20221111

१३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको छ !


कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताउनु भएको छ । नेपाल कानुन व्यवसायी परिषदले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पार्नु भयो ।

उहाँले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताउनु भयो । कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुराना मुद्दाहरुलाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीहरुलाई समेत आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले न्यायालयको सुधारको दिशामा हामी केही न केहीप्रयासहरु अगाडि बढाईराखेका छौं । र, यो प्रयासहरु अगाडि बढाउने क्रममा अहिले हामीलाई सबैभन्दा ठूलो समस्या भनेको मुद्दाहरुको संख्या नै हो । यसले हामीलाई साह्रै थिचिराखेकै छ । धेरै पुरानापुराना १०, १२, १३ वर्षदेखिका मुद्दा हामी कहाँ सर्वोच्च अदालतमा छन । सर्वोच्च अदालतमा भएको यो भारलाई हामीले कसरी कम गर्ने ? भन्ने कुरामा हामी पनि अत्यन्तै चिन्तित छौं । न्याय नपाउने धेरैले रोदनक्रन्दन गरेर गरेर फर्कनु हुन्छ । यो खालको अवस्था हामीसँग छ । यो अवस्थालाई हामीले कसरी कम गर्न सक्छौं होला त ? भन्ने हिसावबाट अहिले हामीले पाँच वर्ष भन्दा पुराना मुद्दाहरुलाई अभियानमा राख्ने र त्यसका लागि छुट्टै इजलास गठन गर्ने व्यवस्था र त्यसमा अभियानमा परेका मुद्दाहरु चाँही स्थगितको लिष्टमा नपर्ने सुनिश्चित गर्ने कुराहरु हामीले गरेका छौं । र, त्यसमा हामीले सबै कानुन व्यवसायी मित्रहरुसँग आग्रह पनि गरेका छौं कि हाम्रो यो अभियानलाई सफल बनाई दिनका लागि यहाँहरुले पनि कम्तिमा ती पुराना मुद्दाहरुलाई स्थगित नगरी दिनुस् भन्ने हामीले आग्रह गरेका छौं । यो आग्रहलाई नेपाल बार एशोसिएशन, सर्वोच्च बार एशोसिएशन र आम कानुन व्यवसायीहरुले स्वागत गर्नु भएकै कुरा चाँही हामीलाई जानकारीमा आएको छ । कानुन व्यवसायीको सक्षमतापूर्वक प्रतिनिधित्वबाट नै न्यायाधीशले पनि सक्षमतापूर्वक न्याय सम्पादन गर्न सक्छ । कानुन व्यवसायीको सहयोगविना गुणस्तरीय न्याय हामी सम्पादन गर्न सक्दैनौं भन्ने कुरालाई पनि ध्यानमा राखेका छौं । त्यसैले यहाँहरुको सकारात्मक, रचनात्मक, यहाँहरुका ओजपूर्ण खोजहरु जुन अदालतलाई यहाँहरुले सहयोग गर्नु भएको छ । त्यो कुराको निरन्तरता र त्यसमा दिने जुन खुराकहरु छन । त्यसको आधारमा हामी निश्चयनै न्याय निरुपण गर्नेछौं । न्याय पालिकाको स्वतन्त्रताको स्वतन्त्रता र स्वायत्तताको सन्दर्भमा हामी सफल हुनेछौं । र, हामी न्याय सम्पादन गर्ने कुरामा पनि सक्षमतापूर्वक बार र बेञ्च एक ठाउँमा बसेर न्याय पालिकालाई उचाईमा पु¥याउनका लागि एक साथ लागेर हिँडौं भन्ने यहाँहरुसँग आग्रह गर्न चाहन्छु । त्यसका लागि हामी सदैव तयार छाैँ।’

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेहरुलाई निष्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रशंशा समेत गर्नु भयो ।न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको इतिहास स्मरण गराउँदै उहाँले त्यसलाई जोगाउनका लागि नेपाल बारले खम्बाकोरुपमा काम गरेको बताउनु भयो । कायममुकायम प्रधानन्यायाधीश कार्कीले बार र बेञ्चको सहकार्यमा मात्रै न्यायलयलाई उचाई पु¥याउन सकिने पनि बताउनु भयो ।कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायपालिकालाई उचाईमा पु¥याउनका लागि बार र बेञ्चबीच हातेमालो गरेर अघि बढनुपर्ने पनि पटकपटक दोहो¥याउनु भयो । त्यसका लागि सहकार्यका साथ अघि बढन आफूहरु सदा तयार रहेको उहाँको भनाई थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक