20160228

अमेरिकी नेपालीमा विमा आतंक !

शिव प्रकाश र दिनेश कार्की लेख्नुहुन्छ :  
logoजीवन बिमा के हो ? किन ? केका लागि ? कुरै नबुझी हामी धेरैले किन्यौ । तर किन किन्यौ विश्वासका कारणले किन्यौं । नेपालीले नेपालीमाथि विश्वास गर्यौं । जीवन बिमा अहिले अमेरिकामा रहेका नेपाली र भुटानी नेपाली शरणार्थीका घरघर चर्चा र त्रासको विषय बनेको छ । यो आलेखमा मुख्यतः जीवन बिमामा हामी कहाँ र कसरी ठगिएका हुन सक्छौ भन्नेछ । यससँगै हामी यो विषयमा किन लेख्दैछौं भन्ने प्रश्न पनि अहम् भएको छ ।
हामी किन लेख्दै छौं ?
बजारको हल्ला पछाडि लागेका होइनौं । नेपालीले प्रायशः नेपालीलाई मात्र बेचेको इन्स्योरन्सका बारेमा सामाजिक सञ्जालमा एक्कासी चर्चा परिचर्चा हुन थाले । असन्तुष्टी व्यापक देखियो । धेरैले आफू ठगिएको प्रमाण सहित प्रतिकृयाहरु राखे । धेरै प्रतिकृयाहरु विश्लेषण गर्यौं । असन्तुष्टको भाषाले कतैकतै सामाजिक शिष्ठताका सीमा पनि नाघेको देखियो । त्यसको अर्थ, त्यो उग्र असन्तुष्टीको अभिव्यक्ति हो भन्ने ठान्यौं ।
यति धेरै क्रिया–प्रतिक्रिया भएपछि यो व्यक्तिगत हैन समाजिक विषय हो भन्नेमा हामी पुग्यौं । निक्कै ठूलो नेपाली समुदाय यसमा गाँसिएको देखियो ।
म शिव प्रकाशले एउटा कमेन्ट लेखेँ । विषयले व्यापकता पाउँदै गयो । मलाई फोन र टेक्स म्यासेज आउन थाले । केही मित्रबाट फरक खाले अवधारणा आए । तपाइँ जस्तो मान्छेले यस्ता कुरामा हात हाल्ने हैन, लेख्ने हैन । बरु हामीले के सहयोग गर्नुपर्छ, गर्छौ जस्ता अफर पनि आए । मलाई लाग्यो कतै लालचको चारो त फालिएको हैन ?
यो बिकाउ युगमा आफ्नो मूल्य नतोकी बस्नु पनि साह्रै गाह्रो रहेछ ।
हामी फेरि प्रतिकृया केलाउन थाल्यौं र सोच्न थाल्यौं । यो बिमा व्यापार किन नेपाली–नेपालीबीच मात्र भयो ? किन नेपालीले नेपालीलाई मात्रै बेच्यो ? अरु कसैका गुनासा किन छैनन् ? बिक्रेता पनि नेपाली र क्रेता पनि नेपाली मात्र किन छन् ? प्रतिकृयाहरु पनि यस्तै देखिए ।
त्यतिबेलासम्म एउटा कुनै बिमा कम्पनीको नाउँबाट बिना हस्ताक्षरको धम्कीपूर्ण विज्ञप्ति पनि सामाजिक सञ्जालमा फैलिसकेको थियो । आशय थियो–यसको बारेमा बोल्ने–लेख्नेका विरुद्ध अदालतमा मुद्दा दायर गरिनेछ ।
एक मित्रले राम्रो भाषामा मेरो प्रशंसा गर्दै त्यो धम्कीपूर्ण विज्ञप्ति मेरो म्यासेन्जरमा पठाउनु भयो । हेरेर छक्क परेँ । फोनमा कुरा गरौं भनेर म्यासेज पठाएँ । मित्रले फोन गर्नु भयो । मैले भने–तपाइँहरुले अर्को गल्ति गर्दै हुनुहुन्छ । यति हतारमा यो भाषाशैलीको, बिना हस्ताक्षरको यस्तो उर्दी जारी गर्नु भनेको तपाइँहरुको कामलाई झन् शंकास्पद बनाउनु हो भन्ने पनि बुझ्न सकिन्छ ।
मित्रले काम कस्तो गर्नु भएको छ थाह छैन । तर, कुरा ज्यादै ‘प्रोफेशनल म्यानर’मा गर्नु भयो । एउटा व्यावसायीक मान्छेमा हुनु पर्ने गुण गफमा देखाउनु भयो । जसको म प्रशंसा पनि गर्छु । उहाँलाई सुझाव दिदैं भने–तपाइँहरुले गलत इन्स्योरेन्स बेच्नु भएको छैन भने पब्लिक्ली सामना गर्नुस् । धेरै मान्छेले आफूलाई झुक्याइएको, ढाँटिएको, इन्स्योरेन्स सम्बन्धी सम्पूर्ण जानकारी नदिएको, ठगिएको कुरा लेख्नु भएको छ ।
उहाँहरु सँग कुरा गर्नुस् । उहाँहरुको चित्त बुझाउनुस् । कुनै ऐजेन्टले जानेर–नजानेर गल्ती गरेको छ भने कहाँ
गल्ती गर्यो, के के गर्यो, हल्लामात्र हो कि साच्चै हो, त्यसको खोजी गर्नुस् । गल्ती गर्ने एजेन्टलाई कारबाही गर्नुस् । सच्याउनुस्, आफ्नो र सँस्थाको इमेज बचाउनुस् । हामी सहयोग गर्न तयार छौं ।
मित्रले धम्क्याउन उद्धेश्यले हैन भन्दै विनम्रतापूर्वक सौहार्द्रता देखाउनु भयो । मलाई लाग्यो, एजेन्टहरु सबै खराब छैनन् ।
अर्का एक मित्रसँग कुरा भयो । बिना मेडिकल रिपोर्ट लाखौंको जीवन बिमा गर्न सकिन्छ भनेर सोधेँ । उहाँले सकिदैन भन्नु भयो । तर, आफू स्वयं भने यो व्यवसायमा नभए पनि पारिवारिक संलग्नता रहेको कुरा बताउनु भयो । ती मित्रले पनि मलाई यो विवादबाट टाढा रहन सुझाव दिनु भयो । उहाँले पनि राम्रै मान्छेले गर्ने ढंगले कुरा गर्नु भयो ।
भोलिपल्ट बिहानै फेसबुकमा उही उर्दी आएको छ । तर, फरक मान्छेबाट । मैले उहाँलाई प्रश्न गरेर टेक्स्ट म्यासेज लेखेँ । तपाइँले यो उर्दी मलाई किन पठाउनु भएको ? तपाइँ चाहनु हुन्छ भने कुरा गरौं । मेरो फोन नम्बर मैले पठाएँ । तर, उत्तर आएन ।
हामीलाई लाग्यो यो लरतरो विषय हैन । पिरामिड र नेटवर्किङ् बिजनेश खतरनाक हुन्छ भन्ने पनि सुनेको हो । जति सक्यो गहिराइमा पुग्नु पर्छ भन्ने लाग्यो । इस्योरेन्सका नाउँमा तीन–चार वर्षमै तीसौं–चालीसौं हजार डलर गुमाएका प्रमाणहरु सामाजिक सञ्जालमा फैलिन थाले ।
हामी अनुमान लगाउन थाल्यौं, अमेरिकाम तीन लाख नेपाली छन् भनिए पनि अपुष्ट अनुमानमा सात लाखभन्दा बढी छन् भनिन्छ । यही ‘स्पिड’मा यी मध्येका तीन लाख नेपालीले मात्र चार–पाँच वर्षमा बीस–तीस हजार डरलका दरले गुमाए भने पाँच–सात बिलियन डलर गुम्न सक्छ । पाँच–सात बिलियन भनेको त पाँच–सात खर्ब रुपैयाँ हो । यो भनेको नेपाली समूदायको ठूलो क्षति हो । यति पैसाले डाँडाकाँडा झिलिमिली पारेर नेपाल बनाउन सकिन्छ ।
हामीले सोच्यांै, लेख्ने कि नलेख्ने ? नलेख्ने भए किन नलेख्ने ? लालचमा परेर नलेख्ने ? त्रासका कारणले नलेख्ने ? लेख्ने भए केका लागि लेख्ने ? सधैं आफ्ना कुरा मात्र लेखेर जान्ने सुन्ने मात्र हुने कि समाजका लागि पनि केही लेख्ने ? लेखन भनेको के हो ? कसैलाई टल्काउने र सधैं खादा–माला भिरेर ‘फेसबुकको लाइक क्लव’ (लाइकको साटो लाइक गर्ने झुण्ड)मा रमाउनेहरुको रुद्रगाथा मात्र गाउने, लेख्ने ?
मान्छे समाजका लागि मर्न तयार हुन्छ भने हामी सत्य र फेला परेका तथ्यका बारेमा लेख्न किन तयार नहुने ? हामीले थोरबहुत भए पनि कलम चलाउन जानेको र पत्रकारिता गरेको केको लागि भन्ने सौच्यौं । समाजको हितका लागि लेख्ने निधो गयौंं ।
तर, अदालतमा लाने धम्कीहरु सामाजिक सञ्जालमा फैलिरहेका थिए । अझैं फैलिरहेका छन् । खोज पत्रकारितामा जानकार भाइहरु सहभागी हुनु भयो । यो ‘फ्रिडम अफ् स्पिच’ भएको देश हो । हामी धम्कीको सामना गर्न तयार भयौं ।
यसैबीच, मैलें (शिव प्रकाश) एक जोडीलाई भेटेँ । इन्स्योरेन्सका बारेमा कुरा हुँदै जाँदा मैले भने, मलाई पनि धेरै थाह छैन तर इण्डेक्स युनिभर्सल लाइफका कमजोरीका बारेमा भने केही बताउन सक्छु । मैले उहाँहरुलाई केही नमुना देखाएँ । दुबै छागाँबाट खसेजस्तो हुनु भयो ।
उहाँहरुलाई सोधेँ, एजेन्टलाई सोध्नु भएन ? उहाँहरुको जवाफ थियो–पाँचवर्ष पछि पैसा बढ्छ रे । मैले भने, यदि इन्डेक्स युनिभर्सल लाइफ इन्स्योरेन्स हो भने पाँच वर्षपछि तपाइँको पैसा बढ्ने हैन, यसरी बालुवामा पानी हुन सक्छ भनेर एउटा नमुना देखाएँ । इन्स्योरेन्स सम्बन्धी ज्ञान भएको मान्छेलाई वाइण्डिङ कपी देखाउनुस्, सबै छर्लङ्ग हुन्छ भन्ने सुझाव पनि दिएँ ।
न्याउँरो मुख लगाउनु भयो । जसले अरु कुनै कम्पनीबाट झण्डै साढे दुई वर्ष अघि इन्स्योरेन्स लिइसक्नु भएको रहेछ । करीब साढे चार हजार डलर तिरिसक्नु भएको रहेछ । त्यो पनि ल्याप्स भएछ ।
मनमनै लाग्यो, के मान्छेले यतिसम्म बेइमानी गर्न सक्छ ? हुन त मान्छे जस्तो बेइमान् प्राणी यो संसारमा अर्को छैन ।
दुःखको कमाई गुम्दाको अनुहार र सुन्दाको त्यो कथा कारुणिक थियो । धेरैले फोन गर्न थाल्नु भयो । धेरैका कथा र आक्रोस सुनिए । त्यसमध्ये एक मित्रले मलिन स्वरमा भन्नु भयो, सर म त बर्वाद भएँ, मेरो पुरै परिवारको छ । घरमा बस्न नसक्ने भएँ ।
हामीलाई कर्तव्य र दायित्वबोधले झन् थिच्यो । हामीले समूह बनायौं । इन्स्योरेन्स सम्बन्धि जानकार व्यक्तिबाट एउटै विषयमा तीन–चार जनाको मत लियौं । इन्स्योरेन्समा उल्लेख भएका तथ्याङ्का बारेमा पनि सबैलाई सोध्यौं । सबैको जवाफ उस्तै आयो । उहाँहरुले हामीलाई बुझाएका कुरा लेख्ने निधो गर्यौं । लेखनको प्रतिनिधित्व शिव प्रकाश र दिनेश कार्कीले गर्यौं । सोसियल इस्यूमा लेख्नु हामी लेखक/पत्रकारको कर्तव्य हो भन्ठान्यौं ।
यी कुरा लेख्दा अदालतमा जानु पर्छ र वयान दिनु पर्छ भने हामी तयार छौं । अदालतमै गएर उपभोक्ता अधिकार अर्थात ‘कन्जुमर राइट्’का बारेमा कुरा गर्न तयार छौं । त्यो दिन र समयको प्रतिक्षामा पनि हुन्छौं ।
जीवन बिमा बेच्दा ग्राहकलाई आफूले बेचेको बिमा सम्बन्धि सम्पूर्ण जानकारी दिएको छ, छैन ? त्यसको राम्रो–नराम्रो पक्षका बारेमा ग्राहकले बुझ्ने सरल भाषामा बुझाएको छ, छैन ? उसले बुझेर लियो कि नबुझी लियो ? भएका बिमा के भनेर क्यान्सिल गराइयो ? त्यसबाट हुन गएको क्षति कसले भर्ने ? इत्यादिका बारेमा पनि जवाफ दिन हामी तयार छौं ।
जीवन बिमाका बारेमा जान्नु पर्ने समान्य कुराः
सकेसम्म सामान्य र सबैले बुझ्ने भाषामा राख्ने प्रयत्न गरिएको छ । पूर्णतः भन्ने कुरा धेरै कुरामा नहुन सक्छ, यहाँ लेखिएका कुरालाई मात्र पूर्ण नमान्नु होला । आफैंले थप सोधीखोजी गरेर थप जानकारी पनि लिनु होला ।
१) आफूले तिरेको प्रिमियम ट्याक्स डिडक्टेबल हुन्छ कि न हुदैन ? हुदैन । यदि कुनै एजेन्टले भनेको छ भने त्यो पनि सरासर गलत हो ।
२) मेडिकल ट्रिटमेन्ट खर्च पाइन्छ कि पाइदैन ? साधरणतया पाइदैन । यदि तपाइँले त्यो अप्सन भएको बिमा किन्नु भएको छ भने पाउन सकिन्छ तर शतप्रतिश हैन । त्यो हेर्न र बुझ्न जरुरी छ, कति पाउनु हुन्छ ?
३) मेडिकल रिपोर्ट बिना कतिसम्मको जीवन बिमा गर्न सकिन्छ ? साधरणतया ५० हजार डलरसम्मको मात्र । यदि कसैले मेडिकल रिपोर्ट नै चाहिदै अथवा मेडिकल सम्बन्धी आवश्यक विवरण खुलाइएको छैन वा ढाटेर बिमा गराएको छ भने भोलि समस्या हुन सक्ने कुरा जानकारहरुले बताएका छन् ।
मेडिकल हिस्ट्री लुकाउँदा परेको बेलामा अप्ठ्यारो हुन सक्ने जानकारहरुको राय थियो । उमेरमा ४० वर्ष माथिको र रकममा लाख डलरभन्दा माथिको बिमा, मेडिकल रिपोर्ट बिना ‘नो वे’ अर्थात हुनै सक्दैन पनि भनेका छन् उनीहरुले । बिमा एजेन्टको ‘इथिक्स’ हुन्छ त्यो इथिक्सभन्दा बाहिर गएर कसैले यस्तो काम गरेको हुन सक्छ तर इन्स्योरेन्सको कपी नहेरी ग्यारेन्टी गर्न नसक्ने बताए । यससम्बन्धि तेस्रो पक्षको जानकार व्यक्ति सँग वा बिमा कम्पनी (एजेन्ट हैन)मा सिधै सम्पर्क गरेर बुझ्नु र निश्चित गर्नु बुद्धिमानी हुन सक्छ ।
बिमा किन्नु अघि हेल्थ इस्युका बारेमा सोधिने प्रश्नहरुको नमुना कपी यहाँ राखिएको छ । सबैसँग सबैको मिल्दोजुल्दो नहुन सक्छ तर लगभग यस्तै हुन्छ । यसको पनि जाँच गर्नु राम्रो हुन्छ ।

मूल प्रश्न, इन्स्योरेन्समा हामी कहाँ–कसरी ठगिएका हुन सक्छौ ?
संसारका सबै बस्त,सबै पशुहरु र सबै मान्छेहरु खराब नभए जस्तै सबै बिमा पनि खराब हुदैनन् । बिमा व्यवसायका मान्छे पनि सबै खराब हुदैनन् तर, अमेरिकाको नेपाली समुदायमा नेपालीद्वारा नै खराब बिमाको खेती प्रशस्त गरिएका कुरा सतहमा आइसकेका छन् ।
कस्ता हुन्छन् खराब बिमा ? तपाइँको पोलेसीको वाइण्डिङ् बुक पल्टाउनुहोस् । आफ्नो इन्स्योरेन्स इण्डेक्स युनिभर्सल लाइफ हो कि हैन, पत्ता लगाउनुहोस् । आफूलाई थाह नभए कुनै जानकार व्यक्तिलाई सोध्नुहोस् । कम्पनीमा फोन गरेर पनि थाहा पाउन सकिन्छ, आफ्नो इस्योरेन्स कस्तो हो ।
यदि हो भने पोलसीभित्रको कुनै पेजमा ग्यारेन्टेड इलुष्ट्रेटेड रेट देखाइएको हुन्छ । हामीलाई प्राप्त इण्डेक्स युनिभर्सल लाइफको एउटा नमूना १६औं पेजमा छ भने अर्को नमूना १४औंमा छ । कम्पनी पिच्छे यसको पेज फरक हुन सक्छ तर चार्ट उस्तै हुन सक्छ ।


त्यसको पहिलो कोलममा पोसली इयर, दोस्रोमा एज, तेस्रोमा प्लाण्ड एन्युलाइज्ड प्रिमियम, चौथोमा एक्युमुलेटेड भ्यालू, पाँचौमा क्यास सरण्डर भ्यालू र छटौंमा नेट डेथ बेनिफिट हुन्छ ।
न्यूजर्सी बस्ने ४० वर्षिय एक नेपाली पुरुषलाई बेचिएको बिमाको पेज हो, यो । यसमा हेर्नुस्, उसलाई दुई लाख ५० हजार डलर डेथभ्यालू भएको बिमा बेचिएको छ । जसको प्रिमियम मासिक दुई सय डलर छ ।
माथिको तालिकाले देखाएको छ– यो बिमा लिनेले पहिलो वर्ष २ हजार ४ सय डलर तिर्छ उसको बिमाले १ हजार १ सय ४३ डलर आर्जन गर्ने देखाइएको छ, जसलाई एक्युमुलेटेड भ्यालू भनिन्छ तर उसले पाउने पैसा जसलाई क्याश सरण्डर भ्यालू भनिन्छ, यो भने जिरो छ । दोस्रो र तेस्रो वर्षसम्म पनि जिरो छ ।
धेरै एजेन्टले अहिले हतासमा चार–पाँच वर्ष पछि तपाइँको पैसा बढ्छ भन्ने जवाफ आफ्ना ग्राहकलाई दिने गरेको पाइएको छ । तर बढ्ने हैन, चौथो वर्षदेखि थोरै पैसा क्याश सरण्डर भ्यालूमा देखिन थालेको छ । जुन उसले तिरेको भन्दा धेरै कम हुन्छ । यो पोलेसी अनुसार दश वर्ष पुग्दा उसले चौबीस हजार डलर तिर्छ तर पाउने पैसा ८ हजार ३ सय ९६ डलर मात्र हुन्छ त्यसमा सरण्डर चार्ज र अनेक ‘हिडन’ चार्ज कति हुन्छ थाह हुदैन । जे होस् हात लाग्ने ज्यादै न्यून हुन सक्छ । यही हिसाबले जाँदा २० वर्षमा उसले ४८ हजार डलर खन्याउँछ, छोड्नु परे जम्मा ८ हजर ९ सय ६४ डरलमा अनेक चार्ज घटाउँदा कति पाउँछ त्यो पनि थाह हुँदैन । २६ वर्ष पुग्दा उसले ६० हजार ४ सय डलर तिर्छ तर उसले पाउने सबै जिरो, जिरो र जिरो अर्थात ल्याप्स हुन्छ । बिमा सकिन्छ । डेथ भ्यालू पनि सकिन्छ । त्यतिबेला मान्छेलाई अरु कुनै रोग लाग्नु पर्दैन । काल पर्खनु पर्दैन । हर्ट अट्याक भएर मर्न सक्छ ।
२५ वर्षसम्म डेथ अर्थात मृत्यु भएपछि पाउने रकम २ लाख ५० हजार ७ सय ६ देखिन्छ तर यदि २५ औं वर्षको अन्तिम दिनसम्ममा मृत्यु भएन भने भोलिपल्ट सबै शून्य हुन्छ । यत्रो वर्षको लगानी बालुवामा पानी सरह हुन्छ ।
यो कुरा तपाइँहरुका एजेन्टले बताएका, देखाएका र बुझाएका छन् कि छैनन् ? छैनन् भने तपाइँले कानुनी लडाइँ लड्न सक्ने कुरा यस सम्बन्धी जानकार व्यक्तिले बताएका छन् ।
यदि आफू पीडित भएका ठान्नु हुन्छ भने आफ्नो स्टेटको इन्स्योरेन्स ब्युरोमा सिधै कम्प्लेन गर्न सकिन्छ । आफ्नो स्टेट वा सिटीको बार एसोसिएसन मार्फत निशुल्क पाइने वकिलको सहयोगमा क्षतिपूर्ति भराउन सकिने व्यवस्था हुन सक्छ । . http://www.naic.org/ मा पनि कम्प्लेन लेखाउन सकिने छ । तर, यस्ता कंपनीहरु भोलि बैकरप्सीमा गएभने टेक्ने समाउने ठाउँ हुँदैन, क्षतिपूर्तिको त कुरै छोडौं ।
अहिले नेपाली समुदायमा बेचिएका बिमा एउटै कम्पनीको नभएर विभिन्न कम्पनीको नाउँमा छन् । यसको कारण के हुन सक्छ ? यो पनि खोजीको विषय हुन जरुरी छ । सम्भावनाहरू केलाउँदा भोलि गएर कुनै एक दुई कम्पनी नपल्टिएलान् भन्न सकिन्न् ।
अमेरिकको राष्ट्रपतीय चुनावमा रिपब्लिकनका तर्फबाट उमेद्वार बनेका डोनाल्ड ट्रम्पका चार कम्पनीले बैंकरप्सी गरिसेकेका छन् तर पनि उनी राजनीतिदेखि व्यवसाय गर्न अयोग्य भएका छैनन् । व्यवसायिक बैंकरप्सी सम्बन्धि यो एउटा बलियो उदाहरण हो ।
माथि देखाइएको यो बिमामा महत्वपूर्ण कुरा अर्को के पनि छ भने दुई लाखको डेथ बेनिफिटका लागि हामी ६० हजार डलरभन्दा बढी रकम लगाउँछौं र इन्स्योरेन्स कम्पनीको तालिका अनुसार मृत्यु भएन भने सारा गुमाउँछौं । अर्थात यो इन्स्योरेन्सको पैसा पाउन उसको तालिक अनुसार इन्स्योरेन्स किन्ने मान्छे मर्नु पर्ने हुन्छ ।
यही रकम बराबरको इन्स्योरेन्स बजारमा धेरै सस्तोमा पाइने कुरा जानकारहरु बताउँछन् ।
यो भन्दा खराब इन्स्योरेन्स बोस्टन क्षेत्रमा बेचिएको कपी पनि हामीले प्राप्त गरेका छौं । जसको २० वर्षपछि नै क्यास शरण्डर भ्यालू र डेथ बेनिफिट समाप्त हुन्छ । त्यो २० वर्षसम्म डेथ बेनिफिट पनि वढ्दैन । वर्षको चार हजार डलरका दरले ८० हजार डरल खन्याइसके पछि सबै शून्य हुन्छ ।


मानांै एउटा २० वर्षको मान्छेले यो बिमा लियो । ४० वर्ष पुग्दा उसले ८० हजार डलर खर्च गर्छ त्यसपछि सबै लगानी शून्य हुन्छ भने त्यातिबेला त्यो मान्छे माथि के बित्तो हो ? हेर्नुस् तालिका आफैं बोल्छ । जानकारहरुले बताएका कुरा नै हामीले यहाँ राखेका हौं ।
यो बिमामा तपाइले लगानी गरेको रकम ५० प्रतिशतले बृद्धि हुने भनिए पनि जुनसुकै कागज देखाए पनि अन्ततः तपाइले पाउने माथिको ग्यारेन्टेड इलुस्ट्रेटेड रेट (नमूना २ र ३) अनुसार हो भन्ने कुरा हामीलाई उनै जानकारहरुले बताए । जुन कुरा बिमाको कागजले पनि स्पष्ट पार्छ ।
यसको खण्डन यहाँ देखाइएको यो तलको नमूना चार पेजले गर्न सक्ने तर्क पनि बिमा बिक्रेताको हुन सक्छ, जसलाई करेन्ट इलुस्टे«टेड रेट भनिएको छ । यसमा पनि तपाइको इन्भेष्टमेन्टको तुलनामा रिटर्न घट्छ र अन्त्यमा शून्य अर्थात ल्याप्स नै हुन्छ । यसमा बुझ्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो ‘एजुम्प्सन’ अर्थात अनुमान वा कल्पना मात्रै हो । यो पेजको पुछारमा भनिएको छ–यहाँ देखाइएको बेनिफिट्स् र भ्यालुहरुको ग्यारेन्टी छैन । यहाँ देखाइएका सबै कुरालाई बिमाकर्ता कम्पनीले जुनसुकै समय परिवर्तन गर्ने अधिकार पनि राखेको हुन्छ भन्ने आशय पेजको पुछारमा फूटनोटले जनाउँछ । अघिल्लो पेजको ग्यारेन्टेड भ्यालू अनुसार नै हुन्छ भन्ने कुरा यसको अन्त्यमा पनि लेखिएको छ । यो पेजको फूटनोटमा लेखिएको कुरा तपाइहरुलाई बिमा बिक्रेता एजेन्ट नबताएको भए त्यसलाई सिधा बेइमानी भन्न सकिन्छ । यो पेजको फूटनोटका बारेमा अंग्रेजी भाषामा राम्रो दलख भएको मान्छेबाट पनि बुझ्न जरुरी छ, के भनिएको छ यसमा ?

यहाँ देखाइएका कुरा सत्य होइनन् भने यसलाई खण्डन गर्न सक्नु पर्छ । हुन् र यदि कसैले यस्ता इन्स्योरेन्स कसैलाई बेचेको छ भने थप झूठो बोलेर व्यक्तिलाई थप क्षति पुर्याउनु भन्दा इन्स्योरेन्स रद्द गर्ने सुझाव आफ्ना ग्राहकलाई दिनु बुद्धिमता हुन्छ । थोरै भए पनि इमान्दारिता देखिन सक्छ । ग्राहकले माफ गर्न सक्छन् ।
सबै कुरा नियतवश हुदैनन् । कहिलेकाँही विषयगत ज्ञानको अभावले अन्जानवश पनि हुन सक्छन् । अन्जानवश नै भएको छ भने आफूलाई सच्याउने ठाउँ सधैं बाँकी रहन्छ । कुनै पनि विषय सामाजिक सञ्जाल र संचार माध्यममा आइसकेपछि त्यसमा आफूले गल्ती गरेको भए स्वीकार्नु पहिलो बुद्धिमानी हुन्छ । नभए सामाजिक रुपले सामना गर्ने साहस र गुण कुनै पनि प्रोफेशनल मान्छेमा हुनु पर्छ ।
यदि कुनै पनि व्यक्ति साच्चिकै प्रोफेशन हो भने सामाजिक सञ्जाल र सञ्चार माध्यमा आएका कुरालाई शेयर गरेमा, लाइक गरेमा, प्रतिकृया दिएमा जो सुकैलाई अदालतमा लाने, कारबाही गर्ने जस्ता निम्न स्तरका कुरा गरेर हिड्दैन । यदि कसैले गरेर हिड्छ भने यसैबाट थाह हुन्छ त्यो व्यक्ति कुन स्तरको हो ? यस्ता हर्कत गर्नुभन्दा बिमाका बारेमा विवादित यी कुराहरुलाई प्रस्ट्याउनु व्यवसायीक धर्म हुन आउँछ ।
ढाटेर बेच्नु र सत्यता सतहमा आएपछि फेरि पनि ढाट्नु भनेको हत्केलाले सूर्य छेके भन्ठानु सरह हो । हत्केलाले सूर्य छेक्न सकिन्छ तर आफनो अनुहार मात्र छेकिन्छ । आफ्नो अनुहार छेकियो भनेर संसारलाई छेकेको भ्रममा नपर्नु ।
अमेरिका ठूलो छ । वास्तवमै यो ल्याण्ड अफ अपरच्युनिटी हो । धेरै अवसरहरु छन् । पैसा कमाउने अरु पनि सयौं असल बाटा होलान् । यस्ता इस्योरेन्स बेचेर मान्छेको दुःखको कमाई बालुवामा पानी बनाउनु भनेको शतप्रतिशत ठगी हुनसक्छ । गरेको भए आजैदेखि रोक्नु सबैका लागि श्रेयकर पनि हुन्छ । - साभार : १२ खरी
 see this link too.
baahrakhari.com/np/2016/02/28/4554/



Please visit these all news links about this insurance scandal



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक