20231215

भ्रष्टाचारविरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गर्नुपरेको छ : अख्तियार प्रमुख प्रेमकुमार राई

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धको लडाइँमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गर्नुपरेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनलाई सम्बोधन गर्दै राईले यस्तो बताउनुभएको हो । भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकाले यसको दिगो सफलताको लागि अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्न महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हालैका वर्षहरूमा सुधार भए तापनि नेपालले धेरै चुनौतीको सामना गर्नुपरेको उहाँको जिकिर थियो । अधिक चुनौतीका बाबजुद संवैधानिक दायित्व र कार्यादेशलाई जिम्मेवार र पारदर्शी रूपमा कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको राईले बताउनुभयो । संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा २०८० मंसिर २५ देखि २९ गते सम्म सञ्चालन भएको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको दशौँ सम्मेलनको अवसरमा नेपालको प्रतिनिधि मण्डलका प्रमुखको हैसियतमा राईले उक्त कुरा राख्नुभएको हो ।


भ्रष्टाचार एउटा गम्भीर अपराध भएको र यसले विकासलाई कमजोर बनाउँदै सरकारप्रतिको विश्वसनीयता घटाउने भन्दै राईले भन्नुभयो, ‘नेपाल भ्रष्टाचार नियन्त्रणको लागि दृढ संकल्पित छ । र, यसविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै भ्रष्टाचार नियन्त्रणको लागि प्रवद्र्धनात्मक एवं दण्डात्मक उपायहरू अवलम्बन गरेको छ ।’


भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयन गर्न नेपालले महत्वपूर्ण विधायिकी र संस्थागत कदमहरू चालेको कुरा बताउन पाउँदा आफू धेरै खुसी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन गर्न र यसका उद्देश्यहरू प्राप्त गर्न नेपालले आगामी दिनमा पक्ष राष्ट्रहरूसँगको सहयोगी प्रयासहरूको उत्सुकतापूर्वक अपेक्षा गर्दछु ।’


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको लागि सम्पर्क संस्थाको रूपमा तोकिएको र महासन्धिका प्रावधानहरू कार्यान्वयनका लागि राष्ट्रिय रणनीति तथा कार्ययोजना तयार गरिएको बारे राईले सम्मेलनमा जानकारी गराउनुभएको थियो ।


नेपालको संविधानले भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान र अभियोजन गर्ने संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरेको तथा सार्वजनिक पदाधिकारीहरूबीच निष्ठा कायम गर्न आयोग प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । आयोगको प्रयासको फलस्वरूप भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको उहाँको भनाइ थियो ।


भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको प्रभावकारी कार्यान्वयनको लागि कानुनको कार्यान्वयन र न्यायिक सहयोगलाई बलियो बनाउन, सार्वजनिक र निजी क्षेत्रहरूमा पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न र राज्यहरूबीच आपसी सहयोग संयन्त्र स्थापना गर्न प्रयासरत रहेको कुरासमेत उहाँले सम्मेलनमा जानकारी गराउनुभयो । ‘भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन गर्न र यसका उद्देश्यहरू प्राप्त गर्न नेपालले आगामी दिनमासमेत पक्ष राष्ट्रहरूसँगको सहयोगी प्रयासहरूको उत्सुकतापूर्वक अपेक्षा गर्दछ’, राईले भन्नुभयो । आयुक्त राईले सम्मेलन आयोजना गरेकोमा संयुक्त राज्य अमेरिकाको सरकार र लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक