20230618

लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित, तीन जनाको मृत्यु, २९ जना बेपत्ता


लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिनुभएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । अन्य तीन जनाको भने उद्धार गरिएको छ ।

उहाँका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पु¥याएको छ । यस्तै, छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै, सङ्खुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन् । त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताउनुभयो ।

सङ्खवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राससलाई दिनुभएको जानकारीअनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका कर्मचारी छन् । अन्य चारजना भने सर्वसाधारण हराइरहेका हुन् । यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता रहेका छन् । त्यहाँ नौवटा पशु चौपाय मरेको छ । इलामलगायत जिल्लाहरुमा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक