एकाघरको भाइलाई वनबास पठाएर छिमेकीको छोरा केही छिन् काख लिने आनन्दमात्र यसबाट मिल्नेछ ।
गठबन्धनको अर्को पक्ष एमाले, कमल थापा वा अरू साना दलहरूमा भने थोरै तलमाथि हुनसक्छ । एमालेसंग जोडिएर केही स्थानमा कमल थापाका उम्मेदवार जित्लान वा तालमेल मिले राजेन्द्र लिंगदेनका उम्मेदवारहरू जुट्लान् । एमालेका लागि त्यो जुटाइको खास अर्थ देखिँदैन । शासनारुढ पाँचदलीय गठबन्धन एमालेविरुद्ध केन्द्रित भएको हुनाले उसको शक्ति कमजोर हुने देखिँदैन । संगठनका रूपमा कमजोर भए पनि राजनीतिक रूपमा एमाले सशक्त देखिएको छ ।
सिर्जनाको पुनर्स्थापन र प्रकाशमान :
स्थानीय निर्वाचनले काठ्माडौं महानगरपालिका यसपटक थप चर्चायोग्य बनेको छ । प्रकाशमान सिंहकी सहधर्मिणी सिर्जनाको उम्मेदवारीले एक असल महिलाको राजनीतिमा पुनस्र्थापन भएको देखिए पनि यसबाट स्वयं प्रकाशमान सिंहको भने राजनीतिक भविष्य झन् कमजोर बन्ने निश्चित छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा वर्तमान सभापति देउवाका घोर आलोचक सिंह एकाएक युटर्न भएकोमा काठ्माडौं निकै असन्तुष्ट बनेको थियो । आज पनि देशव्यापी आक्रोश र आलोचना सुनिन्छ । विगत पाँच महिनायता उनले केमा सम्झौता गरे भन्नेमा उठेको शंका अनुरूप सिर्जनाको उम्मेदवारी उत्तर हो भने प्रकाशमान सिंहको राजनीतिक जीवनमा यो निश्चय पनि घातक हुनेछ र राजनीतिक विस्थापन हुँनेछ । सिर्जनाको योगदानको मात्रै मूल्यांकन गर्ने हो भने उनको उम्मेदवारी स्वाभाविक मान्नुपर्ने हुन्छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक