20221221

Breaking News: कोभिडका कारण मृत्यु भएकाहरूको अन्तिम संस्कारका लागि शवदाहगृहहरू ''पूर्ण रूपमा भरिभराउ", सन् २०२३ मा १० लाखको मृत्यु हुने एक अध्ययनको अनुमान, चीनमा कोभिड सङ्क्रमण बढेपछि भारतमा उच्च सतर्कता, नेपाललाई थाहा पत्ता केही छैन !

 
कडा 'शून्य-कोभिड' नीति हटाउने चिनियाँ सरकारको निर्णयसँगै त्यहाँ देशैभरिका शवदाहगृह चाप बढेको र सामना गर्न चीन सङ्घर्षरत रहेको विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणहरूले जनाएका छन्। बेइजिङस्थित अशोसिएटेड प्रेस (एपी)का पत्रकार डेक काङ कोभिडका कारण मृत्यु भएकाहरूको अन्तिम संस्कारका लागि छुट्ट्याइएको दोङ्ज्याओ अन्तिम संस्कार स्थल तथा शवदाहगृह पुगेका छन्। ''मृतकको नाम भनेर 'कफिन'हरू निकाल्दै गर्दा लगभग एक/दुई दर्जन मानिस बाहिर उभिएका थिए,'' काङले बेइजिङबाट बीबीसीलाई भने। उनले शवदाहगृह आसपासका पसलेहरूसँग कुरा गर्दा त्यो सङ्ख्या (शवको) बढेको बताए।


''एक जनाले त सामान्यतया दैनिक केही दर्जन शवदाह हुने उक्त केन्द्रमा हाल तोकेरै दैनिक ५० देखि १०० वटासम्म शव जलाइएको हुनसक्ने अनुमान गरेको बताए,'' काङले सुनाए।

दुई करोड २० लाखभन्दा बढी जनसङ्ख्या रहेको बेइजिङमा मात्रै नभएर देशैभरिका शवदाहस्थलमा चाप बढेको विवरणहरू सार्वजनिक भएका छन्।


चीनको उत्तर-पूर्वदेखि दक्षिण-पश्चिमका विभिन्न शवदाहगृहका कर्मचारीहरूले बढ्दो चापसँग जुझ्न सङ्घर्ष गरिरहेको विवरण समाचार संस्था एएफपीले प्रकाशमा ल्याएको छ।

बेइजिङबाट झन्डै ७०० किलोमिटर पर उत्तर-पूर्वमा रहेको शन्याङ सहरको अन्तिम संस्कार केन्द्रका एक कर्मचारीले मृतकको शव पाँच दिनसम्म त्यसै राख्नुपरेको बताए।


शवदाहगृहहरू ''पूर्ण रूपमा भरिभराउ रहेको'' उनले बताए।


''यस्तो अवस्था मैले कहिल्यै थाहा पाएको थिइनँ।''

तर कोभिडको कारण मृत्यु हुनेहरूको सङ्ख्या कति व्यापक छ भन्ने कुरा बताउन भने असम्भव रहेको काङ बताउँछन्।


चिनियाँ निकायहरूले मङ्गलवार कोभिडका कारण पाँच जनाको मृत्यु भएको जनाएका छन्। सोमवार त्यो सङ्ख्या दुई थियो र त्यो पछिल्ला केही हप्तामा पहिलो पटक कोभिडका कारण मृत्यु भएको भनेर सार्वजनिक गरिएको आँकडा हो।

सर्वसाधारणले विरोध प्रदर्शन गरेसँगै चीनले डिसेम्बरबाट निकै कडा व्यवस्थाहरू हटाएको थियो।


महामारीको सुरुवातबाटै कडा व्यवस्थाहरू लागु गरिएका कारण चिनियाँहरूमा उक्त भाइरसविरुद्ध प्रतिरोधी क्षमता कम रहेको ठानिएको छ जसकारण कोरोनाभाइरसको प्रभाव व्यापक रूपमा पर्न सक्ने त्रास त्यहाँ छ।


देशैभरिका शवदाहगृहमा के भइरहेको छ?


काङ दोङ्ज्याओ पुगेको दुई दिनपछि गत आइतवार समाचार संस्था रोयटर्सले त्यहाँ मृतक बोकेका शववाहन र कारहरूको लाम लागेको विवरण प्रकाशन गरेको थियो।


शवदाह जारी रहेको सङ्केत स्वरूप कैयौँ 'चिम्नी'ले धुवाँ फालिरहेका थिए भने दोङ्ज्याओ बाहिर झन्डै ३० वटा गाडी पनि देखिएका थिए।


बेइजिङस्थित उक्त शवदाहगृह बाहिर आफ्ना प्रियजनको अस्तु कुरिरहेका परिवार सदस्यहरू थिए।

ब्लूम्बर्ग र स्काइ न्यूजका अनुसार केही शवदाहगृहहरूमा प्रहरी तैनाथ गरिएको थियो।


''हाल सङ्कलन भएका शवको सङ्ख्या विगतमा भन्दा कैयौँ गुणा धेरै हो,'' चीनको दक्षिण-पश्चिममामा रहेको छोङचिङ स्थित शवदाह स्थलका एक कर्मचारीले एएफपीलाई भने।


''हामीलाई (यो कोभिडका कारण भएको मृत्यु हो वा होइन) थाहा छैन। त्यसबारे तपाईँले हाकिमलाई सोध्नुपर्छ।''


तर उनीहरूका (हाकिम) धेरै कुरा बताइरहेका छैनन्।


कोभिड सङ्क्रमितको बढ्दो सङ्ख्या

''मैले केही मानिसका आफन्तहरूसँग कुरा गरेको थिएँ र उनीहरूका अनुसार (अरू) आफन्तको कोभिड परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि उनीहरूको मृत्यु भएको थियो।"


"यो कुरा चाखलाग्दो छ किनभने त्यस बेलाको आधिकारिक मृतक सङ्ख्यामा कोभिडका कारण कसैको पनि मृत्यु भएको उल्लेख गरिएको छैन। चीनले कोभिडबाट मृत्यु हुनेको गणना गर्ने तरिकाका कारण यो कुरा अलि जटिल हुनसक्छ,'' काङले भने।

सन् २०१९मा चीनको वुहान सहरबाट कोभिड महामारी सुरु भएयता चीनले कोभिडका कारण ५,२४२ जनाको मृत्यु भएको जनाएको छ जुन विश्वव्यापी रूपमा तुलना गर्दा निकै कम हो।


तर चिनियाँ निकायहरूले मङ्गलवार कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि निमोनिया र श्वासप्रश्वासमा समस्या उत्पन्न भएर मृत्यु भएकाहरूलाई मात्रै कोभिडका कारण मृत्यु भएको भनेर वर्गीकृत गर्न मिल्ने जानकारी सार्वजनिक गरेका छन्।

''हृदयाघात वा मुटुमा अन्य समस्याका कारण मृत्यु भएका सङ्क्रमित त्यो (कोभिडका कारण मृत्यु हुने) वर्गीकरणमा पर्ने छैनन्,'' पिकिङ् युनिभर्सिटी फर्स्ट हस्पिटलमा सङ्क्रामक रोग प्रमुखका रूपमा कार्यरत वाङ ग्वीछ्याङले भने।


त्यो सूचना उपलब्ध गराइएकै सम्मेलनमा अधिकारीहरूले कोभिडको पछिल्लो प्रकोपका कारण नयाँ उत्परिवर्तनको सम्भावना रहेको बताएका थिए।


तर त्यो फैलने सम्भावना र त्यसका कारण हुनसक्ने मृत्युदर भने उल्लेख्य नरहने सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०२३ मा १० लाखको मृत्यु हुने एक अध्ययनको अनुमान

इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएसन (आईएचएमई)को नयाँ अनुमानका अनुसार कोभिडका कारण लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरू एक्कासि हटाउँदा सङ्क्रमण व्यापक रूपमा बढ्न सक्छ र सन् २०२३मा १० लाख भन्दा बढीको मृत्यु हुनसक्छ।

आईएचएमईअमेरिकास्थित युनिभर्सिटी अफ वासिङ्गटनमा रहेको स्वतन्त्र 'ग्लोबल हेल्थ रिसर्च सेन्टर' हो।


सन् २०२३ को एप्रिल १ तारिख सम्ममा ३,२२,००० मानिसको मृत्यु हुने उक्त अध्ययनले प्रक्षेपण गरेको छ।



''चीनको शून्य-कोभिड नीति भाइरसको पहिलेका भेरिअन्टहरूलाई नियन्त्रणमा राख्न प्रभावकारी हुनसक्छ, तर ओमिक्रोन भेरिअन्टको तीव्र सङ्क्रमणदरले भने यसलाई टिक्न दिएन,'' आईएचएमईका निर्देशक क्रिस्टोफर मुरेले भने।

आईएचएमईको प्रक्षेपण हङ्‌कङ‌को हालसालै फैलिएको ओमिक्रोन भेरिअन्टको प्रान्तीय तथ्याङ्क अनि सूचनामा आधारित रहेको जनाइएको छ।


''उहानमा सङ्क्रमण फैलिएयता चीनले निकै कम मृत्यु विवरण सार्वजनिक गरेको छ। त्यसकारण हामीले सङ्क्रमणदरबारे थाहा पाउन हङ्‌कङको अवस्था हेरेका हौँ,'' मुरेले भने।


तर अहिलेसम्मको अवस्था हेर्दा कोभिड सङ्क्रमण बढेकामा चिनियाँ अस्पतालहरू आश्चर्यमा परेका छैनन्। काङले बेइजिङस्थित एक अस्पतालको भ्रमण गरेका थिए।


''त्यहाँ भिडभाडको कुनै सङ्केत थिएनन्। तर बेइजिङ पक्कै पनि सिङ्गो चीनको प्रतिनिधि होइन। देशैभरिको तुलनामा यहाँ सम्भवतः राम्रो चिकित्सा पूर्वाधार छ,'' उनले भने।

BBC का अनुसार उता छिमेकी चीनमा कोभिड सङ्क्रमण बढेपछि भारतको स्वास्थ्य मन्त्रालयले सतर्कता बढाएको छ। त्यहाँको सरकारले देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ।

केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलन सक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन पनि निर्देशन दिएको छ।

सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको भारतमा यो वर्ष भने सङ्क्रमणदर निकै न्यून छ।

सरकारी तथ्याङ्कअनुसार सातामा १,२००को सङ्ख्यामा कोभिड सङ्क्रमणहरू देखिएका छन्।

नेपालको छिमेकी भारतमा दुई अर्बभन्दा बढी मानिसले कोभिड खोप लगाइसकेका छन्।

मङ्गलवार मात्रै केन्द्रीय सरकारले सबै राज्य लाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना सङ्कलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ। उक्त निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्छ।
राज्यहरूलाई पठाइएको पत्रमा भारतका स्वास्थ्य सचिव राजेश भूषणले जिनोम सिक्वेन्सिङ विधिबाट नयाँ भेरिअन्टमाथि निगरानी गर्नु जरुरी भएको उल्लेख गरेका छन्।

“जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल र चीनमा अचानक सङ्क्रमण बढेको” उदाहरण दिँदै उनले निगरानी बढाउन भनेका छन्।

यस्तो प्रयासले नयाँ भेरिअन्टको पहिचान गर्न र त्यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने उनको दाबी छ।

भारतमा कोभिड निगरानी बढाइयो
भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले पछिल्लो अवस्थाको समीक्षा गर्दै थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक हो। सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका थिए भने दशौँ लाख मानिसहरू नराम्ररी प्रभावित भएका थिए।
विज्ञहरूले भने कोभिडका कारण ज्यान गुमाउनेहरूको वास्तविक सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै रहेको ठान्ने गरेका छन्। महामारीको समयमा मृत्यु भएका कतिपय व्यक्तिले परीक्षण नगराएको र सरकारी आँकडामा समावेश नगरिएको बताइन्छ।

अक्सिजन र संवेदनशील औषधिहरूको अभावका कारण कोभिडको दोस्रो लहरमा धेरै मानिसहरूको मृत्यु भएपछि भारतमा सरकारको व्यापक आलोचना भएको थियो।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु:

For More Videos Click this link below:  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक