20220516

बुटवल-गोरखपुर प्रसारणलाइनको वैदेशिक लगानी स्वीकृत

 नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल-गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न स्थापना हुने कम्पनीले वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ । भारत सरकारले प्रसारणलाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल-गोरखपुर क्रस बोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।

न्यू बुटवल-गोरखपुर चार सय केभी प्रसारणलाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्र्माण गर्न विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व (इक्विटी) रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ । नेपालतर्फको प्रसारणलाइनको काम भने प्राधिकरणले नै गर्नेछ ।नवलपरासीको सुनवल नगरपालिका-१३ स्थित न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने चार सय केभी डबल सर्किट प्रसारणलाइनको लम्बाई करिब एक सय २० किलोमिटर रहेको छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्ने प्राधिकरणले जनाएको छ । कम्पनीको ५० प्रतिशत इक्विटीले हुन आउने ४६ करोड भारतीय रुपैयाँ अर्थात् ७३ करोड ६० लाख रुपैयाँ भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कम्पनी स्थापनाका लागि प्रबन्धपत्र र नियमावली तयारी अवस्थामा छन्, अब प्राधिकरणले भारतबाट वैदेशिक लगानीको स्वीकृति पाएसँगै कम्पनी स्थापनाको प्रक्रिया अघि बढ्छ ।’

प्राधिकरणका अनुसार नेपाल-भारत ऊर्जा सचिव तथा सहसचिवहरूको संयन्त्रको २७-२८ असोज २०७६ मा सम्पन्न सातौँ बैठकले प्रसारणलाइन निर्माणको लगानी स्वरूपलाई टुंगो लगाएको थियो । अनुमानित लागत करिब चार अर्ब ६२ करोड भारु अर्थात् सात अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइनेछ ।

कार्यकारी निर्देशक घिसिङले प्रसारणलाइन निर्माण गर्न ठेकेदार छनोटका लागि टेन्डर डकुमेन्ट बनाउने काम भइरहेको जानकारी दिँदै तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अघि बढाइएको बताउनुभयो । प्राधिकरण र पावर ग्रिडबीच भदौ २०७८ मा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो । हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर पहिलो अन्तरदेशीय चार सय केभी प्रसारणलाइनभन्दा बुटवल–गोरखपुर प्रसारणलाइनले झण्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्ने प्राधिकरणले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक