20220808

बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’

नेपाल मदर का तर्फबाट पनि हार्दिक बधाई निर्देशक गणेश पाण्डे र को हस्बेन्ड लाई !

 नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलको अन्तिम दिन आइतबार भएको अवार्ड समारोहमा ‘को–हजबेण्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो ।

अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए । उनले भने ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु ।’ आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिवलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार, यसपालि ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका थिए ।

यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । निर्देशक पाण्डेका अनुसार, ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले पनि अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो । विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनौट भइसकेको ‘को–हजबेण्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका थिए । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल रहेका छन् ।

यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका थिए । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका हुन् । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक