20160313

संघसंस्थामा संलग्न नेपाली नै बिमा ठगीमा संलग्न, अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै !

आफू ठगिएको गुनासो बढेपछि अमेरिकाका बिभिन्न सहरमा सक्रिय नेपाली बिमा एजेन्टले आफ्ना ग्राहकसँग अनौपचारिक माफी माग्न थालेका छन्। बिमा बेच्ने बेला आफूलाई समेत सम्पूर्ण जानकारी नभएकाले कतिपय कुरा फरक परेको तर्क ती एजेन्टले गरेका छन्।
एजेन्टले गलत प्रलोभन देखाई बिमा बेचेको पुष्टि आफ्नो पोलिसी बुक हेरेर थाहा पाएका खरिदकर्ताले कम्पनीमा फोन गर्दै धमाधम बिमा रद्द गराउन थालेका छन्।
 
ग्राहक जोगाउने एक सूत्रीय योजनामा रहेका एजेन्टहरु यसरी आफ्ना ग्राहकको बिमा रद्द हुन थालेपछि निरास भएका छन्। बिमाकर्ताको प्रिमियमबाट एजेन्टले ७० प्रतिसतसम्म आम्दानी पाउँदैआएका छन्।
ग्राहक जोगाउन लागिपरेका एजेन्टहरु आफू नजिकका केही ग्राहकलाई भने अहिलेको विवादित बिमाभित्र त्रुटी रहेको स्वीकार्दै बिमा पोलिसी रद्द गर्न सुझाइरहेका छन्।
 
बिमाको यस्तो विवाद आएपछि अहिले अमेरिकाका विभिन्न राज्यस्थित नेपाली बिमा खरिदकर्ताले पोलिसी रद्द गरिरहेका छन्। केहीलाई भने रद्द भएको पोलिसीको पनि कम्पनीले बिल पठाएको छ।
केही राज्यका बिमाकर्ताले वकिलमार्फत् आफ्नो गुमेको रकम एजेन्ट र सम्बन्धित कम्पनीबाट फिर्ता पाउने उपायबारे छलफल थालेका छन्।
 
‘बिमा पोलिसीका कतिपय कुरा पहिले थाहा भएन,’ बोस्टन क्षेत्रका बिमा एजेन्टले एक पीडितलाई भने, ‘अहिले धेरै कुरा थाहा भयो। तपाईंको बिमा गरेको दुई वर्ष मात्र भएछ। तपाईं अहिले यो बिमा रोक्नुस्।’
ती पीडितका अनुसार पहिले बिमा भनेको बचत पनि हो भनेर पोलिसी बेचेका ती एजेण्टले अहिले यो बचत नभई प्रोटेक्ट मात्र हो भनेर प्रष्टिकरण दिएका छन्। आफू नेपालबाट आएको महिना दिनमै एजेन्टले अमेरिकामा बिमा लिनुपर्ने बताएर महंगो प्रिमियम भिडाएको उनले बताए।
इन्डेक्स्ड युनिभर्सल लाइफ प्रकृतिका बिमा बेचेका एजेन्टहरुले बिमासम्बन्धी सम्पूर्ण जानकारी नदिई बचत, लाभांश र क्यास भ्यालु जस्ता आकर्षण देखाएर साथीभाइ तथा आफन्तलाई पिरामिड शैलीको जीवनबिमा बेचेका थिए। टर्म इन्स्योरेन्स वा आवधिक बिमाबाहेक बचत, लाभांश, अपांगता, बेरोजगारी आदिको क्षतिपूर्ति दिलाउने बिमा इन्डेक्स युनिर्भसल लाइफ हो। 
अहिले नेपाली समुदायमा बेचिएको बिमा वर्षाैंसम्म हजारौं डलर प्रिमियम तिरे पनि अन्त्यमा बचत नभई सबै सुन्य हुने खालको छ । जब कि एजेन्टले जीवन बिमासँगै बचतसमेत हुने बताएका थिए। बिमाबारे राम्रो ज्ञान नभएका र भर्खरै नेपालबाट आएकालाई पहिलो निसाना बनाउँदै एजेन्टहरुले बिभिन्न आकर्षण देखाएर बिमा पोलिसीमा हस्ताक्षर गराउँथे।
भर्जिनिया, मेरिल्याण्ड र बोस्टन क्षेत्रका पीडितले स्थानीय तहमा आफूहरु ठगिएको विवरणसहित उजुरी गरेका छन्। ती उजुरीमाथि अडिटर जनरलको कार्यालय र इन्स्योरेन्स बोर्डले छानबिन सुरु गरेका छन्। सम्बद्ध पीडितकाअुनसार छानबिनको पहिलो चरणमा सप्रमाण बिभिन्न प्रश्न सोधेका थिए।
जीवन बिमाबारे विवादस्पद तथ्यहरु बाहिर आउन थालेपछि अमेरिकाका केही राज्यमा सक्रिय नेपाली एजेन्टहरु आफू सुरक्षित हुने उपायको खोजीमा छन्। आफ्नो गल्तीबाट जोगिन केही एजेन्टले बिमा खरिदकर्तालाई बिमा रद्द गर्न उपयुक्त हुने सुझाइरहेका छन्।
अमेरिकाका बिभिन्न राज्यमा सोझासिधा नेपालीलाई नेपाली एजेन्टले नै झुक्याएर जीवन बिमा बेचेको खबर निरन्तर बाहिर आएका छन्। अमेरिकाका बिभिन्न सहरमा रहेका नेपाली सामाजिक संस्थामा बिमा ठगीमा संलग्न व्यक्तिबिरुद्ध कोही नबोलेकोमा अन्य नेपाली रुष्ट छन्।
‘उनीहरुलाई संस्थाको पद ओगटेर बस्ने कुनै नैतिक अधिकार छैन। उनीहरुलाई संस्थाका पदाधिकारीले निलम्बन गर्नुपर्ने हो,’ बोस्टन नजिक उवर्नका गोपालराज कँडेल भन्छन्।
सही र गलत छुट्याउन हिच्किचाउने नेपाली समाजप्रति उनको गुनासो छ। बिमा ठगीमा संलग्न व्यक्ति अमेरिकास्थित नेपालीका विभिन्न सामाजिक संस्थामा आबद्ध छन्। यसको लाभ उठाउँदै उनीहरुले आफ्नो सञ्जाल बिस्तार गर्दैआएका थिए।
अधिकांश नेपाली जीवन बिमा गर्दा पनि बचत, लाभांश, क्यास भ्यालु जस्ता एजेन्टका गुलिया आकर्षणमा फसेका छन्। अहिले अमेरिकामा चर्चामा रहेको जीवन बिमा यस्ता कुनै लाभ हुनेखाले होइनन्।
बिमा पोलिसीको किताबमा लेखिएको कुरा र एजेन्टले भनेका कुरा एकअर्कामा मेल नखाएपछि आफूहरु ठगिएको बिमा खरिदकर्ता नेपालीले थाहा पाएका थिए।
मेरिल्याण्डस्थित इण्डियन हेड टाउनका उपमेयर किरण सिटौला भन्छन्, ‘साथीभाइ र आफन्तको भनाइ तथा सिफारिसलाई आँखा चिम्लेर विस्वास गर्ने बानीले धेरै नेपाली आफौ समस्यामा परेका छन्।’
 
बिमा ऐजेण्टको छटपटी
जीवन बिमाका नाममा झुटो विवरण बेचेका बिमा ऐजेन्टहरु एकपछि अर्काे झुटको तथ्य खुल्दै गएपछि अहिले तिल्मिलाउन थालेका छन्।
बोस्टन क्षेत्रमा सक्रिय बिमा एजेन्टले बिमितका घरघर पुगेर अझै ढाकछोप गर्ने प्रयास गरिरहेको पीडितले जानकारी दिएका छन्। बिमा पोलिसीमा नभएको कुरालाई पनि ती ऐजेन्टले अपाङ्गता भएमा, गम्भीर प्रकृतिका रोग लागेमा र कुनै कारण विशेष बेरोजगार बस्नुपरे निश्चित रकम पाउने जिकिर गरिरहेका छन्। जब कि बिमितको पोलिसीमा ती कुनै सुविधा उल्लेख छैन।
एजेण्टले कतिपय आफ्ना ग्राहकलाई अहिले चलेको हल्लाको पछि नलाग्न सम्झाउँदै उनीहरुले बेचेको बिमा सही भएको कुतर्क गरिरहेका छन्। केही ग्राहकलाई झुटमाथि अर्काे झुट थपेर झुक्याएको तथ्य भेटिएको छ।
बोस्टन क्षेत्रमा आफू ठगिएको भन्दै गुनासो गर्ने पीडितको संख्या बढ्दै छ। झुटको तथ्यसँगै पीडितको संख्या बढेपछि एजेण्ट तनावमा परेका छन्। ऐजण्टले यस्तो बिमा बेच्न नवागन्तुक नेपालीलाई पहिलो निसाना बनाएका छन्। बोस्टनमा यो संख्या निकै ठूलो रहेको पीडितका भनाइ छ।
‘बोस्टन आएको एक महिनामै ती ऐजेण्टले अनेक आकर्षण देखाएर बिमा बेचे,’ एक पीडितले भने, ‘जतिबेला मेरो बस्ने ठाउँ र कामको समेत ठेगान भइसकेको थिएन। अहिले बुझ्दा म सत्प्रतिशत ठगिएको रहेछु।’
आफूसँग बिमा पोलिसी किनेका ग्राहक किन पोलिसीमा नभएको कुरा छ भन्दै झुक्याएर  ठगेको भन्दै ऐजेण्टसँग सोधखोज गरिहेका छन्। कतिपय ग्राहकले आफूले अहिलेसम्म तिरेको रकम फिर्ता मागेका छन्। यसले ऐजेण्टलाई थप चिन्ता थपेको छ।
केही पीडितले कानुनी उपचारको बाटो जाने बताएका छन्। केही राज्यका पीडितले संगठित र व्यक्तिगतरुपमा कानुनी उपचार सुरु गरेको समेत जनाएका छन्।
बिमाबारेमा नबोल्न कतै धम्क्याउने र कतै नरम शैलीमा आफ्ना ग्राहक जोगाउने कसरत एजेन्टले जारी राखेका छन्।
केन्टुकीका सन्तोष केसीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘पोलिसी रद्द गरे एजेन्टले डिपोटेसन गराउने धम्की दिएका छन्।’
 
कस्तो बिमा किन्ने ?
अमेरिकी बजारमा उपभोग्य वस्तुको समीक्षा र अनुसन्धान गर्ने कन्जुमर रिपोर्ट्सका अनुसार पूर्णकालीन अर्थात् पर्मानेन्ट भन्दा आवधिक अर्थात टर्म लाइफ इन्स्योरेन्स लिनु राम्रो हुन्छ। होल, युनिभर्सल वा भेरियबल लाइफ आदि नामले बेचिने यस्ता पूर्णकालीन बिमासँगै आवधिक जीवन बिमा र बचत वा लगानी खाता पनि अफर गर्छन्।
‘यी सुन्दा राम्रो लागे पनि असुरक्षित र खराब लगानी हुन्,’ कन्जुमर रिपोर्टस् थप्छ, ‘दीर्घकालीन लगानीका लागि अन्यत्र बचत गर्न सक्नुहुन् । जस्तो फोर ओ वान केले राम्रो प्रतिफल दिन्छ।’
पूर्णकालीन बिमाका अधिकांश विषयमा लगानीको विश्वसनीयता, प्रतिफल र पारदर्शीता हुँदैन। पूर्णकालीन बिमामा ठूलो रकम कमिसन र सुल्कमै जान्छ।
जीवन बिमाको मुख्य उद्देश्य मृत्यृपछि आफूप्रति आश्रितको आर्थिक सुरक्षा गर्नु हो। तर नेपाली समुदायमा भर्खरै जन्मेका नवजात शिशुको समेत जीवन बिमा गरिएको छ।
 
जीवन बिमा कि मृत्युबिमा
बर्षौंबर्ष दुःख पाएर शरणार्थीका रुपमा अमेरिका आएका भुटानी–नेपाली र नेपाली समुदायमा मात्र बेचिएका यी इन्डेक्स युनिभर्सल लाईफ बिमा जीवन बिमा होइन, ‘मृत्युविमा’ हुन् भन्ने कुरा यी बिमामा भएका खराबीले बताउँछन्।
बिमितले जीवनभर पाउनेभन्दा गुमाउने रकम धेरै बढी देखिन्छ। त्यसमाथि कम्पनीले दिंदै आएको वा दिने भनिएको रकममा पनि जुनसुकै बेला घटाउने वा हेरफेर गर्ने र त्यो बिमामा भएका जुनसुकै सुविधा वा नियमलाई आफूले चाहेको बेला परिवर्तन अधिकार ‘इन्सुरर’ इन्स्योरेन्स कम्पनीसँग सुरक्षित रहेको देखिन्छ ।
बिमाविज्ञ अनिल खनालकाअनुसार कतिपय बिमा २० वर्षपछि नै ‘ल्याप्स’ हुने र बिमितले गरेको हजारौं डलरको लगानी सून्यमा परिणत हुने पनि स्पष्ट छ। सीमित बिमा अवधिपछि बिमितको मृत्यु भए पनि केही नपाउने हुनाले यसलाई जीवनबिमा होइन ‘मृत्युबिमा’ नै हो भन्न सकिन्छ।
इन्स्योरेन्समा भएका सम्पूर्ण खराबी लुकाएर बेचेको कुरा छरपस्ट भइसक्दा पनि केही एजेन्टले हतासमा अझै तपाईंको इन्स्योरेन्समा डिसिविलिटी सुबिधा छ, नभए मिलाइ दिन्छु भनेर ग्राहकलाई झुक्याएका प्रमाण पनि प्राप्त भएका छन्। डिसिविलिटी पाउनु त अलग कुरा हो, बोस्टन क्षेत्रमा अधिकतम रुपमा नेशनल लाईफ ग्रुपका नाउँबाट बेचिएका कुनै पनि इन्स्योरेन्सले त्यो सुविधा दिन नसक्ने कुरा कम्पनीको व्रोसरमै लेखिएको छ।
जसअनुसार अमेरिकी राज्यहरु केन्सास, मेरिल्याण्ड, न्यूजर्सी, नर्थ डाकोटा, न्यूयोर्क र म्यासाचुसेट्समा त्यस कम्पनीका तर्फबाट बेचिएका यी इन्डेक्स युनिभर्सल लाईफमा डिसएविलिटी अर्थात् अपांगता भएका पाउने भनिएका सुविधा छैन। यो जानकारी ग्राहकलाई बिमा पोलिसीसँगै दिइएको ब्रोसरको पेज ६ मा भएको ‘डिसिबिलिटी इनकम’मा स्पष्टरुपमा देखिन्छ।
त्यसैगरी टर्मिनल, क्रोनिक र क्रिटिकल इलनेस अर्थात् मृत्युपछि, पुरानो र गम्भीर रोग भएको खण्डमा औषधोचारसहित प्रसस्त सुविधा पाइने कुरा एजेन्टले बताएको प्रमाण पनि प्राप्त भएका छन्।
माथिका यी सुविधा बिमितले पाउँछ पाउँदैन आफ्नो इन्स्योरेन्स पोलसीमा हेर्न सकिन्छ। पेज २ मा हेर्दा यी तीन रोगलाई एक्सलिरेटेड बेनिफिट्स राइडर (एबिआर १, एबिआर २, एविबआर ३) भनिएको छ। त्यही देखाएर बोस्टनको एक एजेन्टले अझै ग्राहकलाई गुमराहमा राखेको अडियो रेकर्ड हामीसँग सुरक्षित छ। जुन बिमाको पेज १३ मा ग्राहकले ती सुविधा पाउने नपाउने लेखिएको छ। यसका लागि बोस्टनमा बेचिएको एक बिमाको कपी यहाँ राखिएको छ।
 
 
यो बिमा पोलसीअन्तर्गत टर्मिनल, क्रोनिक वा क्रिटिकल इलनेस भएमा कुनै पनि सुबिधा पाउँदैन। ती सुबिधा उसको बिमामा छैन। अर्थात् ‘नट एप्लिकेवल र ‘नन्’ लेखिएको छ। यसलाई सजिलोसँग बुझ्न नमूना २ हेर्नुहोस्। अहिलेसम्म पनि यसरी ढाट्नु पीडितले अज्ञानता, मूर्खता र बेइमानीको चरम नमुनाका रुपमा लिएका छन्।
केही समयअघि तिनै एजेन्टले बेचेका यस्तै बिमाबारे बिस्तृत जानकारीसहितको आलेख आइसकेको छ। त्यसमा प्रयोग गरिएका बिमा किताबका पेजभन्दा फरक ‘लेआउट’ अर्थात् हेर्दा फरक देखिनेगरी डिजाइन गरिएका बिमा किताबका पेजलाई अहिले पनि एजेन्टहरुले आफूलाई बचाउने भुत्ते हतियारका रुपमा प्रयोग गरेको कुरा बिमा पीडितहरुले बताएका छन्।
एउटै कम्पनीबाट नभएर बिभिन्न कम्पनीका नाउँबाट बेचिएका उस्तैखाले बिमाको पेज लेआउट फरक हुनु स्वाभाविक हो। तर ‘तपाईंको बिमा किताबमा त्यो पेज नै छैन, तपाईंको बिमा त्यो हैन, फरक छ। राम्रो छ, भन्ने जस्ता कुरा गरेर ग्राहकलाई अझै झुक्याइरहेको पाइएको छ।
 
माथिको यो बिमा पनि बोस्टन क्षेत्रमा बेचिएको हो। यो पोलेसीअनुसार बिमितले बर्षको १,८४८ डलर तिर्छ। त्यो रकम दोस्रो कोलममा देखाइएको छ। जसलाई पहेँलो रंगले हाइलाइट गरिएको छ। चौथो कोलममा क्यास सरण्डर भ्यालु भनेर लेखिएको छ, जुन बिमित (बिमा खरिदकर्ता)ले पाउने रकम हो। त्यो पनि हाइलाइट गरिएको छ।
यो बिमा खरिदकर्ताले दुई बर्षसम्म केही पाउँदैन। तेस्रो बर्ष छोड्नपरे अथवा प्रिमियम तिर्न नसकेर वा कुनै कारणले बिमा क्यान्सिल भएमा २७१ डलर पाउने देखिन्छ। तर त्यस अबधिमा उसले ५,५४४ डलर खन्याइसकेको हुन्छ। त्यसैगरी १० वर्ष पुरा गर्दा १८,४८० डलर तिर्नुपर्ने हुन्छ तर उसले पाउने रकम भने ९,६५६ मात्र हुन्छ। दस बर्षपछि छोडेमा त्यो रकममा पनि सरण्डर चार्ज र अन्य बिभिन्न चार्ज र फिसहरु लगाउने हुँदा बिमितले पाउने रकम ज्यादै कम हुने खनालको भनाइ छ।
यो पोलेसी ३५ बर्षपछि ल्याप्स हुने देखिन्छ। अर्थात् सबै सून्य हुन्छ। डेथ बेनिफिट अर्थात् मृत्युपछि पाउने रकमसमेत सून्य हुन्छ। बिमाअवधि ३५ वर्ष नाघेको भोलिपल्ट मृत्यु भएमा परिवारले पनि केही पाउँदैन। त्यो बेलासम्ममा यो बिमाकर्ताले लगभग ६५ हजार डलर तिरिसकेको हुन्छ। अर्को नराम्रो पक्ष भनेको यसको डेथ बेनिफिट पनि कहिल्यै बढ्दैन। जुन कुरा माथिको नमूना चारले देखाएको छ।
यस्ता बिमा खरिदकर्ताको पोलेसीमा यी पाना पछाडि अरु यस्तै पाना पनि छन्। जसमा क्यास सरण्डर भ्यालू नमुना ३ र ४ भन्दा बढी देखाइएको छ। अहिले कतिपय एजेन्टले यसैलाई आफू जोगिने ढाल बनाएका छन्। हुन त यसमा पनि आफूले तिरेको पैसाका अनुपातमा फिर्ता आउने रकम कम देखाइएको छ। बुझाउने र पाउने लेखिएको कोलम हेर्दा देख्न सकिन्छ। अलिकति चित्त बुझाउने बाटो छ तर यो वास्तविक हैन। अनुमानित मात्र हो। यो पेजको भाषा राम्ररी पढ्नु वा जानकार व्यक्तिलाई देखाएर बुझ्न जरुरी छ। ‘सी प्राअर पेज फोर ग्यारेन्टेड भ्यालु’ अर्थात ग्यारेन्टेड भ्यालूका लागि अघिल्लो पेज हेर्नु भनेर यसको पुछारमा लेखिएको छ। जसलाई नमुना ३ र ४ का रुपमा माथि प्रस्तुत गरिएको छ।
 
जानकारका अनुसार अहिले अमेरिकामा नेपालीलाई बेचिएका विवादित जीवन बिमा पिरामिड शैलीका हुन्। यसले तल्लो तहमा जति ग्राहक बनाउँदै लग्यो माथिल्लो तहको एजेन्टले त्यति नै बढी कमिसन पाउँछ।
यसको उदाहरण हुन् अमेरिकामा क्रियासील मुख्य एजेन्ट गोविन्द गिरी प्रेरणा। प्रिमियर फाइनान्सियल एलायन्स (पिएफए) का उच्च तहका एजेन्ट गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो एक साताकै आम्दानी २८ हजार डलर हुने सार्वजनिक गरेका छन्। - Source : http://global.setopati.com/anya/1583/

Please visit these all news links about this insurance scandal:

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक